रियासाले ‘गाह्रो छ’ छोडेपछि भटभटे माइलालाई गाह्रो पर्‍यो, पीडा पोख्दै मिडियामा – Nepal Press

रियासाले ‘गाह्रो छ’ छोडेपछि भटभटे माइलालाई गाह्रो पर्‍यो, पीडा पोख्दै मिडियामा

‘उहाँ नहुँदा मेरो करिअर नै सकिएको जस्तो महसुस भएको छ’

काठमाडौं । कुनै समय दर्शकले अत्यधिक रुचाएको हास्य टेलिसिरियल ‘गाह्रो छ हो’ केही समयदेखि अलि सुस्ताएको छ । सिरियलकी प्रमुख पात्र ‘पुतली’ उर्फ रियासा दाहाल बाहिरिएपछि दर्शकले खल्लो मानेका छन् ।

‘भटभटे माइला’ भनेर चिनिएका कलाकार बेगम नेपालीले ५ वर्ष अगाडि यो सिरियल सुरु गरेका थिए । केही एपिसोडपछि ‘पुतली’ का रुपमा रियासाको इन्ट्री भयो । भटभटे र रियासाको जोडीलाई दर्शकले मन पराए । सिरियलले मज्जासँग पिकअप लियो । एकसमय भ्यूजको कीर्तिमान नै राखेको थियो ।

त्यसो त सुरुमा बेगमले रियासालाई एउटा एपिसोडमा गेस्ट रोलका लागि अफर गरेका थिए । रियासाले स्वीकारिन् । एक एपिसोडका लागि कुरा भए पनि उनले तीन एपिसोडमा काम गरिन् । रियासा यसअघि नै युट्युबमा चर्चित भइसकेकी थिइन् । उनलाई कमेडी जनराकै ‘कलेज नेपाल’ भन्ने सिरिजले चर्को लोकप्रियता दिलाएको थियो । रियासाको थुप्रै संवादहरु टिकटकमा भाइरल भएका थिए । म्युजिक भिडिओमा पनि निकै डिमान्डेड थिइन् ।

‘कलेज नेपाल’ मा शहरिया युवतीको भूमिका निभाएकी रियासाले ‘गाह्रो छ’ मा ग्रामीण महिलाको रुपमा देखिइन् र यसमा पनि हिट भइन् । उनी अभिनयमा मात्र नभएर स्क्रिप्ट राइटिङमा समेत पोख्त थिइन् । बेगम र रियासाले संयुक्त रुपमा स्क्रिप्ट लेख्ने गर्थे । निर्देशकमा भने मीनराज श्रेष्ठलाई राखिएको थियो ।

हुन त रियासाले यो सिरियलमा लामो समय काम गर्ने हिसाबले आएकी थिइनन् । गेस्ट रोल सकिएपछि बेगमले उनलाई निरन्तरता दिन प्रस्ताव गरेका थिए, तर म्युजिक भिडिओमा नै व्यस्त भएको हुँदा उनले आफूले नभ्याउने भन्दै अर्को एक कलाकारलाई सिफारिस गरिदिएकी थिइन् । तर सुटिङको अघिल्लो दिन ती कलाकारले काम नगर्ने निर्णय लिएपछि रियासाले आफैं खेल्ने निधो गरिन् । जुन निर्णय उनका लागि पनि फलदायी बन्यो । उनीहरुले आम्दानी खर्चको ५०-५० हिस्सेदारी बन्ने गरी सहयात्रा गरे ।

‘भद्रगोल, ‘हल्का रमाइलो’, ‘मेरी बास्सै’ जस्ता चर्चित हास्य टेलिश्रृंखलाहरुलाई समेत पछि पार्दै ‘गाह्रो छ’ ले भ्यूजको पहाड खडा गर्‍यो । ‘गाह्रो छ’ का चारवटा एपिसोडले एक करोडभन्दा बढी भ्यूज पाएका छन्, जुन आफैंमा एउटा कीर्तिमान हो । ‘गाह्रो छ’को १४ औं एपिसोड, जुन २०२१ को जनवरी ३१ मा अपलोड भएको थियो, ले सर्वाधिक एक करोड ९० लाख भ्यूज पाएको छ । यो सम्भवतः कुनै पनि नेपाली कमेडी सिरियलले पाएको सर्वाधिक भ्यूज हो ।

१०० एपिसोडसम्म बेगम र रियासा दुवैले मिलेर नै स्क्रिप्ट लेख्थे, तर रियासा अन्य काममा व्यस्त भएपछि स्क्रिप्ट लेख्न सम्भव भएन । त्यसपछि उनी सहायक निर्देशकको भूमिकामा थिइन् । यद्यपि रियासा स्क्रिप्टमा संलग्न नहुँदा भ्यूजमा प्रभाव पर्न थालेको थियो । समग्र युट्युब कन्टेन्टमा बढोत्तरी र गम्भीर विषयवस्तुका सामाजिक सिरियलहरु चल्न थालेकाले पनि ‘गाह्रो छ’ को भ्यूज रफ्तार केही कम हुँदै गयो ।

यही बीचमा गत वर्ष वैशाख २० गते रियासाले विवाह गरिन् । उनी ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग लामो समयको प्रेमलाई साकार पार्दै विवाह बन्धनमा बाँधिइन् । विवाहपश्चात पनि रियासाले केही समय ‘गाह्रो छ’ लाई निरन्तरता दिइरहेकी थिइन्, तर करिब ६ महिना अगाडिबाट भने उनी यो सिरियलबाट अलग भएकी छन् ।

‘गाह्रो छ’ छोडेको विषयमा रियासाले सार्वजनिक रुपमा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् । उनी अरु कुनै सिरियलमा देखिएकी पनि छैनन् । ‘गाह्रो छ’ का प्रत्येक एपिसोडमा दर्शकहरुले उनको खोजी गरिरहेका हुन्छन् । बजारमा विभिन्न हल्ला पनि चलेका छन् । परिवारले सिरियल खेल्न बन्देज गरेकोदेखि रियासा गर्भवती भएकोसम्म दाबी गरिएका छन्, तर यी कुराहरुमा कुनै पनि सत्यता नभएको निकटस्थहरु बताउँछन् ।

अर्कोतर्फ रियासा निस्किएसँगै बेगम तनावग्रस्त बनेका छन् । सिरियलको भ्यूजमा उल्लेख्य गिरावट आएको छ । रियासाको क्षतिपूर्ति गर्नसक्ने अर्को कलाकार भेट्टाउन उनलाई मुस्किल परेको छ । बेगम अहिले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आफ्नो पीडा पोख्न थालेका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बेगमले रियासाको अभावमा आफ्नो कलाकारिता नै संकटमा परेको भन्दै भावुक टिप्पणी गरे ।

उनले भनेका छन्, ‘अहिले त मेरो कलाकारिता नै सकिएको, करिअर नै सकिएको फिल हुन्छ । उहाँबाहेक मेरो कलाकारिता नै रहेनछ भन्ने महसुस भएको छ ।’

बेगमको भनाइ उनकै शब्दमा

हो, पछिल्लो अवस्थामा हाम्रो दर्शक अलिकति घट्नुभएको छ । धेरै होइन, सयमा २० प्रतिशत जति घट्नुभएको होला । ८० प्रतिशतले अहिले पनि हेर्नुहुन्छ । हाम्रो मेहनेत चाहिँ घटेको छैन । पहिलेको भन्दा झन् बढी मेहनत छ । त्यो मेहनतको परिणाम आउन बाँकी होला ।

रियासाजीले छोड्नुभएपछि समस्या भएको छ । उहाँसित त्यस्तो झगडा केही पनि भएको थिएन । ममा समस्या होइन । उहाँले गर्दिनँ भनेपछि अर्काको छोरी, श्रीमतीलाई जबरजस्ती राख्ने कुरा भएन । उहाँले अरुको कुरा सुन्नुभयो जस्तो लाग्छ । हाम्रो टीमभित्रकै एकजनाले हामीबीच विभाजन ल्याउन खोजेका थिए । त्यसको प्रमाण मसित छ ।

उहाँ र मेरो जोडी हिट भएपछि धेरै प्रोग्राममा अफर आउँथ्यो । पहिले पहिले म एक्लै हुँदा १०-२० हजारमा स्टेज प्रोग्राम गर्थें । पछि हामी दुवैलाई अफर आउन थाल्यो । उहाँ कम पैसामा काम नगर्ने । दुवैजनालाई लिँदा आयोजकको बजेटले नभ्याउने । म चाहिँ सकेसम्म सबैको मन राखिदिन खोज्ने, तर उहाँ रेटभन्दा तल नझर्ने ! सस्तो खालका विज्ञापनहरुमा अफर आउँदा उहाँलाई अटाउन गाह्रो हुन्थ्यो । यसले गर्दा धेरै अफर छोड्नुपर्‍यो ।

अर्को पाटोबाट हेर्दा उहाँ छोरी मान्छे हो । घरबाट बाहिर हिँड्न पक्कै समस्या हुन्छ । त्यो समस्या पनि हामीले बुझिदिनुपर्‍यो । म त यो जोडी टिकाउनुपर्छ भनेर निरन्तर लागें । दीपकराज-दीपाको जस्तो, मह जोडीको जस्तो बन्नुपर्छ भन्ने मेरो सोच थियो, तर उहाँले अरुको कुरा सुन्नुभयो । ती व्यक्तिले हामी दुवैलाई कुरा लगाउनुभयो ।

लास्टमा छोड्ने बेला पनि रियासाजीले मलाई भन्नुभएन । मैले कुरा गर्दा ‘दाइ मैले कसैको कुरा सुन्या छैन, मलाई अहिले कलाकारिता पनि गर्नु छैन, अब श्रीमानको बिजनेसमा सहयोग गर्छु’ भन्नुभयो । मैले लास्ट टाइममा पैसाको अलिकति हिसाबकिताब बाँकी राख्या थिएँँ । उहाँ आउनुहुन्छ कि, ल्याउन सकिन्छ कि भन्ने आशा थियो । त्यही भएर पैसा बाँकी राखेको थिएँ, तर उहाँले मलाई गर्न मन छैन, पुग्यो भन्नुभयो । अब म्युजिक भिडिओ पनि गर्दिनँ भन्नुभयो ।

पारिवारिक प्रेसर हो जस्तो लाग्दैन । उहाँको श्रीमान बुझ्ने हुनुहुन्छ । मसित जोडिने बेलामा पनि कलाकारिता गर्दिन्नँ भन्ने अवस्थामा हुनुहुन्थ्यो । मैले नै जोडी बनौं भनेर प्रस्ताव गरेको हो, तर मैले भनिहालें, छोरी मान्छेको अनेक समस्या हुन्छ । मेरो परिवारमा त केही समस्या थिएन । मेरो बुढीलाई पनि लाग्छ होला नि बुढाले अर्कीलाई बुढी भन्दा, तर मेरो बुढीले तिमीहरुको जोडी राम्रो छ, नछुटोस् भनेर सल्लाह दिइराख्थिन् । जहाँसम्म लाग्छ उहाँलाई श्रीमानले पनि त्यसरी नै सल्लाह दिइराख्या होला । बिहे गरेपछि ३-४ महिनासम्म काम गरिरहनु भएकै हो । आफैं मन नलागेर छाड्नुभएको होला भन्ने लाग्छ । उहाँ हुँदै घाटामा थियो । भ्यूज आधी घटिसकेको थियो । त्यसले पनि छोड्नुभएको हो कि ! फेरि कुनै पनि काम गर्दिनँ पनि भन्नुभएको छ ।

सिरियल छोड्ने बेलामा मलाई एक शब्द पनि भन्नुभएन । म बिरामी पनि थिएँ । हाम्रो बोलचाल भएको थिएन । लास्ट टाइममा निर्देशकलाई नै अब मेरो लेख्न नलगाउनु है भनेर जानुभएछ । अहिले पनि ल्याउने कोसिस गरिरहेको छु । उहाँको केही गल्ती छैन, तर अरुको कुरा सुन्नुहुँदैनथ्यो । मैले रियासाजीलाई फेरि आउँ पनि भनें । उहाँले ‘कोसिसा नगर्नु दाइ म आउँदिनँ’ भन्नुभयो । जबरजस्ती गर्ने कुरा पनि भएन ।

उहाँ धेरै मिस हुन्छ । पहिले सबै चिज एक्लै गरेको थिएँ । बीचमा रियासाजी जोडिनुभयो । कार्यक्रममा दुवैजनालाई बोलाउने भइसक्याथ्यो । मलाई एक्लै नबोलाउने जस्तो भइसक्याथ्यो । अहिले पनि मलाई मात्रै बोलाउँदैनन्, उहाँ नै चाहिन्छ । मलाई के असर पर्‍यो भने उहाँविना म त रहेनछु । मेरो कलाकारिता नै सकिएको, करिअर नै सकिएको फिल हुन्छ । पहिले एक्लै बाँचेको थिएँ । एक्लै पैसा कमाएको थिएँ । परिवारलाई खुशी बनाएको थिएँ । अहिले त उहाँबाहेक मेरो कलाकारिता नै छैन भन्ने फिल भएको छ । के मेरो जिन्दगी छैन ? रियासाजीसँग मात्रै मेरो करिअर हो र ?

अहिले दुनियाँको गाली मैले खाली प¥या छ । कति सुन्नु गाली । मैलेमात्रै जवाफ दिनुपर्ने ? उहाँलाई ल्याएर सोध्नुस् न यो कुरा । उहाँबाहेकको पनि मेरो होला नि कलाकारिता ! म त अब फेरि जिरो लेभलबाट उठ्नुपर्ने भएको छ ।

मैले त सोच्या थिएँ, रियासाजीलाई बैनी बनाउँछु । उहाँलाई तिहारमा टीका लगाउनुपर्‍यो तपाईं र म भनेर धेरैचोटि भन्या पनि छु । मैले बाटो मोडें भने उहाँले सम्झाउनुहुन्थ्यो । मैले जग्गा किन्दाखेरि पनि उहाँले पैसा हाल्दिनुभएको हो । अहिलेसम्म ऋण तिरेको छैन । उहाँले ‘दाइ तपाईंलाई आवश्यक छ, मलाई ४-५ महिना पैसा नदिनू, जग्गा किन्नू’ भन्नुभएको थियो । नत्र म कसरी जग्गा किन्न सक्थें । उहाँले मलाई दाइ भनेर यति साथ दिनुहुन्थ्यो । नराम्रो बाटोमा लाग्दा सम्झाउनुहुन्थ्यो ।

उहाँले एकपटक फोन गरेर फेरि जोडिउँ भन्नुभयो भने म त यति खुशी भएर ल्याउँछु उहाँलाई । फूलमाला लगाएर स्वागत गर्छु । तहल्का पिट्ने तरिकाले ल्याउँछु । अझै केही बिग्रेको छैन । म बोलाको बोलाइ छु । उहाँलाई स्वागत गर्न आतुर छु, तर उहाँ आइदिनुहुन्न भने मैले के गर्ने ?

‘गाह्रो छ’ अहिले आफ्नै तरिकाले अगाडि बढाइरहेको छु । रियासाजीको दर्शक नआउनुभएको होला । मेरा दर्शक त हुनुहुन्छ नि ! मलाई पनि माया गर्ने दर्शकका लागि मेहनत गरिराख्या छु । मलाई बुझिदिनुस् । मलाई पहिलेको जत्तिको माया दिनुस् । मेरो पनि करिअर छ । मर्ने बेलासम्म पनि भटभटेको डाइलग बोलेर मर्न पाउँ जस्तो लाग्छ ।

पुतली क्यारेक्टरमा अर्को कलाकार ल्याउन मिल्दैन । त्यो क्यारेक्टर उहाँको सम्पत्ति हो । अरु क्यारेक्टर आउला । पुतली सदाको लागि सकिएको छैन । सास रहेसम्म आस रहन्छ । अब चाहिँ उहाँकै हातमा छ, तर उहाँको ठाउँमा कोही आउन सक्दैन ।

अहिले म त अभिभावकविहीन छु । रियासाजी मलाई सल्लाह दिने गर्नुहुन्थ्यो । बहिनी जस्तो लाग्छ । अहिले सल्लाह दिने कोही छैन । आफ्नो कुरामा आफैंंले डिसिजन गर्दै हिँड्छु ।

हाम्रो अहिलेसम्म झगडा पर्‍या छैन । अहिले पनि फोनमा कुरा भइराख्छ । अस्ति भर्खर डेढ घन्टा कुरा भयो । दाइ केही समय पर्खिनु, म व्यवहार मिलाउँछु भन्नुभएको छ । छोरी मान्छेको समस्या छोरा मान्छेले बुझिदिनुपर्छ । म अझै आशावादी छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर