रवीन्द्रसँगको भेटबारे प्रचण्डलाई बाबुरामको कटाक्ष- बिरालोले म्याउँ गरिछाड्यो – Nepal Press

रवीन्द्रसँगको भेटबारे प्रचण्डलाई बाबुरामको कटाक्ष- बिरालोले म्याउँ गरिछाड्यो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केही राजावादीहरू चिच्याउँदै र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका उपलब्धि खोस्न नसक्ने टिप्पणी गरेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र प्रचण्डको भेटपछि वास्तविकता प्रष्ट भएको उनको भनाइ छ ।

भट्टराईले भनेका छन्, ‘वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउँ गरिहाल्छ रे ! प्रचण्ड र रवीन्द्र मिश्रबीचको अंतरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर, माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्याउँ’ गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो ।’

अहिलेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्र कुनै अदृश्य शक्तिको निगाहबाट नभई जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको बताएका छन् ।

उनले थपेका छन्, ‘यसको अर्थ हो- गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !’

हिजो खुमलटार पुगेका मिश्रसँग प्रचण्डले राजा महेन्द्र गज्जबका भिजनरी रहेको भन्दै ज्ञानेन्द्र अलि नरम भइदिएको भए अहिले परिस्थिति नै अर्को हुने बताएको भन्दै ७ बुँदे टिप्पणी फेसबुकमा राखेका थिए । तर, मिश्रले भेटघाट र कुराकानीलाई आफू अनुकूल व्याख्या गरेको भन्दै प्रचण्ड सचिवालयले खण्डन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर