प्रदर्शन सुधार्न तीन अनुभवी ब्याट्सम्यान लगातार बेन्चमा, अनिल र अर्जुनले न्याय गर्न सकेनन् – Nepal Press

प्रदर्शन सुधार्न तीन अनुभवी ब्याट्सम्यान लगातार बेन्चमा, अनिल र अर्जुनले न्याय गर्न सकेनन्

काठमाडौं । क्यानडामा जारी विश्वकप लिग–२ शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोर्यो । तीनवटै खेलमा नेपाली ब्याटिङ बिर्सनलायक रह्यो ।

पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएपछि प्रशिक्षक मन्टी देशाईले त्यसयता तीन अनुभवी ब्याट्सम्यानलाई बेन्चमा राखेर अनिल शाह र अर्जुन साउदलाई अवसर दिएका थिए । आरिफ शेखको प्रदर्शन भने सन्तोषजनक नै छ ।

प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलसहित अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल लगातार दोस्रो खेलमा बेन्चमा सीमित भएका हुन् । नेपाल पहिलो खेलमा २५४ रनको लक्ष्य पछ्याउनेक्रममा १५० रनमा अलआउट भएको थियो । त्यस खेलमा कुशल भुर्तेल एक, कुशल मल्ल १२ र दीपेन्द्रसिंह ऐरी आठ रन जोडेर आउट भएका थिए ।

दोस्रो खेलमा उनीहरुको स्थानमा विकेटकिपर अर्जुन साउदसहित अनिल र आरिफलाई टोलीमा राखिएको थियो ।

ओमानविरुद्ध नेपालले २२१ रनको लक्ष्य दिएर एक विकेटको हार व्यहोरेको थियो । अर्जुन पाँच र अनिल तीन रन जोडेर आउट भएका थिए । ३१ रनमा तीन विकेट गुमाएको अवस्थामा कप्तान रोहित र आरिफबीच ८३ रनको साझेदारी भएको थियो। आरिफले ३५ रन जोडे ।

तेस्रो खेलमा आइतबार राती नेपालले क्यानडालाई केवल १८२ रनको लक्ष्य दिएको थियो । नेपाल पाँच विकेटले पराजित भयो । ८७ रनमा सात विकेट गुमाएको अवस्थामा सोमपाल कामी र सन्दीप लामिछानेले ५५ तथा सन्दीप र करण केसीले ३९ रनको साझेदारी गरेका थिए ।

अर्जुनले १० र अनिलले एक रन जोडे । आरिफ शेखले १० रन मात्र बनाउन सके । ३६ रनमा पाँच विकेट गुमाएको अवस्थामा आरिफ र गुल्सनबीच ३४ रनको साझेदारी भएको थियो ।

विश्वकप लिग २ मा नेपाल खराब स्थितिमा छ । नेपालले सात खेल खेलिसक्दा छ वटामा हार व्यहोरेको छ । नेपालले यो प्रतियोगितामा पाँच खेलयता जित हात पार्न सकेको छैन । सात खेलमा दुई अंक भएको नेपाल आठ टोली रहेको प्रतियोगिताको पुछारबाट एक स्थान माथि अर्थात सातौँ स्थानमा छ । यूएईको पाँच खेलबाट दुई अंक छ । क्यानडा ११ खेलबाट १४ अंक जोडेर शीर्षस्थानमा छ ।

नेदरल्यान्ड्सको आठ खेलबाट १२ अंक छ । अमेरिका सात खेलबाट १० अंक जोडेर तेस्रोमा छ ।

अहिले प्रशिक्षक देसाईले बेन्चमा राखेका तीन अनुभवी खेलाडीहरु एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन जोड्ने नेपालका शीर्ष सात ब्याट्सम्यानमा पर्छन् । कुशल भुर्तेलले एक हजार २२०, दीपेन्द्रले ९०४ र कुशल मल्लले ८७६ रन जोडेका छन् । नेपालले अब क्यानडा शृंखलाको अन्तिम खेल मंगलबार ओमानविरुद्ध खेल्ने छ ।

 


प्रतिक्रिया

One thought on “प्रदर्शन सुधार्न तीन अनुभवी ब्याट्सम्यान लगातार बेन्चमा, अनिल र अर्जुनले न्याय गर्न सकेनन्

  1. मैले क्रिकेट हेर्न नै छाेडी सकेकाे हुँदा यससँग सम्बन्धित समाचार पढन पनि त्यति जाँगर लाग्दैन । नेपाली क्रिकेट खेल भनेपछि म खाना खान पनि बिरसन्थे । तर अब खै नेपाली क्रिकेट खेल बारे कमेन्ट पनि गर्न मन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *