ऋणको ब्याजदर सस्तिएपछि महँगो सुन धितोमा कर्जा लिने बढे – Nepal Press

ऋणको ब्याजदर सस्तिएपछि महँगो सुन धितोमा कर्जा लिने बढे

काठमाडौं । पछिल्लो समय सुनको मूल्यले दिनहुँजसो ऐतिहासिक रेकर्ड बनाउँदै आएको छ । मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदी महँगिएसँगै धितो राखेर कर्जा लिनेहरु पनि बढ्न थालेका छन् ।

चालू आर्थिक वर्षको साउनसम्ममा सुनचाँदी धितोमा ६० अर्ब २१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत महिनासम्म ५८ अर्ब ४८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । राष्ट्र बैंकका अनुसार एक महिनामा सुनचाँदी धितो राखेर १ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ५५ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । आव २०७८/०७९ मा ५२ अर्ब ७८ करोड १० लाख रुपैयाँ भएको थियो भने २०७७/०७८ मा ४३ अर्ब ११ करोड १० लाख रुपैयाँ सुनचाँदी धितोको कर्जा प्रवाह भएको थियो ।

गत वर्ष २ अर्ब ९५ करोड ५० लाख रुपैयाँ सुन धितोको कर्जा प्रवाह भएको थियो, तर यो आर्थिक वर्ष २०८१/०८२ को साउनमा मात्रै करिब २ अर्ब सुनचाँदी धितोको कर्जा प्रवाह भएको छ ।

बैंकहरुले सुनचाँदी धितोमा कर्जा प्रवाह गर्दा यसको प्रचलित मूल्यलाई आधार मान्ने गरेका छन् । यसकारण सुनचाँदीको मूल्य बढेअनुसार मूल्यांकन र कर्जा प्रवाह बढ्ने बैंकर्सहरु बताउँछन् ।

सुनचाँदी धितोमा सरकारी बैंकको विश्वास बढी

सुनचाँदी धितोलाई सबैभन्दा बढी विश्वास सरकारी बैंक नेपाल बैंकले गरेको देखिन्छ । यसैकारण उक्त धितोमा नेपाल बैंकले सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ । दोस्रो पनि सरकारीकै राष्ट्रिय वाणिज्य बैंक रहेको छ, तर कृषि विकास बैंकले भने सुनचाँदी धितोमा अत्यन्त न्यून कर्जा प्रवाह गरेको छ ।

चालू आर्थिक वर्षको साउनसम्ममा नेपाल बैंकले २३ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

यस्तै प्राइम कमर्सियल बैंकले ६ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सिटिजन्सले ७० करोड, नबिलले ५१ करोड ५० लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ८१ करोड ८० लाख रुपैयाँ कर्जा सुनचाँदी धितोमा प्रवाह गरेका छन् ।

एनआईसी एशियाले ३ करोड २० लाख, माछापुच्छ्रे बैंकले १२ करोड ९० लाख, कुमारी बैंकले २० लाख, लक्ष्मी सनराइजले ६ करोड ८६ लाख, सिद्धार्थ बैंकले १ करोड २० लाख रुपैयाँ कर्जा सुनचाँदी धितोमा प्रवाह गरेका छन् । कृषि विकास बैंकले १ करोड ८० लाख कर्जा प्रवाह गर्दा एनएमबीले ६९ हजार रुपैयाँमात्र सुनचाँदी धितोमा कर्जा प्रवाह गरेको छ । प्रभुले ७ करोड ९० लाख र सानिमाले ८५ हजार रुपैयाँमात्र सुनचाँदी धितोको कर्जा प्रवाह गरेका छन् ।

सुनचाँदी धितोलाई ५ वटा बैंकले गरेनन् विश्वास

हालसम्म ५ वटा वाणिज्य बैंकले सुनचाँदी धितो राखेर कुनै पनि कर्जा प्रवाह गरेका छैनन् । स्ट्यान्डर्ड चार्टड, हिमालयन, नेपाल एसबीआई, एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकले सुनचाँदी धितोमा हालसम्म कुनै पनि कर्जा प्रवाह गरेका छैनन् ।

पछिल्लो समय ऋणको ब्याजदर सस्तो हुँदै गएको छ । सस्तो ब्याजदरमा ऋण पाउने भएपछि महँगिएको सुनचाँदीलाई नै धितो राखेर ऋण लिनेहरु बढेको राष्ट्र बैंकले जनाएको छ ।

विश्व बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेकाले पनि सुनचाँदीमा लगानी खेर नजाने र कर्जा पनि सुरक्षित हुने विश्वास बैंकहरूको छ । घरजग्गा जस्तै सुनचाँदी धितो पनि पछिल्लो समय भरपर्दो धितो मानिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *