वित्तीय अपराध नियन्त्रणका लागि छुट्टै अनुसन्धान ब्युरो स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव, समिति गठन – Nepal Press

वित्तीय अपराध नियन्त्रणका लागि छुट्टै अनुसन्धान ब्युरो स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव, समिति गठन

काठमाडौं । वित्तीय अपराध नियन्त्रणका लागि नेपाल प्रहरीमा छुट्टै अनुसन्धान ब्युरो स्थापना गर्नका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ ।

गृह मन्त्रालय सहसचिव एवम प्रशासन महाशाखा प्रमुख छविलाल रिजालको संयोजकत्वमा अध्ययन गर्न तथा सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न समिति गठन गरिएको हो ।

समितिलाई १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीले आर्थिक अपराधको अनुसन्धान गर्नका लागि छुट्टै वित्तीय अपराध अनुसन्धान ब्युरो स्थापना गर्न गृह मन्त्रालय समक्ष प्रस्ताव पेश गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले मन्त्रालयमा पेश गरेको प्रस्तावमाथी आइतबार गृहमन्त्री लेखकले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आईजीपी)वसन्त कुँवर तथा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसँग छलफल गरेका प्रवक्ता तिवारीले बताए ।

उनका अनुसार प्रहरी प्रधान कार्यालयले उक्त नयाँ ब्युरोका लागि १४२ जना प्रहरी कर्मचारीको दरबन्दी थप्नुपर्ने प्रस्ताव गरेको छ । पछिल्लो समय वित्तीय अपराधका घटना दिनप्रतिदिन बढिरहेको भन्दै सुरुवातमा नै ब्युरोका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयको छ ।

समितिले प्रस्तावित ब्युरोको संरचना, कर्मचारी व्यवस्थापन, बजेट आवश्यकताका साथै ब्युरो स्थापना गर्दा आउने कानुनी, प्रशासनिक, र प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन तयार गर्ने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर