सुस्तामा बन्यो देशकै लामो झोलुंगे पुल, भारतको बाटो भएर जानुपर्ने बाध्यताबाट स्थानीयले पाए मुक्ति – Nepal Press

सुस्तामा बन्यो देशकै लामो झोलुंगे पुल, भारतको बाटो भएर जानुपर्ने बाध्यताबाट स्थानीयले पाए मुक्ति

सांसद विनोद चौधरी भन्छन्- यो पुलले नेपाली भूगोलमात्रै होइन, स्थानीयको भावनालाई पनि जोड्यो

बर्दघाट । निर्माण सम्झौताको करिब १० वर्षपछि सुस्तामा झोलुंगे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा बनेको नेपालकै लामो यो पुल असोज १० गते (भोलि) राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन् ।

पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ । नारायणी नदीमा १५५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुसी छन् ।

‘यो पुल हाम्रा लागि लाइफलाइन हो र निर्माण ढिलो भएपनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । अब बाध्यताबाट हामी मुक्त भएका छौं’, सुस्ताका रवीन्द्र जयसवालले भने ।

२०७० सालमा सम्झौता भएको यो झोलुंगे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो ।

स्थानीय जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद देवकरण कलवारले पुलको काम अघि बढाउन ठेकेदार कम्पनीलाई दबाब दिएका थिए । पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो ।

यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए । उनले शहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए ।

सांसद चौधरीले सुस्ता पुलले नेपाली भूमि जोड्ने काम गर्नुका यहाँका नागरिकको दैनिकीमा पनि ठूलो प्रभाव पार्ने बताए ।

‘आफ्नै भूमिभित्र जान पनि अर्को देशको बाटो भएर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ । यो अत्यन्तै पीडादायी अवस्था थियो नवलपरासी सुस्ताको,’ उनले भने, ‘लामो समयसम्म पुल निर्माण कार्य सम्पन्न भएन । ढिलै भएपनि पुल निर्माण सम्पन्न भएको छ । अब यसले यो क्षेत्रका नागरिकको जीवनमा त खुसी ल्याउँछ नै, यो क्षेत्रकै आकर्षक पर्यटकीय गन्तब्य बन्नेछ ।’

उनले यो पुलले सुस्ताको भूगोल मात्रै नजोडी यहाँका नागरिकको भावनालाई पनि जोडेको बताए ।

नारायणी नदिमा पुल बनेपछि सुस्तापारी पहिलो पटक बिजुलीसमेत पुगेको छ । करिब ३५० घरधुरी रहेको सुस्तापारी पुलकै बाटो भएर बिजुली लगिएको हो । झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना हुने गरी दायाँ-बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा बिजुली पुर्‍याइएको हो ।

सांसद चौधरीले निर्वाचित भएलगत्तै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सुस्ताम विद्युतीकरणका लागि पहल गरेका थिए । यसैबीच सांसद चौधरीले सुस्तापारीका बासिन्दालाई सहुलीयतमा बिलुली उपलब्ध गराउन ऊर्जा मन्त्रालय र प्राधिकरणसँग लिखित आग्रह गरेका छन् ।

‘हाम्रो पहिलो प्राथमिकतामा सुस्तालाई पुलले जोड्ने र त्यहि पुलबाट विजुली लैजाने प्रबन्ध गर्ने थियो । यो दुबै काम एकैपटक सम्पन्न भएको छ । अब सरकारले यहाँका नागरिकलाई सहुलीयतको बिजुली उपलब्ध गराउनुपर्छ, त्यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण रुपमा पहल भइरहेको छ । यसमा पनि सकारात्मक परिणाम आउने विश्वास छ,’ उनले भने । सुस्ता पुलले यहाँको पर्यटन विकासमा ठूलो योगदान पुग्ने स्थानीयको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर