सम्बन्ध विच्छेदका लागि श्रीमतीको चरित्र हत्या, फोटो प्रिन्ट गरेर टोलभरि बाँडे चार्टर्ड एकाउन्टेन्टले – Nepal Press

सम्बन्ध विच्छेदका लागि श्रीमतीको चरित्र हत्या, फोटो प्रिन्ट गरेर टोलभरि बाँडे चार्टर्ड एकाउन्टेन्टले

चितवन । भरतपुरका एक व्यक्तिले श्रीमतीसँग पारपाचुके गर्न उनकाे चरित्र हत्या गर्ने प्रयास गरेका छन् । चितवनको भरतपुर २, आँपटारी घर भएका शिवहरि सिलवालले श्रीमती अष्ट्रेलियामा रहँदा साथीहरूसँग घुम्न जाँदा खिचेको फोटो प्रिन्ट गरेर बुकलेट बनाई टोल-छिमेकमा बाँडेका हुन् ।

चितवनमा स्थायी बसोबास र यहाँकै एक अस्पतालमा काम गर्ने भए पनि सिलवालले काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ मा अस्थायी बसोबास गरेको वडाबाट सिफारिस बनाएका छन् । त्यही कागज राखेर उनले श्रीमती ज्योतिसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन् ।

नेपालमा विद्यमान कानूनले श्रीमतीलाई अंश नदिई सम्बन्ध विच्छेदको लागि उनको चरित्र पतनकाे प्रमाण पेश गर्नुपर्नेलगायत व्यवस्था छ । गत जेठमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका सिलवालले श्रीमती र अर्को पुरुषको फोटो प्रिन्ट गरेर टोल, छिमेक, आमा समूह, चोकमा रहेको किराना पसलमा बाँडेका थिए । श्रीमानको उक्त कार्यपछि श्रीमतीले आफ्नो चरित्र हत्या गरेको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।

उनको निवेदनपछि विद्युतीय कारोबार ऐन २०६३ विरुद्धको कसुर गरेको भनी जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । १५ दिनपछि जिल्ला अदालत चितवनका न्यायाधीश ध्रुवकुमार ढकालको इजलासले शिवहरीलाई आइतबार एक लाख रूपैयाँ धरौटीमा छोडेको छ । अदालतको आदेशमा इमेलमार्फत आफूले नराम्रो म्यासेज पठाएको तर, चरित्रहत्या नगरेको भनी शिवले बयानमा दाबी गरेको उल्लेख गरिएको छ ।

शिव चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका चार्टर्ड अकाउन्टेन्ट हुन् । उनले आफ्नो पहुँचकाे प्रयोग गरी बस्दै नबसेको काठमाडौंबाट सिफारिस लिएर आफू घरमै रहँदा सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेको श्रीमतीको दाबी छ ।

छोराबुहारीको सम्बन्ध तोडाउन सासूले गर्थिन् दिनहुँ पुतलाको पूजा

ज्योति र शिवहरिको विवाह सम्बन्ध बेमेलमा परिणत हुनुको कारण भने जात रहेको खुलेको छ । ज्योति क्षेत्री परिवारकी हुन् भने शिवहरि ब्राह्मण । करिब ८ वर्षको प्रेम सम्बन्धपछि विवाह गर्ने निधो हुँदा सासूले ज्योतिसँग जात साेधेकी थिइन् ।

‘त्यतिबेला नै मैले बरु विवाह गर्दिनँ, तर  जात ढाँट्न चाहिँ सक्दिनँ भनेको थिएँ’, ज्योतिले नेपाल प्रेससँग भनिन्, ‘शिवहरिले आमाको कुरा नसुनी मलाई हेरेर विवाह गर भने, मैले त्यही कुरामा विश्वास गरें ।’

ज्योति विवाह अघिदेखि नै अष्ट्रेलिया बसोबास गर्थिन् । शिवहरि अष्ट्रेलिया आउजाउ गर्थे । दुवैजना आउजाउ गरिरहे पनि अघिल्लो वर्षको दसैँअघि भने ज्योति नेपाल नै बस्ने तयारी गरेर आएकी थिइन् ।

‘श्रीमानले यहाँ राम्रो कमाइ छ, सँगै बस्नुपर्छ भनेर आएकी थिएँ, तर क्षेत्रीको छोरी भनेर भान्छामा नै छिर्न नपाउने भएँ । कतिसम्म भने मैले पानी भरेर खानसमेत नपाउने अवस्था आयो’, ज्योतिले भनिन् ।

सासू-ससुरा घर नभएका बेला किचन सफा गर्दा एउटा पुतला भेटेपछि खङ्ग्रङ भएको उनी सुनाउँछिन् । ज्योति र शिवहरिको पासपोर्ट साइजको फोटो, शिवहरिले खाने चुरोट र गाँजाको प्याकेटसहित रातो र सेतो कपडामा बेरेर नियमित पूजा गरेको उनले भेटेपछि प्रश्न गर्दा विवाह गरेदेखि नै छुटाउन आफूले पूजा लगाएको सासूले बताइन् ।

श्रीमानको घरमा बस्न नसक्ने भएपछि पुनः अष्ट्रेलिया फर्किएकी ज्याेति तीन महिनाअघि नेपाल आएकी थिइन् । नेपाल फर्किएपछि भने शिवहरिले कुटपिट गर्न थालेको उनले बताइन् ।

जेठ महिनामा सम्बन्ध विच्छेदको मुद्दा हालेपछि श्रीमानले कुटपिट गरेर घरबाट निस्किन दबाब दिए पनि आफ्नो कुनै कसुर नभएको भन्दै ज्योति सोही घरमा बस्दै आएकी थिइन्, तर फोटो नै छपाएर श्रीमानले चरित्र हत्या गरेपछि भने उनी प्रहरीको शरणमा पुगिन् ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजालले ज्योतिका श्रीमानले चरित्र हत्या प्रयासका साथै घरेलु हिंसासमेत गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर