युट्युब नियमन दक्षिण एशियामै नौलो प्रयोग – Nepal Press

युट्युब नियमन दक्षिण एशियामै नौलो प्रयोग

आज हाम्रो लागि खुशी र उत्सवको दिन हो । नेपाली मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवलाई भब्य बनाउन हामी सहभागी भएका छौं । यति सम्मानित र विशाल सभामा कार्यक्रम मनाउन पाउँदा हामी अत्यन्तै हर्षित छौं ।

नेपाली मिडिया जगतलाई मर्यादित, सन्तुलित र विश्वसनीय बनाउन प्रेस काउन्सिल नेपालले आफ्ना कामलाई तिव्रताका साथ अघि बढाइरहेको छ । हामीलाई थाहा छ, अर्थतन्त्र ओरालोमा छ, त्यसको प्रभाव अन्य क्षेत्र जस्तै मिडियामा पनि परेको छ । छापा माध्यम त संकटमै छन् ।

कतिपय दैनिक, साप्ताहिक र मासिक पत्रिकाका बन्द भएका छन् । कतिपय नयाँ रणनीतिसाथ चल्ने तयारीमा छन् । तमाम संकटका विच नेपाली मिडियाले देशको हितमा, जनताको पक्षमा र समृद्धिको पक्षमा सकि नसकि काम गरिरहेका छन् । यो राम्रो पक्ष हो । अनलाइनसहित डिजिटल मिडियाको बढ्दो उपस्थितिले परम्परागत मिडियाका रुपमा चलेका रेडियो, टिभि र पत्रपत्रिकालाई गम्भीर समीक्षा गर्न बाध्य पारेको
छ ।

अहिले हामी आर्टिफिसियल इन्टिलिजेन्स (ए आइ)को प्रभावमा प्रवेश गरिसकेका छौं । हामीले खोज्ने समाचार, यसका भाषा, शैली एआइ प्रविधिबाटै भेटिने अनि हामी पत्रकारिताको पुरानै ढर्रामा हिँडिरहने हो भने सुधार कसरी होला, गम्भीर प्रश्न छ ।

हात हातमा भएका मोवाइल र सामाजिक सञ्जालको प्रयोगले अब जिज्ञासा राख्न, प्रश्न उठाउन सर्वसाधरण सबैले सक्ने अवस्था छ । पत्रकारले मात्र प्रश्न सोध्ने पहिलेको अवस्था अब रहेन । अब पत्रकारले गहन खोजी, अध्ययनसहित विकल्प दिएर प्रश्न उठाउनुपर्ने अवस्था आएको छ ।

पत्रकारिताभित्र सृजनात्मकताको खाँचो बढ्दै गएको छ । प्रश्न औंल्याउने मात्र नभै समाधानका विकल्पहरु दिन सके पत्रकारिता रचनात्मक हुन्छ । त्यही कारण प्रेस काउन्सिलले पछिल्ला दिनहरुमा समाधनका विकल्पसहितको रचनात्मक पत्रकारितालाई देशभर अभियानकै रुपमा अघि बढाएको छ ।

हामीले केही नयाँ कामको सुरुवात गरेको यस गरिमामय सभामा उल्लेख गर्न पाउँदा खुशी लागेको छ । नेपालका मिडियाका समाचार कक्षहरुमा रचनात्मक पत्रकारिताको बहस हामीले थालेका छौं । युट्युवलाई व्यवस्थित गर्न मापदण्ड बनाएर अनुगमन र कारवाही गरेका छौं ।

युट्युव माध्यमका प्रकार छुट्याई आचारसंहिताको कसीमा ल्याउने काम सम्भवतः दक्षिण एशियामै पहिलो प्रयोग हो ।
उस्तै उस्तै नाम राखेर अनलाईन खुल्ने र बदमासी गर्ने प्रवृत्तिलाई पूर्णतः रोकेका छौं ।

नेपाली मिडियाको प्रिन्टदेखि पछिल्लो डिजिटल मिडियासम्मको गहन अध्ययन गरी दस्तावेज तयार हुँदैछ । पत्रकारिताका सबै विधाको अध्ययन समेटिएको यो पुस्तक नेपालमै पहिलो हुनेछ । यस सोध र अनुसन्धानमा सहभागी कतिपय अनुहारलाई मैले आज यो हलमा देखेको छु । उहाँहरुलाई समेत विशेष नमन गर्न चाहान्छु ।
त्यस्तै, देशका सबै प्रदेशमा पुगेर नेपालको मिडियाको वर्तमान अवस्थाबारे अनुगमनसम्बन्धी दस्तावेज पनि तयार भएको छ, जहाँ जनमानसको मिडियाप्रतिको दृष्टिकोण, पत्रकार को हो रु को होइन रु जस्ता प्रश्नको उत्तर जस्ता विषय समावेश छन् ।

त्यस्तै, सञ्चारग्राममा नेपालमा पहिले भित्रिएको गिद्धे प्रेस देखि सबै खालका छापाखाना सामाग्रीको संग्रह गर्नका लागि ३ वर्ष अघि नै राष्टिय प्रेस संग्राहलय स्थापना भएको छ । त्यसलाई ठोस आकार दिन पर्याप्त स्रोत साधनको लागि नेपाल सरकारले अगुवाई गर्नुपर्नेछ ।

इतिहासका विभिन्न कालखण्डमा भएका मुद्रणलाई एकै परिसरमा राख्ने यो अवधारणसहितको संग्राहलय पनि विश्वमै नमुना हुनेछ । यसलाई पुरा गर्नु सिंगो देशको गर्वको कुरा हो, म माननीय मन्त्रीज्यूलाई यसतर्फ ध्यानाकर्षण गराउन चाहान्छु ।

विभिन्न ९ मातृभाषामा पत्रकार आचारसंहिताको प्रकाशन गरी प्रचारप्रसार गरेका छौं । वर्षभरी मिडिया क्षेत्रको गतिविधि र समिक्षासहितको अंग्रेजी प्रकासन एअर बुक नियमित छ । यसको चौथो संस्करण आजै महामहिम ज्यूबाट सार्वजनिक हुँदैछ ।

। पत्रकारितालाई थप प्रभावकारी बनाउन मिडिया साक्षरता बढाउनुपर्छ र त्यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव हामी राख्न चाहान्छौं । मिडिया जगत कति सुधार भयो रु भन्ने प्रश्न सँगै त्यो कामका लागि सरकारले कति टेवा पुर्याइरहेको छ भनेर समेत हेर्नुपर्ने अवस्था छ ।

आज यस कार्यक्रममा नेपाली पत्रकारिताको सिंगो उपस्थिति झल्केको अनुभूति भएको छ । डोटीको अरुण बम, रुकुम पश्चिमका प्रविर ददेलदेखि लमजुंगका आश गुरुंग, बाजुराका संगिता तिमिल्सिना, सप्तरीका श्रवण देव देखि भोजपुरका ध्रुव सुवेदीसम्म । कालिकोटका भरत विष्टदेखि जाजरकोटका राजेन्द्र कार्कीसम्म । अरु पनि हामी यही हलमा छौं । अर्थात एउटा सानो विविधतायुक्त र समावेशी नेपालको पत्रकारिताको अनुहार यहीं छ ।

वार्षिकोत्सवका अवसरमा सम्मानित र पुरस्कृत सबै महानुभावहरुलाई बधाई दिन चाहान्छु । काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतसहित सबै पूर्व अध्यक्षहरुलाई म विशेष रुपमा सम्झन चाहान्छु ।

अन्तमा, नकरात्मकता र गालीको संस्कृति होइन, रचनात्मक र सहकार्यको विकासमा लाग्दा मात्र देशमा हरियाली आउँछ । पत्रकारिता फस्टाउँछ । पत्रकारिता बलियो भए देशमा भएको अस्थिरता हटाउन बल पुग्छ । यसले जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ ।

(प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवको अवसरमा आइतबार अध्यक्ष बस्नेतद्धारा राष्टपति भवनमा आयोजित विशेष कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *