जिम्बु थकालीमा ३५ रूपैयाँको मिनरल वाटरलाई १ सय- वाणिज्य विभागले तिरायो ३ लाख जरिवाना (भिडिओ) – Nepal Press

जिम्बु थकालीमा ३५ रूपैयाँको मिनरल वाटरलाई १ सय- वाणिज्य विभागले तिरायो ३ लाख जरिवाना (भिडिओ)

काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ ।

अंकित मूल्यभन्दा तेब्बरमा मिनरल वाटर बेचेको पाइएपछि विभागले कारवाही गरिएको हो । उपभोक्तालाई ३५ रूपैयाँ मूल्य पर्ने मिनरल वाटरलाई १ सय रूपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरेको थियो । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए । उपभोक्ता ठगेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरूप जरिवानासहित सचेत गराएको उनले बताए ।

 

पौडेलले भने,‘जिम्बु थकाली रेष्टुरेण्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो । के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौं । हामी रेष्टुरेण्टमा आयौं । पानी मागिएको थिएन । पानी ल्याएर दिनुभयो । पानी र खाजा मःमः खाऔं । एक बोतल पानीको अंकित मूल्य ३५ रूपैयाँ छ । तर, ३५ रूपैयाँ अंकित मूल्य भएको पानीलाई एक सय रूपैयाँ लिनुभएको रहेछ । कुनैपनि उपभोक्तालाई लेभल गरिएको हुन्छ । त्यसमा तोकेको भन्दा बढी मूल्य लिन पाइँदैन । खुद्रा मूल्य भन्दा दोब्बर शुल्क लिएको पाइयो । बढी मूल्य लिएको आधारमा वाणिज्यले कारबाही गर्छ । उहाँहरूले अब मूल्यभन्दा बढी मूल्यमा कुनैपनि सामान बेच्न पाउनुहुन्न । फेरि पनि त्यो गरेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्छौं । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रेष्टुरेण्टलाई अंकित मूल्य भन्दा बढी मूल्यको आधारमा ३ लाख रुपैयाँ जरिवाना गरेका हौं ।’

पौडेलका अनुसार चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर