सिन्धुपाल्चोकको चौतारा अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु – Nepal Press

सिन्धुपाल्चोकको चौतारा अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु

सिन्धुपाल्चोक । मृगौला रोगीहरुले नियमित रुपमा गर्नुपर्ने डाइलासिसका लागि राजधानी धाउनुपर्ने बाध्यताबाट सिन्धुपाल्चोकका मृगौला बिरामीहरुले मुक्ति पाएका छन् । सदरमुकाम चौतारामा रहेको चौतारा अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु भएपछि सिन्धुपाल्चोकका मृगौला बिरामीहरु खुशी भएका छन् ।

चीन सरकारको सहयोगमा केही महिनाअघि मात्रै सदरमुकाम चौतारामा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो । सोही अस्पतालबाट आइतबारदेखि औपचारिक रुपमा निःशुल्क डाइलोसिस सेवा सुरु गरिएको छ ।

प्रतिनिधिसभा सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डाइलासिस सेवा विस्तारको उद्घाटन गरेका हुन् ।

आइतबार डाइलासिस सेवाको पहिलो बिरामी चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की ४५ वर्षीया शर्मिला तामाङ रहेकी छन् । यसअघि डाइलासिस गर्न चौताराबाट राजधानी काठमाडौंको अस्पताल धाउँदै आएकी तामाङले आफ्नै घरआँगनमै डाइलासिसको सेवा लिन पाएपछि आफूलाई खुशी लागेको बताइन् ।

‘काठमाडौं आउनजान नै झन्झट हुने गर्थ्यो, त्यसमाथि पैसा पनि धरै लाग्थ्यो’, तामाङले भनिन्, ‘अब त आफ्नो घरको मीठोमसिनो खाएर उपचार गराउन पाउने भयो ।’

अस्पतालमा हाल सो सेवाका लागि ५ वटा डाइलासिस मेशिन जडान गरिएको छ । एक पटकमा ५ जनालाई सेवा दिन एक चिकित्सकसहित ३ जना तालिम प्राप्त नर्सको व्यवस्था गरिएको अस्पतालका सुपरिटेन्डेट डा. रुद्रहरि भण्डारीले जानकारी दिए ।

जिल्लाका १० जना मृगौला रोगबाट प्रभावित भएकाहरुले डाइलासिस गर्न नाम टिपाएको अस्पतालले जनाएको छ ।

प्रतिनिधिसभासदस्य मोहनबहादुर बस्नेतले आफू स्वास्थ्यमन्त्री भएको समयमा ५ वटा डाइलासिस गर्ने मेशिन अस्पताललाई उपलव्ध गराएको बताए ।

‘यो अस्पताललाई रिफर सेन्टरको रुपमा मात्रै सिन्धुबासीले बुझ्दै आएका थिए, अब सबै रोगको यही नै उपचार गर्ने व्यवस्था हामी गर्छौं’, पूर्वस्वास्थ्यमन्त्री बस्नेतले भने ।

डाइलोसिस सेवाको निरन्तरता र गुणस्तरको लागि आफूले थप पहल गर्ने सांसद बस्नेतले प्रतिबद्धता व्यक्त गरे ।

यस अघि पर्याप्त जनशक्ति र ठाउँ अभावका कारण समयमै सो सेवा विस्तार गर्न नसकेको डा. भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *