नेपालमा वर्षेनि १५ सयसम्म बालबालिकामा क्यान्सर- तर छैनन् पुग्दाे डाक्टर – Nepal Press

नेपालमा वर्षेनि १५ सयसम्म बालबालिकामा क्यान्सर- तर छैनन् पुग्दाे डाक्टर

काठमाडौं । नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरुको अभाव रहेको पाइएको छ ।

बालबालिकामा हुने क्यान्सर रोगीहरुको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरु भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताएका छन् ।

कान्ति बाल अस्पतालमा कार्यरत उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरुको नै अभाव रहेको बताए ।

उनले कान्ति बाल अस्पतालमा पनि आफूसहित २ जना चिकित्सकको भरमा उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । चिकित्सक सिपाईंले सरकारले क्यान्सर अस्पतालहरुको स्तरोन्नति गरेर यसको जाँचका लागि बाहिरको भर पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

‘अहिले चिकित्सकहरुको पर्याप्तता छैन । किनभने निश्चित रुपमा धेरैजसो जति पनि सेवा दिईरहेका छन् । यी केन्दहरुमा नै छन् । केन्द्रहरुबाट सेवा दिन पनि सबै ठाउँमा पर्याप्त छैनन् । कान्तिको हकमा म र अर्का एक जना चिकित्सक हुनुहुन्छ भने अन्य सेवाहरुमा एक जना वा दुई जना हुनुहुन्छ’, उनले भने, ‘जसले गर्दा ती सेवा केन्द्रहरुमा सेवा गर्न पनि केही कठिनाईहरु छन् भने नेपालमा काठमाडौं बाहिर ती सेवा पु¥याउनका लागि अझै पनि पर्याप्त जनशक्तिको अभाव नै छ जस्तो लाग्छ । सरकारले सेवा दिइरहेका अस्पतालहरुमा स्तरोन्नति गर्नुपर्यो । जाँच गर्नका लागि जुन बाहिर पठाउनुपर्ने अवस्था छ, त्यो नेपालमा नै गर्न सकियोस् ।’

बालिबालिकाहरुमा धेरैजसो ब्लड क्यान्सर देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ । करिव ६० प्रतिशत भन्दा बढी बालबालिकाहरुमा ब्लड क्यान्सर देखिएको चिकित्सक सिपाईंको भनाइ छ । उनले त्यसैगरी उनीहरुको बे्रने ट्युमर, आँखा, नसा र मृर्गौलामा हुने क्यान्सर पनि क्रमशः देखिएको उपचारको क्रममा पाइएको पनि बताए ।

चिकित्सक सिपाईले भने, ‘बालबालिकामा धेरैजसो ब्लड क्यान्सर देखिने गरेको पाइएको छ । ६०-६५ प्रतिशत जति पनि क्यान्सर छ, त्यो बालबालिकाहरुमा हुने रगतको नै क्यान्सर हो । त्यसपछि ब्रेन ट्युमर, अरु अंगहरुमा आँखामा हुने, नशामा हुने, मिर्गौलामा हुने क्यान्सरहरु क्रमशः देखिदै आएका छन् ।’

नेपालमा वार्षिक करिब १५ सयसम्म बालिबालिकाहरुमा क्यान्सर देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा सो रोगका लागि उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । कान्ति बाल अस्पतालमा मात्रै सो रोग लागेका बालबालिकाहरु वार्षिक रुपमा करिव १६० देखि २ सयसम्म आउने गरेको अस्पतालले जनाएको छ ।

‘नेपाल वार्षिक सरदर हजारदेखि १५ सय जति बालबालिकाहरुमा क्यान्सर रोग देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा हामीले हाम्रो कार्यक्रमहरुलाई अगाडि बढाईराखेका छौं’, सिर्पाइले भने, ‘कान्तिको नै हेर्ने हो भने पनि वार्षिक १६० देखि २ सयसम्म रहने गरेको छ । त्यस्तै अन्य अस्पतालहरु, जसले त्यो सेवा दिइरहेका छन् । त्यस हिसावले पनि त्यो प्रक्षेपण गरेर हामीले वार्षिक करिव १५ सय जति हुन सक्छ भनेर अनुमान गरिरहेका छौँ ।’

चिकित्सकहरुले सो रोगको उपचारका लागि नेपालमा करिव ८ लाख रुपैयाँसम्म खर्च हुने जानकारी गराएका छन् । चिकित्सक सिपाईंका अनुसार परीक्षणको लागि खासगरी भारत पठाउनुपर्ने भएकाले उपचार खर्च बढ्न सक्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *