वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको दबाबपछि पहुँचयुक्त संरचना बनाउन केयु तयार
काठमाण्डौ । काठमाण्डौ विश्वविद्यालय (केयु) अब बन्ने सम्पुर्ण भौतिक संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बनाउन सहमत भएकाे छ । वैज्ञानिक समाजवादी विद्यार्थी संगठन काठमाण्डौ विश्वविद्यालय ब्युरोले पहुँचयुक्त एवं अपांगता समावेशी भौतिक तथा सञ्चार सेवा एवं पहुँचयुक्त शिक्षण सिकाइ क्रियाकलाप सुनिश्चित गर्नका लागि पेश गरेको ज्ञापनपत्रमा समेटिएका १० वटा माग सम्बोधनका लागि भएको सम्झौतामा केयु पहुँचयुक्त संरचना बनाउन सहमत भएको हो ।
पटक–पटक भएको वार्तापछि विश्वविद्यालय संगठनका माग पुरा गर्न विश्वविद्यालय सहमत भएको हो । दुई पक्षविच भएको सम्झौतापत्रमा काठमाण्डौ विश्व विद्यालय वार्ता समितिको तर्फबाट विद्यार्थी कल्याण निर्देशनालयका कार्यवाहक निर्देशक डा.गोकुल केसी लगायतका पदाधिकारीले हस्ताक्षर गरेका छन् भने वैज्ञानिक समाजवादी विद्यार्थी संगठन काठमाण्डौ विश्वविद्यालय ब्युरोको तर्फबाट जुली गौतम लगायतले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार काठमाण्डौ विश्वविद्यालय स्कुल अफ ल परिसरमा बन्दै गरिरहेका दुई वटा निर्माणरत विश्वविद्यालय भवन निर्माण सम्पन्न भइसक्दा उक्त भवनका सबै तला, कक्षाकोठा एवं कार्यकक्ष आवश्यक ¥याम्प, लिफ्ट, ट्याकटायल र ब्रेल मार्किङसहित पहुँचयुक्त हुनेछ । त्यसका लागि लेक्चर भवनको प्रारम्भिक भवन निर्माण नक्सा संशोधन गरी निर्माणरत एक भवनमा लिफ्टको व्यवस्था गरी त्यसै भवनसंग अन्तरआवद्दता गरी निर्माणाधिन अर्को भवन तथा यसअघि बनिसकेको स्कुल अफ ल को भवनमा समेत प्रवेश गर्न मिल्ने गरी ३ वटै भवनलाई पहुँचयुक्त बनाउन काठमाण्डौ विश्वविद्यालय सहमत भएको हो ।
यस्तै विश्वविद्यालयले केयुमा अध्ययनरत अपांगता भएका व्यक्तिका अपांगताको वर्गीकरण सहितको एकिकृत खण्डिकृत तथ्यांक संकलन, व्यवस्थापन एवं अद्यावधिक गर्नका लागि विश्वविद्यालय भर्ना फारममा आवश्यक कोलम थप्ने एवं केन्द्रिकृत फारम प्रणाली विकास गरी तथ्यांक व्यवस्थापन गर्ने समेत सम्झौतापत्रमा उल्लेख छ ।
विश्वविद्यालयका भविष्यमा निर्माण हुने सम्पुर्ण भवन तिनका कक्षाकोठा, झ्याल, ढोका, शौचालय लगायतका संरचना लिफ्ट, ह्विलचेयर पुग्ने सुनिश्चितता, ट्याक्टाइल, ब्रेल मार्किङ लगायत अन्य आवश्यक संरचना सहित नेपाल पक्ष राष्ट्र रहेको अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धि सन् २००६, अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ तथा पहुँचयुक्त भौतिक तथा सञ्चार सेवा निर्देशिका २०६९ तथा अन्य प्रचलित कानुन बमोजिम पुर्ण पहुँचयुक्त स्वरुपमा निर्माण गर्ने उल्लेख छ । सम्झौता अनुसार यसअघी नै निर्माण भइसकेका भवनमा पुर्ण पहुँचयुक्तताको सुनिश्चितताका लागि सम्भव भएसम्मका सम्पुर्ण उपाय अवलंवन गर्ने र त्यस अन्तर्गत पुस्तकालय, चमेना गृह, मेस र क्याफेटेरियालाई आगामी आर्थिक वर्षभित्र पहुँचयुक्त बनाइसक्नुपर्ने उल्लेख छ ।
यस्तै विश्वविद्यालयको डिजिटल संरचना, वेबसाइट, सामाजिक सञ्जाल लगायतका सञ्चारका माध्यममा प्रकाशन तथा प्रसारण हुने सुचनामा पहुँचयुक्तताको सुनिश्चितताका लागि एक महिना भित्र रुजु सुची जारी गरी त्यसै अनुसार डिजिटल सामग्रीको सम्प्रेषण गर्ने, अबको तिन महिना भित्र काठमाण्डौ विश्वविद्यालयको वेबसाइटको पहुँचयुक्तता संपरिक्षण गरि त्यसको प्रतिवेदनका आधारमा क्रमश प्रगतिशिल रुपमा कार्यान्वयन हुने गरी वेबसाइटमा वेब सामग्री पहुँचयुक्त निर्देशिका २.० लागु गर्दै जाने समेत सम्झौतामा उल्लेख छ । यस्तै विश्वविद्यालयको वेब साइट, सामाजिक सञ्जाल लगायतमा सम्प्रेषण गरिने सुचना, जानकारी एवं दस्तावेज पहुँचयुक्त हुनुपर्ने, वेबसाइट तथा सामाजिक सञ्जालमा राखिने तस्विरमा वैकल्पिक टेक्स्ट, तस्विरमा आधारित पिडिएफको वैकल्पिक पहुँचयुक्त टेक्स्ट फाइल समेतको ब्यवस्था गरिने तथा त्यसका लागी वेबमा आधारित सामग्री उपलब्ध गराउने निकायले सुचना प्रणाली ब्यवस्थापन निकायलाई पहुँचयुक्त संरचनामा उल्लेखगरी जानकारी तथा सामग्री उपलब्ध गराउने सहमती भएको छ ।
दुइ पक्षविचकाे सम्झौता कार्यान्वयनका लागि विश्वविद्यालय अन्तर्गतको अनुगमन तथा मुल्यांकन निर्देशनालयले नियमित एवं आवधिक रुपमा अनुगमन गरी समय समयमा विद्यार्थीलाई कार्य प्रगति विवरणबारे जानकारी उपलब्ध गराउनुपर्नेछ । वैज्ञानिक समाजवादी विद्यार्थी संगठन विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन हो ।
दुइ पक्षविच भएकाे सहमती