एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं, कमजोरी सुधार अभियान चलाउँछौं : ईश्वर पोखरेल – Nepal Press

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं, कमजोरी सुधार अभियान चलाउँछौं : ईश्वर पोखरेल

सिन्धुली । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकतावद्ध हुनुपर्ने बताएका छन् । सिन्धुलीमाडीमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि बढ्ने दाबी गरे ।

पोखरेलले भने, ‘अहिले देशमा देखिएको संकटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुर्‍याए देशलाई कसरी बचाउने भन्ने गम्भीर प्रश्न आउँछ । त्यसकारण पनि राष्ट्रिय शक्तिहरू एकतावद्ध हुनुपर्छ । नेकपा एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्छौं ।’

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्न देशव्यापी रूपमा पार्टी सुदृढ गर्ने, पार्टी पंक्तिलाई अघि बढाउने र भएका कमी कमोजोरी सुधारको अभियान चलिरहेको उनले बताए । एमाले निर्णयक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिहरूलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता, अखण्डको पक्षमा उभ्याउने पोखरेलको भनाइ छ ।

नेपालमा कांग्रेस र कम्युनिष्टहरूको दुई आयामिक सम्बन्ध रहेको भन्दै पोखरेलले अप्ठ्यारो र संकटको अवस्थामा सहकार्यको परम्परा र राज्य सञ्चालनमा प्रतिस्पर्धा हुने गरेको बताए ।

वर्तमान संकट टार्न र मुलुकको परिस्थिति थप नबिग्रियोस् भनेर साझा सहमतिका साथ एमाले-कांग्रेस एकठाउँ उभिएको उनको भनाइ छ ।

पोखरेलले भने, ‘अब आउने निर्वाचनमा प्रतिस्पर्धा गर्दैनौं भन्ने होइन, हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुन्नौं । यो हाम्रो क्लिएर धारणा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर