रेशम-रन्जिता मिलन : कारबाही फुकुवा, संयुक्त बैठक आह्वान – Nepal Press

रेशम-रन्जिता मिलन : कारबाही फुकुवा, संयुक्त बैठक आह्वान

अदालतको फैसला नहुँदासम्म रन्जिता नै अध्यक्ष , रेशम अभिभावक

कैलाली । संघीय र प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयदेखि सुरु भएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र अध्यक्ष रन्जिता चौधरीबिचको विवाद मिलेर जाने भद्र सहमतिमा टुंगिएको छ ।

पछिल्लो केही दिनदेखि भएको निरन्तर छलफल र संवादमा उनीहरूले आगामी दिनमा एक भएर जाने भन्दै समझदारी गरेका छन् । सरकारमा सहभागी हुने, मन्त्री पठाउने लगायतका विषयमा दम्पतीबिच विवाद भए पनि टिकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट उनीहरूको तिक्तता छरपस्ट भएको थियो ।

रेशम चौधरी पहिलो महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि शक्ति सङ्घर्ष चुलिएको थियो । त्यसपछि सङ्घदेखि प्रदेशसम्म एक समूहले अर्को समूहलाई कारबाही गर्नेसम्मका गतिविधि भए ।

पार्टी अध्यक्ष र पार्टी संरक्षक तथा महाधिवेशनबाट निर्वाचित अध्यक्षबिच तिक्तता र विवाद बढ्दै जाँदा पार्टीका गतिविधि रोकिएको र पार्टी कमजोर भएको भन्दै फेरि दुवै मिलेर अगाडि बढ्ने सहमति भएको रेशम चौधरीले बताए ।

‘सरकारमा सहभागी हुने वा नहुने भन्ने सामान्य विषयमा हामीबिच मतभेद भएको हो तर त्यसपछि स्वार्थ समूहले हामीलाई अझै टाढा बनाउने गरी भूमिका खेलिरहे अब फेरि पार्टी बलियो बनाउने गरी हामी एक भएका छौँ’ उनले भने, ‘अब कहिल्यै यस्तो विवाद नआउने गरी हामीबिच समझदारी भएको छ ।’

पार्टीलाई अझै बलियो बनाउने उद्देश्यले दुवै जनाबाट भएका कमिकमजोरीहरुलाई औँल्याउँदै, दुवैले आत्मालोचना गर्दै आगामी दिनमा यस्तो परिस्थिति आउन नदिने भन्दै समझदारी गरिएको उनले बताए ।

‘राजबन्दीका कारण स्थापना भएको पार्टीमा त्योसँग सम्बन्ध नै नराख्नेहरूले गलत भूमिका खेलेका विषयमा पनि समीक्षा भएको छ । पार्टी भित्र गलत हस्तक्षेप भयो । पार्टीमा वितण्डा मच्चियो ’ उनले भने ‘सबै छलफल गरेर पार्टी शुद्धीकरण गर्दै लैजाने विषयमा हामी दुवै एकमत भएका छौँ ।’

टिकापुर महाधिवेशनबाट रेशम चौधरी अध्यक्ष निर्वाचित भए पनि निर्वाचन आयोगले भने वैधानिकता दिएको छैन । उक्त महाधिवेशनका सदस्यहरूले वैधानिकताको माग गर्दै अदालतमा रिट दायर गरेका छन् ।

रेशम रन्जिताबिच अदालतमा मुद्दा जारी रहँदासम्म अध्यक्षको हैसियत रन्जिता श्रेष्ठले नै गर्ने समझदारी भएको छ । टिकापुर महाधिवेशन स्वीकार गर्ने, महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति स्वीकार गर्ने, संस्थापक केन्द्रीय सदस्यहरूलाई पनि सँगै लैजाने विषयमा सहमति भएको छ ।

दुवै जना बिच पार्टीलाई गतिशील बनाउने गरी छलफल भएको रन्जिता श्रेष्ठले पनि बताइन् ।

‘पार्टी निर्माणमा उहाँको निकै ठूलो भूमिका छ । त्यो हामीले भुल्न हुँदैन । पार्टीलाई गतिशील बनाउन मैले भूमिका खेले । हामी दुवैको भूमिकालाई अन्य नेता कार्यकर्ता तथा शुभेच्छुकहरूले साथ दिएर आज हामी यो स्थानमा पुगेका हौँ’ रन्जिता श्रेष्ठले भनिन्, ‘आगामी दिनमा मिलेर जाने समझदारी भएको छ ।’

रेशम र रन्जिताबिच समझदारी भए लगत्तै यस अघि कारबाही गरिएका दुई प्रदेश सभा सदस्यसहित पाँच जनको कारबाही फुकुवा गरिएको छ । बागमती अध्यक्ष दीप तामाङ, गण्डकी अध्यक्ष राजन गुरुङ, केन्द्रीय सदस्य नवीन थापा, सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी र प्रदेश सभा सदस्य इन्दिरा गिरीको रन्जिताले विज्ञप्ति जारी गरेर कारबाही फुकुवा गरेको जानकारी गराएकी छन् ।

रेशम निकट रहेको उनीहरू सबैलाई फरक फरक मितिमा रन्जिताले नै कारबाही गरेकी थिइन् । रेशम रन्जिता मिलन पनि कारबाहीमा परेकाहरूको कारबाही मात्रै फुकुवा भएन पहिलो पटक दुवैको हस्ताक्षरमा पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक आह्वान गरिएको छ ।

यही १८ र १९ असोजमा काठमाडौँमा बस्ने गरी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन पत्राचार गरिएको छ । रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरी पठाइएको पत्रमा पार्टी एकढिक्का रहेको सन्देश दिन बैठक डाकिएको उल्लेख छ ।

‘हाम्रो नागरिक उन्मुक्ति पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समयसम्म स्थगित भएका बैठकहरू पुनः आपसी मतभेदलाई मत्थर पारी हामी एक हौँ र एक रहनेछौँ भन्ने सन्देश सबैमाझ छर्दै हाम्रो पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य, पदाधिकारीहरूको बैठक पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षताको सहमतिमा यही १८ र १९ असोजमा काठमाडौँमा बस्ने हुँदा अनिवार्य उपस्थितिका लागि यो पत्र प्रेषित गरिएको छ,’ पत्रमा भनिएको छ ।

रेशम रन्जिता विवादले दुई कित्तामा उभिएका नेता कार्यकर्ता पनि अहिले दुईको मिलनले उत्साहित देखिएका छन् । ‘रेशमजीले जेलमा हुँदा पार्टी जन्माउनुभयो, रञ्जिताजीले काखमा लिएर हुर्काउनुभयो’, नाउपाका उपाध्यक्ष दामोदर पण्डित भन्छन्, ‘अब पनि त्यसरी नै एक भएर पार्टीलाई अगाडि लैजाने सहमति भएको छ । हामी उत्साहित छौँ ।’

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसामा एक नाबालकसहित सात प्रहरीको हत्या भएको थियो । घटनाका मुख्य दोषी भएको ठहर गर्दै अदालतले रेशमलाई जन्मकैदको सजाय सुनाएको थियो । उनी अहिले राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त छन् ।

कारागारमा हुँदा स्थापना गरिएको नाउपाले प्रतिनिधिसभामा चार सिट जितेको छ भने सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशसभामा पनि प्रतिनिधित्व छ । सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेसमा एक सांसद नाउपाका छन् ।

पति पत्नीको विवादले उग्र रूप लिएपछि संसद् र सरकार दुबैमा दुवैनिकटका नेता कार्यकर्ताहरू दुवै तिर विभाजित भएका थिए । पति पत्नीको सहज मिलनपछि बस्ने पहिलो केन्द्रीय सदस्यको बैठकले नेता कार्याकर्ताहरुलाई पनि एकताबद्ध बनाउने तयारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *