विमानस्थल पार्किङ शुल्कमा अस्वभाविक वृद्धि– पहिले दिनभरकाे ३०, अहिले प्रतिघन्टा ४० रूपैयाँ ! – Nepal Press

विमानस्थल पार्किङ शुल्कमा अस्वभाविक वृद्धि– पहिले दिनभरकाे ३०, अहिले प्रतिघन्टा ४० रूपैयाँ !

ठेक्का सकिएको कम्पनीले उठाइरहेकाे छ शुल्क

काठमाडौं । आइतबार बुढानीलकण्ठका सुजित तामाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । मोटरसाइकल लिएर विमानस्थल पुगेका तामाङलाई पार्किङ गरेको चिट त्यहीका कर्मचारीले थमाए । तामाङलाई त्यतिबेलासम्म लागेको थियो, जति समय बाइक राखे पनि त्यही २० रुपैयाँ त तिर्नुपर्ने हो ।

उनी आफन्त लिन विमानस्थल पुगेका थिए । एक घण्टाभित्रै उनको सकियो । मोटरसाइकल लिएर उनी पार्किङ शुल्क तिर्ने ठाउँमा पुगे । ‘तपाईंको ४० रुपैयाँ भयो’ भन्दा उनी झसङ्ग भए ।

आम्मामा कति धेरै शुल्क लिएको ? पहिला त २० रुपैयाँमै हुन्थ्यो त, किन बढाएको भन्दै कर्मचारीलाई तामाङले सोधे । शुल्क उठाउने कर्मचारीले त्यहाँ नजिकै राखिएको बोर्ड देखाउँदै भने, ‘यहाँ हेर्नुस्, शुल्क त्यही लेखिएको छ । बाँकी हामीलाई थाहा हुँदैन ।’

‘पहिला ५० र २० रुपैयाँ भनेर टिक लगाएर चिट दिन्थ्यो अहिले त टिकट पनि फरक रहेछ । यो कार्ड हराए १२० रुपैयाँ जरिवाना लाग्नेछ भनेर लेखिएको छ । अब त मनलाग्दी लिए पनि भयो’, थापाथलीबाट ट्याक्सी लिएर अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका विशाल राईले भने ।

यसले त सर्वसाधारणलाई मर्का पर्ने भयो भन्दै शुल्क असुल्नेसँग आक्रोशित बने राई ।

यी त प्रतिनिधि पात्रमात्र हुन् । सामाजिक सञ्जालमार्फत अभियन्ता आशिका तामाङले जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ अचाक्ली महँगो भएको विषय उठान गरिन् तब यो विषय सतहमा आएकाे  छ । सर्वसाधारणले त सरकारले आफूहरुलाई लुटेकोसम्म भन्न भ्याएका छन् ।

विमानस्थलको पार्किङ शुल्क बढाइएकोबारेमा बुझ्न खोज्दा नागरिक उड्डयन प्राधिकरणले नियमसंगत शुल्क उठाएको दाबी गर्याे ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल सेवा शुल्कसम्बन्धी नियमावली २०७८ मै भएको व्यवस्थाबमोजिम शुल्क निर्धारण भएको बताए ।

उनका अनुसार सम्बद्ध मन्त्रालयको सहमतिमा प्राधिकरणले नै शुल्क निर्धारण गर्न पाउने अधिकार नियमावलीले दिएको छ ।

भुल भन्छन्, ‘नयाँ ठेक्का लगाउँदा खाइपाइ आएको दररेटभन्दा नघट्नेगरी ठेक्का लगाउनुपर्छ । २०६७ देखि अहिलेसम्म आइपुग्दा महँगी धेरै बढेको छ । हामीले विभिन्न अध्ययन गरेर शुल्क निर्धारण गरेका हौं ।’

उनले केही व्यक्ति सवारीसाधन विमानस्थलमै छोडेर घुम्न जाने र धेरै दिनसम्म पार्किङमा राख्दा समस्या भएपछि शुल्क बढाइएको बताए ।

भुलका अनुसार अशक्त, वृद्ध, विद्यार्थीका लागि भने सहुलियत दिने व्यवस्था छ । यद्यपि यो सहुलियत ठेकेदारहरुले भने दिएका छैनन् । यसमा विमानस्थल आफैंले पहल गर्नुपर्ने भुलको भनाइ छ ।

ठेक्का सकिएको सिद्धगढीले नै किन उठाइरहेछ शुल्क ?

सिद्धगढी मारुती जेभीको ठेक्का अवधि यही भदौ ११ मा सकियो, तर पनि अहिले उसैले पार्किङ शुल्क उठाइरहेको छ । विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पा सकिएको ठेक्का अवधिदेखि नयाँ ठेक्का नलागेसम्म सिद्ध जेभीसँग नै अहिले ठेक्काका लागि प्रस्ताव गरिएको रकम प्रदान गर्नेगरी सहमति भएको बताए ।

उनका अनुसार नयाँ नआउञ्जेलसम्म खाली नराख्ने उद्देश्यले उसैलाई निरन्तरता दिन भनिएको हो ।

शेर्पा भन्छन्, ‘हामीले ठेक्का सकियो भनेर नयाँ ठेक्का नलागुञ्जेल खाली गर्‍यौं भने पछि महालेखापरीक्षकको प्रतिवेदनले किन खाली गर्‍यो भन्दै प्रश्न उठाउँछ । बेरुजु देखाउँछ । यसकारण हामीले खाली समयमा पनि सिद्ध जेभीलाई नै ठेक्का उठाउन भनेका हौं ।’

नयाँ ठेक्का पूर्णतया प्रतिस्पर्धाबाट ल्याइने पनि शेर्पा दाबी गर्छन् ।

नयाँ ठेक्काका लागि ३० दिनको समय

त्रिभुवन विमानस्थलमा भएको पार्किङको शुल्कको ठेक्काको म्याद सकिएपछि भदौ १४ गते विमानस्थल कार्यालयले नयाँ ठेक्का आह्वान गरेको छ । ३० दिनको समय दिएर आह्वान गरिएको ठेक्कामा न्यूनतम ३३ करोड ३० लाख रुपैयाँसम्मको हुनपर्नेछ । ठेक्का अवधि तीन वर्षको हुनेछ । यो ठेक्का रकम हरेक २ वर्षमा १० प्रतिशतका दरले स्वतः वृद्धि हुनेछ ।

यसअघि २०६७ सालको नियमावलीअनुसार मोटरसाइकल र स्कुटर तथा रिक्सा पार्किङमा प्रतिघण्टा ५ रुपैयाँ तोकिएको थियो, तर दिनभर पार्किङ गर्दा पनि २० रुपैयाँ लिने गरेको पार्किङ शुल्क उठाउने काममा खटिएका कर्मचारीहरु बताउँछन् ।

नयाँ बोलपत्रमा आह्वान गरेकै रकम व्यहोर्नुपर्ने भएपछि पार्किङ शुल्क पनि बढाइएको सिद्धगढीका कर्मचारीहरु बताउँछन् । उनीहरुले पहिले ९ करोडमै ठेक्का पाएको बुझिएको छ ।

पुरानो र नयाँ शुल्क कति फरक ?

नयाँ शुल्कअनुसार अब मोटरसाइकल, स्कुटर, रिक्साको पार्किङ शुल्क प्रतिघण्टा ४० र प्रतिदिनको शुल्क २४० रुपैयाँ रहेको छ । यसअघि प्रतिघण्टा ५ र प्रतिदिन ३० रुपैयाँमात्र थियो ।

यस्तै कार, जिप, लिमोनिम, टेम्पो आदिको पार्किङ शुल्क प्रतिघण्टा ८० र एक दिनको ४८० रुपैयाँ रहेको छ । यसअघि कार, जिप, टेम्पो, लिमोजिम आदिको प्रतिघण्टा २० र एक दिन १२० तथा ३ महिनाको ३ हजार रुपैयाँ थियो ।

बस, ट्रक जस्ता गह्रौं सवारीसाधनको प्रतिघण्टा १५० र एक दिनको ९०० रुपैयाँ रहेको छ । यसअघि प्रतिइन्ट्री ५० रुपैयाँमात्र थियो ।

यता हलुका सवारीसाधन मिनिबस, माइक्रोबस आदिको पार्किङ शुल्क एक घण्टाको १०० र एक दिनको ६०० रुपैयाँ कायम गरिएको छ । यसअघि एक घण्टाको ३०, एक दिनको १५०, एक महिनाको १ हजार ५०० र तीन महिनाको ४ हजार रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर