रास्वपा नेतृ संग्रौलाको चरित्रहत्या गर्दै के-के भनेका थिए दुर्गा प्रसाईंले ? – Nepal Press

रास्वपा नेतृ संग्रौलाको चरित्रहत्या गर्दै के-के भनेका थिए दुर्गा प्रसाईंले ?

ज्वाला संग्राैला भन्छिन्- प्रसाईं निकटका व्यक्तिले मलाई कालोमोसो दल्नेदेखि कुटपिट गर्ने धम्की दिइरहेका छन्

काठमाडौं । बेलगाम अभिव्यक्तिहरुले विवादित बन्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अन्ततः न्यायको कठघरामा पुगेका छन् । उनी आफू निकट युट्युबहरुलाई प्रयोग गर्दै विभिन्न व्यक्तिहरुको चरित्रहत्या गर्दै आएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाले प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा जाहेरी दिएकी थिइन् । आफ्नो चरित्रहत्या गर्ने गरी एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएपछि उनले प्रहरी गुहारेकी हुन् । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न आनाकानी गरेको थियो, तर संग्रौलाले सामाजिक सञ्जालबाट अनवरत आवाज उठाएपछि जाहेरी दर्ता भएको थियो ।

गत असोज २ गते प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै घरमा युट्युबर बोलाएर प्रसाईंले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेको भएर जेल हाल्न खोजिएको दाबी गरेका थिए । उनी अन्तर्वार्ताकै क्रममा जापानमा रहेकी छोरीलाई फोन गरेर भावुकसमेत भए ।

संग्रौलालाई के भनेका थिए प्रसाईंले ?

केही समयअघि कान्तिपुर दैनिकको मास्टर हेड दुरुपयोग गर्दै एउटा फेक न्यूज भाइरल बनाइएको थियो । ‘जापानमा वेश्यावृत्तिमा संलग्न भनिने ज्वाला संग्रौला’ भन्ने टाइटल राखेर उनको तस्विरसहित फोटोसप गरिएको सामग्रीलाई ज्वालाका विरोधीले सामाजिक सञ्जालमा हालेका थिए । पछि फ्याक्ट चेकमा कान्तिपुरले यस्तो शीर्षकमा समाचार कहिल्यै नछापेको प्रमाणित भइसकेको छ ।

त्यही फेक न्यूजलाई आधार बनाएर दुर्गा प्रसाईंले युट्युब च्यानललाई अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्तामा उनले ज्वालाको नाम नलिइकन ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए ।

प्रसाईंले ज्वालालाई बदनाम गर्न खोज्नुको कारण हो, उनले सामाजिक सञ्जालमा राखेको एउटा भिडिओ । त्यो भिडिओ दुर्गा प्रसाईंले दुबईमा मृत्युदण्डबाट जोगाएर नेपाल फर्काएको भनिएका युवक पहलमान थापाका आफन्तको पत्रकार सम्मेलनको थियो । ती युवकले पत्रकार सम्मेलन गर्दै आफ्नो जीवन रक्षामा दुर्गाले एक रुपैयाँ पनि सहयोग नगरेको बताएका थिए ।

भिडिओ सेयर गर्दै ज्वालाले लेखेकी थिइन्, ‘दुर्गा प्रसाईं दाइले आफूले उद्धार गरेको भनेर फेसबुकतिर बधाई खाँदै गरेको देखेकी थिएँ, तर उद्धारकर्ता अर्कै रहेछन् । बिचरा जो वास्तविक उद्धारकर्ता छन्, तिनलाई दुर्गा दाइको झूटो अभिव्यक्तिले कति असर पुगेको रहेछ ! समाज सेवाको नाममा भाइरल हुन जे पनि नगर न हो साथीहरु ।’

यसपश्चात युट्युबरहरु बुम बोकेर दुर्गा प्रसाईंकहाँ पुगे । उनलाई सोधियो- तपाईंले त झूट बोल्नुभएको रहेछ नि ? जवाफमा उनले आफैं पैसा नदिएको तर, पैसा जुटाउन पहल गरेको बताए । त्यही क्रममा उनले ज्वालाप्रति भँडास निकालेका थिए ।

उनले बोलेका शब्दहरु यस्ता छन्;

‘जब हामीले भिडिओ बनाएर अपिल गरिसकेपछि पैसा जम्मा भइसकेपछि व्युँझिएका होइनन् यिनीहरु ? कोही जापानमा वेश्यावृत्ति गर्ने, कुनै पार्टीको केन्द्रीय सदस्य भका छन् । जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? त्यस्ता मान्छे फेसबुक स्टाटसमा लेखेर दुर्गा प्रसाईंलाई हल्लाउन खोज्छन् । आखिरमा फेसबुकमा जुन आको छ नि, त्यसमा गाली कसलाई गरेको छ ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाईं हल्लिँदैन । मैले लाश ल्याउँदा सुन ल्याएँ रे ! जेलमा बसेको त्या भाइहरुलाई उतै मर्न दिनुपर्ने रछ नि ! अब गर्ने कि नगर्ने ? तिनीले गरुन् । त्यही जापानमा वेश्यावृत्ति गर्नेले गरुन् नि ! अर्कालाई केटी मिलाइदिने, अनि आफू पनि वेश्यावृत्ति गर्ने, रातभरि सात जनासँग चर्ने । त्यसले गर्नु नि ! फेसबुकमा लेख्न जानें भनेर हालिछे । यस्ता छन् नयाँ पार्टीका मेम्बर । त्यसको शाखा सन्तानै त्यस्तो हो क्या ! आफू केही राम्रो नगर्ने, अर्काको खोइरो खन्ने ।’

प्रसाईंको अभिव्यक्तिको संग्रौलाले तत्काल फेसबुकबाट प्रतिवाद गरेकी थिइन् । लामो स्टाटस लेख्दै उनले प्रसाईंमाथि कानूनी कारबाहीको माग गरेकी थिइन् ।

उनले लेखेकी छन्, ‘धेरैको लागि सहयोग गरियो, दुःख गरियो, अन्याय अत्याचारविरुद्द बोलियो, तर अन्त्यमा सामाजिक सञ्जाल चलाउने केही दानवीय प्रवृत्तिका मान्छेहरुले मलाई ‘वेश्या’ भनेर फेसबुकभरि फेक एडिट गरिएको कान्तिपुर कुदाएर बदनाम गर्ने कोसिस गरे । यो कुरा चारपाँच वर्षअघिकै हो । म जापान रहँदा केही व्यक्तिहरुसँग वैचारिक ठाकठुक परेको थियो । विचारलाई विचारले नै जित्न सकिन्थ्यो, तर वैचारिक बहस गर्न नसक्नेहरुले कान्तिपुरले छापे जस्तै दुरुस्त फोटो र केही अक्षर नचिनिने गरी फेक एडिट गरेर ‘समाजसेवी भनिने ज्वाला संग्रौला वेश्यावृत्तिमा संलग्न’ भनेर एडिट गर्दै सञ्जालभरि घुमाए र मलाई ‘जापान काण्ड’ भन्दै जताततै ट्याग मेन्सन गरेर चरित्र हत्या गर्दै मेरो बदनाम गरी मलाई मानसिक रुपमा विक्षिप्त बनाए । उस्तै भए मेरो पनि श्रीशा कार्कीको जस्तै समाचार आउँथ्यो, तर मैले हिम्मत हारिनँ । मैले गलत कुराको विरुद्ध लड्नुपर्छ भन्ने सोचेर नेपाल आएँ । मलाई पत्रिकाले नलेखेको कुरालाई लेखे जस्तै गरेर बदनाम गर्नेहरुको विरुद्ध म साइबर धेरै पटक गएँ, तर प्रहरीले मलाई कुनै दिन सहयोग गरेन । अहिले पनि मेरोबारे यस्तो भ्रम फिजाउन छोडेका छैनन् । चरित्र हत्या गरेर वेश्या बनाउन छोडेका छैनन् । हुँदाहुँदा हिजो दुर्गा प्रसाईंले समेत जापानकी वेश्या, पार्टीकी केन्द्रीय सदस्य, रातभरि चर्ने, अरुलाई पनि केटा मिलाउने भन्दै एउटा युट्युबेलाई अन्तर्वार्ता दिएका छन् । यदि नेपाली समाज र नेपालको न्याय ज्युँदै छ भने अराजक दुर्गा प्रसाईंलाई कानूनी रुपमा दण्डित गरेर मलाई न्याय दिन्छ कि अर्को श्रीशा बन्न बाध्य बनाउँछ ? दुर्गा प्रसाईंले के सोचेर कसैकी छोरी-चेलीलाई वेश्या-रण्डी भन्दैछन् ? के उनी महिलाको गर्भबाट जन्मिएका होइनन् ? राज्यले यसको जवाफ खोज्न ढिला नगरोस् !’

लामो समय जापानमा बसेकी ज्वाला केही वर्षअघि नेपाल फर्केपश्चात सामाजिक अभियन्ताका रुपमा सक्रिय थिइन् । २०७९ साल वैशाखमा उनी राप्रपा प्रवेश गरेकी थिइन् । पछि रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन हुनासाथ राप्रपा त्यागेर रास्वपामा लागिन् । उनलाई गत वर्ष फागुनमा रास्वपाले केन्द्रीय सदस्य बनाएको हो । हाल उनी नारी टेलिभिजनमा ‘माइतीघर’ नामक कार्यक्रम सञ्चालन गर्छिन् । उक्त कार्यक्रममार्फत ज्वालाले महिलामाथि हुने घरेलु हिंसाका थुप्रै घटनालाई उजागर गर्दै आएकी छन् ।

दुर्गा प्रसाईं पक्राउपछि नेपाल प्रेससँग कुरा गर्दै संग्रौलाले अब न्याय पाउने आशा व्यक्त गरिन् ।

‘मैले दिएको उजुरीका आधारमा उहाँमाथि पक्राउ पुर्जी जारी भयो, तर केपी ओलीले आफूलाई फसाउन खोजेको भनेर अफवाह फैलाइरहनु भएको छ । अहिले पनि उहाँका मान्छेहरुले मलाई कालोमोसो दल्नेदेखि कुटपिट गर्नेसम्मको धम्की दिइरहेका छन् । यस्ता धम्कीले म डराउनेवाला छैन । न्यायका लागि लडिरहन्छु’, उनले भनिन् ।

याे पनि पढ्नुस् : दुर्गा प्रसाईंले खुलेआम चरित्रहत्या गरेपछि रास्वपा नेतृले दिइन् कानूनी कठघरामा उभ्याउने चेतावनी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *