श्रीलंकामा अनुराको अभ्युदय: सशस्त्र युद्ध गरेकाे दलकाे नेतृत्वदेखि राष्ट्रपतिसम्म
काठमाडौं । चुनाव जित्नुहुन्छ त ? यो सवाल सेप्टेम्बर २१ मा चुनाव हुनुभन्दा अगाडि पत्रकारहरुले सोध्ने प्रश्न थियो । जुन प्रश्नमा श्रीलंकाका राष्ट्रपति उम्मेदवार अनुरा कुमारा दिसानायकेले जवाफ दिन्थे, ‘शत प्रतिशत ।’
अन्ततः उनको दाबी, दाबीमात्रै भएन, सत्य भयो । सत्य भएकैले उनको चर्चा गर्दा विभिन्न मिडियाले यो कोट लिने गरेका छन् । जस्तैः एक दिन अगाडि भारतीय अखबार दि हिन्दूले यही कोट लिएर आफ्नो कन्टेन्ट सुरु गरेको छ ।
अनुराले चुनाव जितेर धेरैलाई चकित बनाए । ५५ वर्षका अनुराको कम्पास चुनाव चिह्नबाट भएको विजयसँगै उनको चर्चा सुरु भएको छ । यो चर्चा विश्वभर छ । उनै अनुराका सात रोचक सवाल यहाँ प्रस्तुत छः
१. वंशज सत्ता ढालेर आएका आउटसाइडर
शनिबार भएको राष्ट्रपति चुनावमा उठेका मुख्य उम्मेदवारहरुमा तीन जना वंशजकै प्रतिनिधि थिए । वर्तमान राष्ट्रपति ७५ वर्षका रनिल विक्रमासिंगे पूर्वराष्ट्रपति जेआर जयबर्दनेका भतिजा हुन् । ५७ वर्षका उम्मेदवार सजिथ प्रेमादशा पूर्वराष्ट्रपति रनसिंगे प्रेमादशाका छोरा हुन् । ३८ वर्षका नमल राजापाक्षे पूर्वप्रधानमन्त्री तथा राष्ट्रपति भइसकेका महिन्दा राजापाक्षेका छोरा तथा पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेका भतिजा हुन् ।
यी सबैलाई पाखा लगाएर विजय भए अनुरा । त्यही भएर उनको चर्चा विश्वभर छ । उनी आउटसाइडर भएर विजय भएको सवाल बेलायती विश्व च्यानल बीबीसीले पनि उल्लेख गरेको छ । समाचारमा भनिएको छ, ‘श्रीलंकाको सामान्य अवस्थामा यो चुनावी जीत आएको भए, यसलाई राजनीतिक भूकम्प भनिने थियो ।’
आउटसाइडरको रुपमा चित्रण गरेर जापानी मिडिया निक्कीएसियाले समाचार शीर्षक बनाएको छ, ‘श्रीलंकाले अस्वीकार गरे राजनीतिक वंश, ल्याए आउटसाइडर वामपन्थी’ ।
२. श्रीलंकाका मात्रै होइन, दक्षिण एसियाका प्रथम जननिर्वाचित कम्युनिष्ट राष्ट्रपति
अनुराको चुनावी विजय उनको दल जनमुक्ति मोर्चा (जेभीपी) र उनको राष्ट्रिय जनशक्ति गठबन्धन (एनपीपी)को मात्रै विजय होइन, कम्युनिष्ट कित्ताको विचारमा रमाउनेहरुको पनि विजय हो ।
भारतका ईएमएस नामोदरिपदले दक्षिण एसियाको पहिलो जननिर्वाचित मुख्यमन्त्री बन्ने मौका सन् १९५७ मा दक्षिण भारतका केरेलाबाट पाएका थिए । २०५१ मंसिरमा पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बन्ने मौका नेपालका मनमोहन अधिकारीले पाएका थिए ।
ठीक त्यसैगरी अनुराले दक्षिण एसियाको पहिलो जननिर्वाचित कम्युनिष्ट राष्ट्रपति हुने मौका पाएका छन् । यो कुरामा धेरै कम्युनिष्ट खुशी छन् । जस्तो पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनले सामाजिक सञ्जालमा चुनाव जितेकोमा अनुरालाई बधाई दिए । मार्क्सवादीलाई जिताएकोमा श्रीलंकाली जनतालाई ‘सलाम’ गरे । प्रचण्डले लेखेका छन्, ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म त सलाम गर्छु ।’
३. अघिल्लो चुनावमा गुमनाम, यो चुनावमा धुमधाम
सन् २०१९ को राष्ट्रपति चुनावमा पनि उठेका थिए अनुरा, तर हारे । तीन प्रतिशतभन्दा केही बढी मत ल्याएका उनको मत संख्या पाँच लाख पुगेको थिएन । उनको राजनीतिक सभामा देखिएको माहोल मतपत्रमा नपुगेको भारतीय अखबार दि हिन्दूले लेखेको छ ।
सन् २०२२ जुलाईमा तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षेले देश छोेडेर भाग्ने तहको सडक आन्दोलनमा जोडिएका एक नेता अनुरा पनि थिए । उनको दल पनि थियो । उनले भ्रष्टाचार, पारदर्शिता र जनजीविकाका मुद्दामा जोड दिँदै आएका छन् । त्यही बलिया मुद्दा र ठूलो गठबन्धनको कारणले जनताले उनलाई पत्याए ।
शनिबारको चुनावमा उनले ५७ लाख बढी मत ल्याएर राष्ट्रपति निर्वाचित भए । योसँगै उनको नयाँ राजनीतिक जीवन सुरु भएको छ । गत चुनावमा राष्ट्रिय हेडलाइन बन्न हम्मेहम्मे भएका उनी अहिले विश्व हेडलाइन बन्दैछन् ।
४. सदन, सरकार र गठबन्धनका जानकार
अनुरासँग गठबन्धन र सरकारबारे दुवै अनुभव छ । उनको गठबन्धनको श्रीलंकाको २२५ सदस्यीय संसदमा ३ सीट छ । उनले मन्त्री बन्ने पनि अनुभव लिइसकेका छन् । सन् २००० मा सांसद भएका उनी सन् २००४ मा कृषि, पशुपंक्षी, भू तथा सिंचाइमन्त्री भएका थिए ।
तत्कालीन राष्ट्रपति चन्द्रिका कुमारातुङ्गाको सरकार हुँदाको गठबन्धनमा जोडिएर उनी मन्त्री भएका थिए । सन् २००४ को राष्ट्रपतीय चुनावमा राजापाक्षेहरुको गठबन्धनमा उनी लागेका थिए ।
चुनाव जितेर पनि घमण्डपना देखिएन अनुरामा । उनले चुनावमा आफ्नो जीतन भएर सबैको भएको बताए । बेलायती समाचार पोर्टल दि इन्डिपेन्डेन्टका अनुसार अनुराले भनेका थिए, ‘मैले जानेका कुरा छन् । मैले नजानेका कुरा छन्, तर म उत्कृष्ट सल्लाह लिएर उत्कृष्ट गर्न प्रयत्न गर्नेछु । त्यसको लागि मलाई सबैको साथ चाहिएको छ ।’
सन् २०२२ मा आर्थिक संकटको कारण श्रीलंकामा भएको तनाव र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग झण्डै ३ अर्ब डलरको बेलआउट लिने कुरा चलिरहेको समयमा अनुराको यो भनाइ आएको हो ।
५. सशस्त्र युद्ध गरेर शान्तिपूर्ण राजनीतिमा आएको दलमा आवद्ध
सन् १९६८ नोभेम्बर २४ मा जन्मिएका अनुरा राजनीतिक गतिविधिमा सन् १९८७ मा जोडिएका थिए । विद्यार्थी नेताका रुपमा जोडिएका उनी आफ्नो दल जेभीपीमा सन् १९९१ बाट सक्रिय भएका थिए । सन् १९९७ मा उनी दलको केन्द्रीय सदस्य भए । सन् २००८ मा उनी दलको नेतृत्वमा पुगे ।
पछिल्लो समयमा सन् २०१४ फेब्रुअरी २ मा भएको जेभीपीको १७औं महाधिवेशनबाट पार्टीको प्रमुख भएका थिए । जेभीपी सशस्त्र युद्ध गरेको दल हो । सन् १९७१ र सन् १९८७ मा किस्ताकिस्तामा सशस्त्र युद्ध गरेको जेभीपी ८० हजारको ज्यान गएपछि युद्ध छोडेर शान्तिपूर्ण राजनीतिमा आएको हो ।
जेभीपीको सशस्त्र कालमा अनुरा शान्तिपूर्ण विद्यार्थी राजनीतिमा थिए । दल पनि शान्तिपूर्ण आन्दोलनमा आएपछि जोडिएका उनले दललाई राष्ट्रपति भवनसम्म लान सफलता दिलाए । उनी सशस्त्र युद्धको विपक्षमा थिए । सन् २०१४ मा बीबीसीसँग उनले भनेका थिए, ‘सशस्त्र युद्धमा धेरै कुरा भए, जुन हुनु हुन्थेन ।’
६. वामपन्थी राजनीतिमा आउँदा भिक्षुलाई फकाउन संविधानको धारा ९ को प्रतिबद्धता
वामपन्थी उम्मेदवार भएकाले धार्मिक समुदायले मत नदिने भन्ने भय थियो । खासगरी भिक्षुहरुबाट । उनले यसबाट जोगिन सुरुमै भिक्षुहरुलाई आश्वासन दिए । श्रीलंकाको संविधानको धारा ९ लाई संशोधन नगर्ने बताए । उक्त धारामा बौद्ध धर्मलाई अग्र स्थान दिइएको छ ।
७. भारत र तमिलसँगको सम्बन्ध
भारतीय अखबार हिन्दूस्तान टाइम्सले अनुरालाई तमिलको विपक्षमा भएको चित्रित गरेको छ । अनुराले तमिल समुदायलाई गरेको सम्बोधनलाई उद्धृत गरेर हिन्दूस्तान टाइम्सले लेखेको छ, ‘यो परिर्वतनको सरोकारवाला बन्नुहोस् । जतिबेला दक्षिण परिवर्तनको लागि लागिपरेको छ, त्यहीबेला तपाईंले त्यो परिवर्तनको विपक्षमा लागेको देखिएमा दक्षिणको सोचाइ कस्तो बन्ला ? जाफ्नालाई परिवर्तनविरोधी भनेर चित्रित गरिएमा तपाईंलाई राम्रो लाग्छ ? उत्तर परिवर्तनको विपक्षमा भयो भन्दा तपाईंलाई राम्रो लाग्छ ?’
तमिल विद्रोहीसँग कुनै हालतमा सम्झौता हुनुहुन्न भन्ने राजनीतिक लाइन बोकेको दल तथा नेता भएको भन्दै हिन्दूस्तान टाइम्सले अनुरालाई बौद्ध राष्ट्रवादी नेताको उपमा दिएको छ । भारतसँगको सम्बन्धमा पनि अनुराको पुरानो बोलीलाई हिन्दूस्तान टाइम्सले साभार गरेको छ ।
पुरानो कुनै सन्दर्भमा अनुराले भारतको तमिल क्षेत्रबाट गएका कामदारहरुबारेमा बोल्दा ‘भारतीय विस्तारवादको औजार’ भनेका थिए, तर पछिल्लो समयमा अनुराले भारतसँग पूर्वाधार र ऊर्जामा काम गर्ने क्षेत्र देखाएर दि हिन्दूसँग भनेका थिए, ‘भारतसँग काम गर्न आवश्यक छ ।’