कागजमा संघीयता लेखिए पनि व्यवहारमा लागू हुन सकेको छैन : गगन थापा – Nepal Press

कागजमा संघीयता लेखिए पनि व्यवहारमा लागू हुन सकेको छैन : गगन थापा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कागजमा संघीयता लेखिए पनि व्यवहारमा अझै लागू हुन नसकेको बताएका छन् ।

सोमबार वीरेन्द्रनगरमा आयोजित कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा उनले भने, ‘हामी सही ढङ्गले हिँड्न सकेका छैनौँ । संघले २, ३ लाखका योजनाको काम गरिरहेको छ । त्यही प्रदेशले पनि बनाइरहेको छ । यस्तो कहिलेसम्म ? अब यस्तो अवस्था सुधार्न पर्छ ।’

साथै, उनले कर्णालीमा तथ्यांकमा आधारित रहेर बजेट बनाउनु पर्ने बताएका छन् ।

उनले भने, ‘प्रदेश र स्थानीय सरकारले कर्णालीका जनताले उचित मूल्य पाउने गरेर हाटबजार निर्माण गर्नु पर्छ । यति मात्रै नभएर कर्णाली सरकारले अन्य प्रदेशसँग साझेदारी गर्न आवश्यकता छ । यहाँको मुख्य उत्पादन के हो त्यसमा जोड दिनुपर्छ ।’

यस्तै, महामन्त्री थापाले काँग्रेस पार्टीमा आन्तरिक लडाइँमा समय बित्ने गरेको बताए । कांग्रेसका नेता, कार्यकर्ताहरूको ९० प्रतिशत समय आन्तरिक लडाइँमा नै बित्ने गरेको उनको भनाइ छ ।

‘काँग्रेसभित्र ९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको छ । एउटा अर्कासँग जुधेको छ, अर्को अर्कासँग जुधेको छ । यसरी समय खेर फालेर हुँदैन’, थापाले भने ।

८ लाख सदस्य भएको पार्टीको राजनीतिक सामाजिक संगठन नै नभएकोमा दुःख व्यक्त गरे । उनले बताउँदै यस्तो समस्याहरुको समाधान गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर