ढल्यो श्रीलंकाको वंशज सत्ता परम्परा: प्रतिस्पर्धामा आए आउटसाइडर अनुरा – Nepal Press

ढल्यो श्रीलंकाको वंशज सत्ता परम्परा: प्रतिस्पर्धामा आए आउटसाइडर अनुरा

काठमाडौं । पोर्चुगाली, डच र बेलायतीहरुले इतिहासका कालखण्डहरुमा किस्ताकिस्तामा उपनिवेश बनाएको देश श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भयो । विदेशी सत्ताबाट स्वतन्त्र भएको श्रीलंकामा फेरि विभिन्न पारिवारिक सत्ताहरु जन्मन थाले । ती पारिवारिक सत्ताका एकपछि अर्को अनुहार चुनिन थाले । उनीहरुका नाममा विभिन्न रेकर्डहरु छन् । खासगरी बन्दरानाइके, सेनानायके, जयबर्दने र राजापाक्षे ।

यी सबैमा सबैभन्दा पछि आएको वंश हो राजापाक्षे । अरु तीन वंश पहिलेदेखि अहिलेसम्म छन् । तिनीहरुका नाममा विभिन्न रेकर्ड पनि बनेका छन् ।

उदाहरणका लागि श्रीलंकाको पहिलो तथा अहिलेसम्मकि एक्लो महिला राष्ट्रपति चन्द्रिका बन्दरानाइके कुमारातुङ्गा हुन् वा विश्वकै प्रथम महिला प्रधानमन्त्री सिरिमाओ बन्दरानाइके एकै पारिवारिक हाँगाका हुन् । सिरिमाओकी छोरी हुन् चन्द्रिका । सिरिमाओका पति सोलोमन बन्दरानाइके हुन् । उनी श्रीलंकाको नाम सिलोन हुँदाताकै प्रधानमन्त्री भएका थिए ।

यो त इतिहासको कुरा भयो । बन्दरानाइके परिवारको कुरा भयो । सेनानायके परिवारको कथा उस्तै छ । प्रथम प्रधानमन्त्री डीएस सेनानायकेदेखि सुरु भएको राजनीतिक वंशमा सत्ता धागो लामै छ । जयबर्दने वंशको र राजापाक्षे वंशको त्यस्तै छ ।

यही शनिबार भएको राष्ट्रपति चुनावमा उठेका मुख्य उम्मेदवारहरुमा तीन जना वंशजकै प्रतिनिधि थिए । वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगे पूर्वराष्ट्रपति जेआर जयबर्दनेका भतिजा हुन् । सजिथ प्रेमादशा पूर्वराष्ट्रपति रनसिंगे प्रेमादशाका छोरा हुन् । नमल राजापाक्षे पूर्वप्रधानमन्त्री तथा राष्ट्रपति दुवै भइसकेका महिन्दा राजापाक्षेका छोरा तथा पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेका भतिजा हुन् ।

यी उम्मेदवारभन्दा भिन्न अनुरा कुमारा दिशानायके अहिले राष्ट्रपति भएका छन् । सन् २०१९ को चुनावमा ३ प्रतिशतमात्रै मत ल्याएर तेस्रो स्थानमा पुगेका उनको गठबन्धनको २२५ सदस्यीय सदनमा तीन सीटमात्रै थियो । जनमुक्ति मोर्चा (जेभीपी) नामको दलबाट बनेको गठबन्धनका उम्मेदवार उनको यो चुनावी जीतले उनलाई कम्युनिष्ट पृष्ठभूमिको राष्ट्रपतिमात्रै नभएर श्रीलंकाको पारिवारिक सत्ताभन्दा बाहिरको नयाँ अनुहारको रुपमा उभ्याएको छ ।

सन् १९८७ सालबाट राजनीतिमा आएका, सन् २००४ मा मन्त्री पनि भएका र सन् २०१९ को राष्ट्रपति चुनाव भिडेका उनले यो पटक सानदार प्रदर्शन गरेका छन् । पहिलो चरणको चुनावमा कसैको ५० प्रतिशत नकटेकाले चुनाव दोस्रो चरणमा धकेलिए पनि उनको मत राम्रो आएको छ ।

श्रीलंकाली मिडियाहरुका अनुसार अनुराको ४४ प्रतिशत मत आउँदा वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगेको १७ र सजिथ प्रेमादशाको ३३ प्रतिशत मत आएको छ ।

सबैभन्दा रोचक राजापाक्षे वंशजका उम्मेदवार नमलको मत भने तीन प्रतिशत पनि पुगेको छैन । गैरराजनीतिक वंशका अनुराले पाएको मत सम्मानजनक हो । दोस्रो चरणको चुनावमा उनी र साजिथको भिडन्त हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर