कांग्रेसको १०० दिने अभियानको लक्ष्य- संगठन सक्रिय बनाउने, एमालेसँगको सहमतिलाई ग्रासरूटसम्म पुर्‍याउने – Nepal Press

कांग्रेसको १०० दिने अभियानको लक्ष्य- संगठन सक्रिय बनाउने, एमालेसँगको सहमतिलाई ग्रासरूटसम्म पुर्‍याउने

काठमाडौं । नेपाली कांग्रेसले १०० दिने संगठन सुदृढीकरण अभियानका लागि प्रतिनिधिहरुलाई जिल्ला तहमा खटाएको छ । पुस १६ सम्म चल्ले अभियानका लागि पार्टीका प्रतिनिधि जिल्ला जिल्लामा पुगिसकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

पार्टी कार्यालयमा आएर सबै प्रतिनिधिहरूले पत्र बुझेर कार्यक्षेत्रमा गइसकेको उनले बताए ।

उनले भने, ‘सबै जिल्लाका लागि केन्द्रीय प्रतिनिधिको टुंगो लागेर आआफ्नो ठाउँमा खटिसक्नुभएको छ । टाढा हुनेहरु कोही जाँदै हुनुहन्छ । यहाँ आउन समय लाग्नेहरुलाई हामीले पत्र यतैबाट पठाइसकेका छौं ।’

कांग्रेसको आन्तरिक संगठन सदृढ, गतिशील बनाउने अभियानको मुख्य लक्ष्य भएको बताए ।

उनले थपे, ‘पार्टीभित्र आठ ओटा संरचना छ । ती संरचनाहरुले विधानत काम गरे नगरेको हेर्ने, क्रियाशील सदस्यता नविकरण, वितरण, क्रियाशिल कार्ड वितरणबारेमा अनुगमन गर्छ । त्यसलाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक छ ।’

पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका नेताहरुका बीचमा समन्वयनको अभाव देखिएको अभियानले त्यसलाई चिर्ने विश्वास लिएको बताए । अभियानले पार्टी संगठनलाई जिवन्त र गतिशिल बनाउने मुल उद्देश्यका साथ तय गरिएको उनको भनाइ छ ।

अभियानको क्रममा एमालेसँग भएको सहमतिको बिषयलाई पनि ग्रासरुटसम्म पुर्याउने बताए ।

पौडेलले थपे, ‘एमालेसँग भएको सात बुँदे सहमति र त्यही अनुसार बनेको न्यूनतम साझा कार्यक्रमको विषयमा पनि ग्रासरुटसम्म पुर्याउँछ । एमालेसँगको सहकार्य र अहिलेको आवश्यकताको बिषयमा पनि हाम्रा प्रनिनिधिहरुले प्रष्ट पार्नुहुन्छ ।’

प्रतिनिधिलाई कांग्रेसले असोज २ गते पार्टी कार्यालय सानेपामा बोलाएर प्रशिक्षण पनि दिएको थियो । प्रतिनिधिहरुलाई महामन्त्री गगन थापाले अभियानमा खटिनेको जिम्मेवारीबारे जानकारी गराएका थिए । अभियान टुंग्याएर फर्किँदा सबै प्रतिनिधिहरुले आआफ्नो क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार पारेर पार्टी कार्यालयमा बुझाउन समेत निर्देशन दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर