रविको धमिलिएको राजनीतिक छवि – Nepal Press

रविको धमिलिएको राजनीतिक छवि

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा रवि लामिछाने दोषी ठहरिएपछि उनको राजनीतिक भविष्य अन्योलग्रस्त बन्न लागेको छ । टेलिभिजनमा धेरै बोलेर गिनिज बुकमा नाम लेखाएपछि चर्चा कमाएका रवि लामिछाने समयान्तरमा भने विवादित र आलोचित बन्दै गएका छन् । विदेशिएका नेपाली युवाका पीडा र समस्यालाई प्रस्तुत गर्दै टेलिभिजनमा ख्याति कमाएका रवि झनपछि झन समस्यामा फस्दै गएका छन् । उनको चर्चा र ख्याति यतिबेला बदनामीमा परिणत हुन थालेको छ ।

नेपाली राजनीतिमा प्रवेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पहिलो मन्त्रीकालमा नागरिकता र राहदानीको गम्भीर कसुरमा दोषी ठहरिएपछि उनको पद नै खारेज भएको थियो ।

त्यसअघि वि.सं २०७६ मा टेलिभिजनमा कार्यरत पूर्वसहकर्मी शालिकराम पुडासैनी हत्या आरोपमा केही समय थुनामा परे । यद्यपि उनले सो आरोपमा अदालतबाटै सफाइ पाएपछि अन्ततः राजनीतिमा होमिए । राजनीतिमा आएपछि आफ्नै ड्राइभरले छतबाट हामफाल्दा भने उनका बारेमा त्यति धेरै प्रश्न उठेन । आफ्नै पार्टीका सांसद घूस प्रकरणमा मुछिनु, पार्टीका महासचिवले नै उनीमाथि विभिन्न आरोप लगाएर छानबिनको माग गर्नु र सहकारी प्रकरणमा दोषी देखिनुले रवि शंकास्पद र विवादित प्रवृत्तिका भएको आशंका हुन्छ ।

उनी आफैं एकपछि अर्को गर्दै विवादमा फस्दै गएपछि उनको राजनीतिक भविष्य संकटमा परेको हो । नेपाली राजनीतिमा लामिछानेको आगमन र बहिर्गमन हेर्दा उनमा अपरिपक्वता, लहडीपना, फगत मनोगत महत्वाकांक्षा पाइन्छ ।

मूलतः सञ्चारकर्मीका रुपमा कार्यरत रवि लामिछाने खाडी मुलुकमा दुःख पाएका नेपालीहरूको विषय उठान र राजनीतिक बेथितिमाथि खरो रुपमा उत्रिएपछि निकै चर्चित भएका हुन् । त्यही कार्यक्रमबाट उनले नाम र दाम दुबै कमाउन सफल भएका हुन्, तर उनी कालान्तरमा एकपछि अर्को झमेलामा फस्दै गएका छन् । आफ्नै पार्टीका महासचिव मुकुल ढकालले उनीमाथि दोहोरो नागरिकता प्रयोग र सहकारी रकम दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् । आखिर किन रवि लामिछाने पटकपटक विवादमा फसिरहन्छन् ? नेपाली राजनीतिलाई उनले दुरुपयोग गर्न खोज्दैछन् कि उनी फगत स्टन्टबाज हुन् ? गम्भीर विश्लेषण गर्नुपर्ने भएको छ ।

रवि लामिछाने यतिखेर सहकारी मुद्दामा गम्भीर नैतिक प्रश्नको घेरामा परेका छन् । हुन त यस्ता मुद्दाहरु विगतमा पनि उनले पटकपटक भोग्दै आएका हुन् । विगत र हालको विषयमा उनलाई कसैले फसाएको देखिँदैन । उनीविरुद्ध कसैले षड्यन्त्र गरेको पनि पाइँदैन । उनी आफैं एकपछि अर्को गर्दै विवादमा फस्दै गएपछि उनको राजनीतिक भविष्य संकटमा परेको हो । नेपाली राजनीतिमा लामिछानेको आगमन र बहिर्गमन हेर्दा उनमा अपरिपक्वता, लहडीपना, फगत मनोगत महत्वाकांक्षा पाइन्छ । उनी राजनीतिक क्षमता र आफ्नो मनोगत महत्वाकांक्षाबीचको अन्तरविरोधमा अडकिएका देखिन्छन् ।

सञ्चारकर्मी रहँदा रविले नेता र राजनीतिक दलको चर्को आलोचना गरे । तमाम बेथितिहरुको भण्डाफोर पनि गरे । भ्रष्टाचार र अनियमितताविरुद्ध बोलेर लोकप्रियता पनि प्राप्त गरे । सुशासन कायम गर्ने अठोट, भ्रष्टाचारको जरो उखेल्ने प्रतिबद्धता र राजनीतिको फोहोर सफा गर्ने दृढताले वाहवाही पनि पाए । फलस्वरुप पार्टी खोलेको ६ महिनामै विशाल जनमत बटुल्न पनि सफल भए, तर त्यो लोकप्रियता, त्यो जनमत उनकै शंकास्पद व्यवहार र गतिविधिका कारण बालुवाको घर जस्तै बन्न लागेको छ ।

सुशासन कायम गर्ने अठोट, भ्रष्टाचारको जरो उखेल्ने प्रतिबद्धता र राजनीतिको फोहोर सफा गर्ने दृढताले वाहवाही पनि पाए । फलस्वरुप पार्टी खोलेको ६ महिनामै विशाल जनमत बटुल्न पनि सफल भए, तर त्यो लोकप्रियता, त्यो जनमत उनकै शंकास्पद व्यवहार र गतिविधिका कारण बालुवाको घर जस्तै बन्न लागेको छ ।

विगतमा रवि लामिछानेले आफ्नो पुरानै नागरिकता देखाएर राष्ट्रिय स्वतन्त्र पार्टी नामको नयाँ पार्टी दर्ता गरे । देशमा व्याप्त राजनीतिक र प्रशासनिक बेथिति अन्त्य गर्न आफू राजनीतिमा आएको दाबी गर्ने उनले देशको संविधान, कानून र नियमको उलङ्घन गरेर नै आफ्नो उम्मेदवारी दिए । पुराना राजनीतिक दलहरूको कमजोरीको परिणामस्वरूप उनले लहलहैको लोकप्रियतामा चुनाव जितेर दुई पटक गृहमन्त्री पनि बन्न सफल भए । टेलिभिजनको पर्दा अगाडि बसेर देशमा मौलाएको बेथितिबारे सरकार, राजनीतिक दल र कर्मचारी प्रशासनमाथि ठूल्ठूला स्वरमा प्रश्न गर्ने उनले कानूनको सामान्य प्रक्रियालाई नजरअन्दाज गर्दा राजनीतिमा आएको छोटो समयमै उनलाई ठूलो धक्का लागेपछि सबै राजकीय पद गुमाएका थिए ।

त्यसो त रवि लामिछाने यतिखेर सक्रिय राजनीतिमै छन् । उनले स्थापना गरेको पार्टीले छोटो समयमै उच्चतम लोकप्रियता पायो, तर त्यस लोकप्रियता र जनताको भरोसालाई भने उनले दिगो रुपमा टिकाइराख्ने अवस्था भने देखिँदैन । जनताको आशा र भरोसा निराशा र शंकामा बदलिन थालेको छ । मूल राजनीतिमा आएर पार्टीको अध्यक्ष भइरहँदा र मुलुकको सार्वजनिक सम्मानित पदमा रहँदासमेत उनले पत्रकार भएर टेलिभिजनमा बोल्दाको धङधङी हटाउन भने अझै सकेका छैनन् । उनका कमजोरी र गल्तीहरुले उनी असफल राजनीतिक खेलाडी भएको सङ्केत गर्दछन् ।

आफ्नै पार्टीका महासचिव मुकुल ढकालले उठाएका तमाम सवालबारे पार्टीमा व्यापक छलफल र चिन्तनमनन हुनुपर्थ्यो । दोहोरो नागरिकता र सहकारी अपचलनबारे पार्टीमा छलफलको एजेण्डा बन्नुपर्थ्यो, तर त्यसो हुन सकेन । बरु उल्टै पार्टीभित्र तमाम समस्या छन् भन्ने ढकाल नै कारबाहीमा परे ।

विगतदेखि अहिलेसम्म रविले अञ्जानबस भन्दै नेपालको कानून र नियमविपरीत गम्भीर त्रुटि गर्दै आएका छन् । सहकारी प्रकरणमा पनि उनले त्यही गरेका छन् । उनका यस्ता त्रुटिहरुलाई सामान्य रुपमा लिन सकिँदैन । उनले अञ्जानबस यसो गरेका पनि छैनन् । कानून, नियम र विधिका बारेमा दुनियाँलाई प्रश्न गर्नसक्ने एउटा चर्चित पत्रकारले नेपालको कानूनको बारेमा मलाई जानकारी भएन भन्नु कत्ति पनि पत्याउन सकिने कुरो होइन ।

उता आफ्नै पार्टीका महासचिव मुकुल ढकालले उठाएका तमाम सवालबारे पार्टीमा व्यापक छलफल र चिन्तनमनन हुनुपर्थ्यो । दोहोरो नागरिकता र सहकारी अपचलनबारे पार्टीमा छलफलको एजेण्डा बन्नुपर्थ्यो, तर त्यसो हुन सकेन । बरु उल्टै पार्टीभित्र तमाम समस्या छन् भन्ने ढकाल नै कारबाहीमा परे । यो लोकतान्त्रिक आचरण र व्यवहार होइन ।

पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो टेप सार्वजनिक भएपछि सांसद ढाकाकुमार कारबाहीमा परे, तर उनको अडियो टेपलयागतका यस्ता अनेकौं प्रवृत्तिबारे उनको पार्टीमा कुनै छलफल र चिन्तन भएन । मुकुल ढकालको प्रतिवेदनबारे पार्टीमा न कुनै एजेण्डा बन्यो न त प्रश्न उठाउने हिम्मत नै कसैले गर्न सक्यो । यसबाट रवि लामिछानेले पार्टीभित्र अलोकतान्त्रिक तरिकाले एकछत्र राज गरिरहेको र उनी फगत महत्वाकांक्षा र स्वार्थको राजनीतिमा केन्द्रित रहेको पुष्टि हुन्छ ।

देशमा व्याप्त राजनीतिक र प्रशासनिक बेथिति अन्त्य गर्न उनको सञ्चार कर्मको भूमिका महत्वपूर्ण छ । विदेशिएका नेपाली युवाका पीडा र समस्याको समाधानमा उनले खेलेको भूमिका उल्लेख्य छ, तर नेपाली राजनीतिको क्षेत्रमा भने उनी कच्चा र लहडी देखिन्छन् ।

रविको बोली र विवादित छविको कारणमात्रै होइन, सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टीसमेत चारैतिरबाट आलोचित बन्दै गएको छ । उनी आफ्नै पार्टीभित्र पनि निरन्तर एक्लिँदै जान थालेका छन् । रविको विगतको चर्चित छवि र ‘क्रेज’ निरन्तर ऋणात्मक बन्दै शंकास्पद व्यक्तिमा परिणत हुँदै गएको छ । यतिबेला रविको राष्ट्रिय स्वतन्त्र पार्टी पंक्तिले रवि लामिछानेकै विकल्प सोच्नुपर्ने अवस्था आएको छ । सायद उनी केही समय पार्टी सभापतिबाट बाहिरिनुपर्ने अवस्था छ, तर पनि उनको स्वर भने चर्कै हुने गरेको छ । यो अझ गम्भीर रहस्यमय विषय हो ।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ दल त खोले, तर पुराना अन्य दल र रविको पार्टीमा भने कुनै तात्विक भिन्नता प्रमाणित गर्न भने सकेका छैनन् । रविको स्वतन्त्र पार्टीमा न कुनै खास राजनीतिक एजेण्डा र कार्यक्रम पाइन्छ न त कुनै सिद्धान्त र दर्शन नै । पुराना पार्टीहरुलाई गाली गर्ने, विरोध गर्ने र हामी फरक हौं भन्नेबाहेक व्यावहारिक रुपमा रवि लामिछाने र उनको पार्टीको न कुनै स्पष्ट भिजन देखिन्छ न त दर्शन र व्यवहार नै ।

अन्त्यमा, रवि लामिछाने एक कुशल र सक्रिय सञ्चारकर्मी हुन् । देशमा व्याप्त राजनीतिक र प्रशासनिक बेथिति अन्त्य गर्न उनको सञ्चार कर्मको भूमिका महत्वपूर्ण छ । विदेशिएका नेपाली युवाका पीडा र समस्याको समाधानमा उनले खेलेको भूमिका उल्लेख्य छ, तर नेपाली राजनीतिको क्षेत्रमा भने उनी कच्चा र लहडी देखिन्छन् । उनमा अपरिपक्वता, लहडीपना, फगत मनोगत महत्वाकांक्षा भेटिन्छ । आफ्नो शंकास्पद व्यवहार र गतिविधिका कारण उनको छवि नराम्रोसँग धमिलिएको छ । राजनीतिक क्षमता र आफ्नो मनोगत महत्वाकांक्षाबीचको अन्तरविरोधमा अड्किएका रवि लामिछानेले धमिलिएको आफ्नो राजनीतिक छवि सफा नगर्दासम्म उनको राजनीतिक यात्रा झन् जटिल बन्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *