किसान विस्थापनसँगै लुम्बिनीमा बढ्दै मानव–वन्यजन्तु द्वन्द्व, बर्दियामा मात्रै ५ जनाको मृत्यु
प्रभावकारी भएनन् प्रदेशका न्यूनीकरण योजना
रुपन्देही । लुम्बिनीमा मानव वन्यजन्तु द्वन्द्व बढिरहेको छ । यस्तो द्वन्द्व घटाउने उद्देश्यले वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन गर्न पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण अभियान संचालन गरिए पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।
यही योजना अन्तर्गत प्रदेश सरकारले गत आर्थिक वर्षमा ३१ वटा पानी मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरेको छ भने १३ वटा नयाँ संरक्षण पोखरी बनेका छन् । पहाडी क्षेत्रमा रहेका धेरै किसानहरु वन्यजन्तु द्वन्द्वका कारण खेती छाडेर विस्थापित भएका छन् ।
वन्यजन्तुको बासस्थान नासिदै जाँदा, आहाराको अभाव हुँदा र पानीका मूलहरु सुक्दा वन्जयन्तु मानव बस्तीतर्फ पस्न थालेको विभिन्न अध्ययनले देखाएको छ । वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए ।
‘यो पोखरी पनि हामीले संरक्षणमा योग्दान पुर्याउन बनाएका हौं । वन्यजन्तुलाई पानी खोज्दै बस्तीमा जान नपरोस् । वन्यजन्तुलाई वनमै राख्न सकिएको खण्डमा मानव वन्यजन्तु वीचको द्वन्द्व घटाउन सकिन्छ । यसबाट पानीको स्रोत पनि संरक्षण हुन्छ र वन्यजन्तुको प्यास पनि मेटाउछ’ उनले भने,‘वन्यजन्तुको बासस्थान सुधारका लागी प्रदेश सरकारले कार्यक्रम गरिरहेको छ ।’
लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक वर्ष २०८०/०८१ मा पाँच जनाको मृत्यु भएको र ८ जना घाइते भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्य भएको थियो ।
एक बर्षको अवधिमा भेडा/बाख्रा २१७, गाई/भैंसी ३१, बंगुर ४५, हाँस/कुखुरा १८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वनविरालो, निलगाइ, अजिङ्गर, बँदेल, बाँदरगरी ४१ वटा बन्यजन्तुको पनि मृत्यु भएको छ । १४ वटा चितुवा र मृग समेत घाईते भएका छन् ।
कसरी बन्न सक्छन् वन्यजन्तुमैत्री पूर्वाधार निर्माण
पछिल्लो समय मानव बन्यजन्तु द्वन्द्वका घट्ना बढेका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अहिले पनि मानव बन्जजन्तु द्वन्द्वका घटनाहरुले चिन्तित बनाउँदै लगेको यो क्षेत्रमा अध्ययन गरिरहेकाहरुको विश्लेषण छ ।
प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरु खोजेर त्यसमा प्राथमिकता निर्धारण गर्न अपील पनि गरेको छ । तर यसले मात्रै त्यो रोक्न संभव छैन । सरकारी निकायको सामान्य प्रयासले मात्र मानव वन्यजन्तुको द्वन्द्व समाधान गर्न नसकिने भन्दै यसमा सबै निकाय विचमा सहकार्य हुनुपर्ने वन मन्त्रालयकोसमेत जिम्मेवारी संहालेका मुख्यमन्त्री चेतनारायण आचार्य बताउँछन् ।
वनभित्र वन्यजन्तुको आहारा व्यवस्थापनदेखि पानीको स्रोत बृद्धिमा योजना निर्माण गरेर काम थालिएको छ । ‘पुराना पानीका मूलहरु सुके । ती मूलहरुको संरक्षण गरेर फेरी पानी चल्ने बनाउनुपर्छ ।
सरकारले संरक्षण पोखरी संगै पुराना पानीको मुल संरक्षण गरेर बचाउन कार्यक्रम बनाएको छ’उनले भने,‘वातावरणमा आउने असन्तुलनले मानव जीवन र पर्यावरणमा कस्तो असर पर्छ सबैलाई महशुस भएको बिषय हो । वन, वातावरण, जैविक विविधताको संरक्षणबाट सबैको अस्तित्व बचाउन सक्छौं ।’
किन बढ्दै छ द्वन्द्व ?
लुम्बिनी प्रदेशमा मानव वन्यजन्तुको द्वन्द्व व्यवस्थापनको क्षेत्रमा अध्ययनसमेत गरिएको छ । २०७८ सालमा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनमा वन्यजन्तुको वासस्थान, आहार, विचरण लागयतका पक्षसँग मानवीय क्रियाकलापहरू प्रतिस्पर्धा गर्न वा बाझिन आइपुग्दा त्यस्ता क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व उत्पन्न भएको उल्लेख छ ।
जनसंख्या वृद्धिसँगै वन्यजन्तुहरूको प्राकृतिक आहार र वासस्थानको खण्डिकरण तथा संकुचन भएकाले तिनीहरू खाना र बासको खोजीमा मानवका खेती तथा बस्तीमा प्रवेश गर्दा मानव तथा वन्यजन्तुबीच द्वन्द्व बढिरहेको उल्लेख छ ।
हाल सामुदायिक वनमार्फत वनक्षेत्र पुनर्स्थापना हुँदै जाँदा पछिल्ला वर्षहरूमा वन्यजन्तुको पुनरागमन भएका कारण यो द्वन्द्व थप बढ्दो प्रतिवेदनमा समेटिएको छ ।
वनक्षेत्रमा पछिल्लो दुई दशकयता सामुदायिक वनको व्यवस्थापनमार्फत वन क्षेत्र विस्तार तथा वृद्धि, वन्यजन्तुको वासस्थानमा सुधार र सहभागितात्मक चोरी सिकारी नियन्त्रणलगायतका कामहरूबाट वन्यजन्तुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।