जसपा नेपालको निष्कर्ष- राजनीतिक पार्टीहरूबीच वैमनस्यता गराउन खोजिँदैछ – Nepal Press

जसपा नेपालको निष्कर्ष- राजनीतिक पार्टीहरूबीच वैमनस्यता गराउन खोजिँदैछ

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पार्टीभित्र कुनै विवाद नभएको प्रष्ट्याएको छ । पदाधिकारी चयनमा उपेन्द्र यादवले एकलौटी गरेको भन्दै जसपा नेपालभित्र चर्को विवाद छ, तर प्रवक्ता मनिष सुमनले पार्टीभित्र कुनै विवाद नभएको जिकिर गरेका छन् ।

पार्टीले विभिन्न राजनीतिक पार्टी/दल/सङ्गठनहरूसँग समन्वय र सहकार्यलगायतका आवश्यक कार्यहरू गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा ‘अन्तरपार्टी समन्वय समिति’ गठन गरेकोसमेत उनले बताए ।

समान विचार, सिद्धान्त र उद्देश्यका साथ कार्य गर्ने राजनीतिक पार्टीहरूसँग समन्वय र सहकार्यलगायतका आवश्यक कार्यहरु गरी जनताका आधारभूत समस्याहरूको सम्बोधन, राज्यद्वारा गराउनु तथा पहिचानको आन्दोलनलाई अझ उचाइमा पुर्‍याउनु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।

जसपा नेपालले राजनीतिक पार्टी-पार्टीबीच वैमनस्यता गराउने कृत्सित मनसायका साथ समाचारहरु सम्प्रेषित भएको भन्दै आपत्ति जनाएको छ । अशोक राईसहित सात सांसदले पार्टी फोडेर जसपा गठन गरे पनि उपेन्द्रले अझै पार्टीमा रहेका नेताहरुलाई चित्त बुझाउन सकेको छैनन् । यो विषय हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पनि उठेको थियो ।

बैठकले केन्द्रीय सचिवालय गठनदेखि केन्द्रीय कार्यालय समिति र विभाग पनि गठन गर्दै नेताहरुको कार्यविभाजन गरेको छ । यद्यपि पार्टीभित्रको विवादको कारणले अहिलेसम्म सर्कुलर पठाउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *