राजनीतिक नेतृत्व इमानदार भए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य – Nepal Press

राजनीतिक नेतृत्व इमानदार भए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्व इमानदार हुनुपर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार बुटवल उपमहानगरपालिकामा आयोजना गरेको सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना मस्यौदामाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजनीतिक नेतृत्व इमानदार भए सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताएका हुन् ।

‘राजनीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ । नियत बेठीक छैन भने व्युरोक्र्याटले पनि साथ दिन्छ । मैले साथ पाइरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ’, उनले भने, ‘राजनीतिक नेतृत्वमा समस्या छन् । सबै कुरा सच्च्याएर सुधारेर लैजान सकिन्छ । त्यो आँट छ । त्यो आँटका साथ प्रदेश सरकार अघि बढिरहेको छ ।’

आफू नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न केही गरेर देखाउन खोजेको उनले बताए ।

‘हामी केही गरेर देखाउन सक्छौं । बनाउने जिम्मेवारी तपाईं हाम्रैहो । जिम्मेवारी बोकेर आएपछि पूरा गर्नुपर्छ’, मुख्यमन्त्री आचार्यले भने, ‘यो मुलुक बनाउन बाहिरबाट कोही आउँदैन, जो हामी जिम्मेवारीमा छौं, उसैले नेतृत्व गरेर राम्रो काम गर्नतर्फ भूमिका बढाउनुपर्छ ।’

उनले सुशासन कायम गर्न आफैंबाट सुरु गरेको घोषणा गरेका छन् । ‘मुख्यमन्त्रीबाट हटेपछि पाउने सुविधा लिनेछैन र अरुलाई पनि नदिनेगरी निर्णय गरेको छु । पूर्वमुख्यमन्त्री र पूर्वसभामुखले गाडी तथा सेवा सुविधा फिर्ता गरिसकेका छन् । मुख्यमन्त्री पदबाट हटेपछि पूर्वविशिष्ट व्यक्तिको नाममा कुनै सुविधा लिनेछैन भनेर निर्णय गरेको छु’, उनले भने ।

प्रमुख सचिव महादेव पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गुल्मी, पाल्पा, अर्घखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायत सरोकारवाला पक्षको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर