मेलम्ची भ्रष्टाचारमा दोषी ठहर पूर्व सचिवसहित ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना – Nepal Press

मेलम्ची भ्रष्टाचारमा दोषी ठहर पूर्व सचिवसहित ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडाैं। मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पुर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई विशेष अदालतले ८ वर्ष १ महिना कैद सजाय सुनाएको छ । विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव ठाकुरसहित ४ जनालाई दोषी ठहर गरेकोमा सोमबार उक्त फैसलामा सजाय निर्धारण गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य द्धय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको विशेष अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।

उनका अनुसार पूर्वसचिव ठाकुरलाई ८ वर्ष एक महिना कैद र १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ जरिवाना गराएको छ भने आयोजनाका तत्कालिन प्रमुख द्धय सूर्यराज कँडेललाई ८ वर्ष १ महिना कैद, १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ जरिवाना, रामचन्द्र देवकोटालाई ८ वर्ष १ महिना कैद र दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ जरिवाना र शिवकुमार शर्मालाई ८ वर्ष कैद हुनुपर्ने भए पनि ज्येष्ठ नागरिक भएकाले २ वर्ष कैद छुट तथा दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ जरिवाना गरिएको छ ।

आयोजनाको विभिन्न प्रकृति र चरणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन ६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

निर्माण र परामर्शदाता ३ कम्पनीसमेत दोषी ठहर हुँदा ११ जनालाई अभियोगबाट सफाइ दिएको थियो । पूर्वसचिव भीम उपाध्यक्ष, सञ्जय शर्मा, बहालवाला सहसचिव रुद्रसिंह तामाङलगायत ११ जनाले सफाइ पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *