लागूऔषध खुवाएर सामूहिक यौनसम्पर्कपछि युवतीको हत्या, १० महिनापछि पक्राउ परे देउवा र चौधरी – Nepal Press

लागूऔषध खुवाएर सामूहिक यौनसम्पर्कपछि युवतीको हत्या, १० महिनापछि पक्राउ परे देउवा र चौधरी

कैलाली । गत वर्ष कात्तिकमा मृत फेला परेकी डडेल्धुरा अमरगढी नगरपालिका–२ की ३१ वर्षीया महिलालाई सामूहिक यौनसम्पर्कपछि अचेत अवस्थामा जंगलमा फ्यालिएको खुलेको छ । आरोपि दुई युवक करिब एक वर्षपछि पक्राउ परेका छन् ।

२९ कात्तिक २०८० मा सुस्मा खड्का (नाम परिवर्तन) को धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सञ्जीव चौधरी र ३० वर्षीय जनक देउवासँग सामूहिक यौनसम्पर्क भएको प्रहरीले ठहर गरेको हो ।

सुस्मालाई चिनजानका साथी चौधरीले फोन गरेर देउवाको घरमा बोलाएका थिए । उनी आइपुग्नुभन्दा अगाडि नै दुवैजना लागूऔषध सेवन गरिरहेका थिए । उनीहरुले सुस्मालाई पनि लागूऔषध सेवन गराएको प्रहरी अनुसन्धानले देखाएको छ ।

तीनैजना लठ्ठ भएपछि उनीहरुबीच शारीरिक सम्वन्ध भएको थियो । त्यसपछि आपसी विवाद भएको र महिलामाथि कुटपिटसमेत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए । विवाद र कुटपिटको स्पष्ट कारण नखुलेको उनको भनाइ छ ।

झगडापछि पनि तीनैजना एकैठाउँमा सुतेका थिए । बिहान उठ्ने बेला युवती बेहोस अवस्थामा थिइन् । त्यसपछि युवकहरुले उनलाई स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालेको बोहराले बताए ।

उनले भने, ‘देउवाले स्कुटर चलाएर चौधरीले युवतीलाई पछाडिबाट समातेको र जंगलमा फ्यालेको बयान दिएका छन् ।’

६ मङ्सिर २०८० मा धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा सुस्माको शव कुहिएको अवस्थामा भेटिएको थियो । उनका बुवाले छोरीको पहिचान गर्दै १० कात्तिकमा जिल्ला प्रहरी कार्यालय कैलालीमा ज्यान सम्बन्धी जाहेरी दिएर शव बुझेका थिए ।

प्रहरीकाअनुसार त्यो बेलासम्म महिलाको मृत्युको कारण खुलेको थिएन । घटनास्थलमा प्रहरीले लागु औषध समेत बरामद गरेको थियो । लागु औषधबाट मृत्यु भएको देखाउने उद्देश्यले चौधरी र देउवाले त्यस्तो गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

चौधरीलाई सीमावर्ती भारतीय बजार गौरीफन्टा र देउवालाई चौधरीकै बयानका आधारमा धनगढीबाटै पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए । दुवै जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइने एसपी विष्टले बताए ।

मृतकको मोबाइल प्रतिवादी मध्येका सञ्जीव चौधरीले घरमा ल्याएका थिए । उनले सिम झिकेर उक्त मोबाइल आफ्नो श्रीमतीलाई दिए । केही समयसम्म मोबाइल बन्द रहेको हुँदा प्रहरीलाई क्लु पाउनै सकस भएको थियो । तर, एक पटक मोबाइल खुलेर त्यसमा अर्को सिम प्रयोग भएको प्रहरीले सुइँको पाएपछि उक्त सिम प्रयोग भएको मोबाइलको आईएमई पत्ता लगाएको थियो ।

मोबाइलमा प्रयोग गरिएका नम्बर धनगढी उपमहानगरपालिका–५ का सञ्जीव चौधरीको नाममा रहेको प्रहरीले पत्ता लगायो । खोजतलासका क्रममा चौधरीको श्रीमतीबाट प्रहरीले मृतकको मोबाइल बरामद गर्यो तर चौधरी भने धनगढीमा फेला परेका थिएनन् । घटना भएपछि चौधरी भागेर भारतमा बस्दै आएको देखिएपछि प्रहरीले उनको श्रीमतीमाथि निगरानी बढाएको थियो ।

शनिवार चौधरीकी श्रीमती पनि भारत गइरहेको सूचनाका आधारमा कैलाली प्रहरीको सादा पोसाकको टोलीले उनलाई पछ्याएको थियो । सोही क्रममा सीमावर्ती भारतीय बजारबाट चौधरीलाई पक्राउ गर्न सफल भएको एसपी विष्टले बताए ।

चौधरीले दिएको बयानका आधारमा देउवालाई समेत धनगढीबाट पक्राउ गरिएको हो । उनीहरूमाथि अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर