ह्याम्स अस्पतालका अध्यक्ष भण्डारी कुखुरा पालनमा– आफ्नै गाउँमा १० करोडको लगानी (भिडिओ) – Nepal Press

ह्याम्स अस्पतालका अध्यक्ष भण्डारी कुखुरा पालनमा– आफ्नै गाउँमा १० करोडको लगानी (भिडिओ)

सिन्धुपाल्चाेक । स्वास्थ्य क्षेत्रमा राजधानीको चर्चित र सुविधासम्पन्न ह्याम्स अस्पताल सञ्चालन गरेर विरामीहरुलाई  सेवा सुविधा दिँदै आएका आर.एस भण्डारीको पहिचान अब स्वास्थ्य क्षेत्रमा मात्रै होइन कुखुरापालन व्यावसायमा पनि जोडिएको छ ।

ह्याम्स अस्पतालका अध्यक्ष समेत रहेका भण्डारीको परिवारले अहिले आफ्नै जन्मथलोमा अत्याधुनिक प्रविधिबाट व्यावसायिक रुपमा कुखुरापालन(पोल्ट्री) व्यावसाय सञ्चालन गरेका छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ पाटीडाँडामा भण्डारीको परिवारले करिब १० करोड रुपैयाँको लागतमा आधुनिक पोल्ट्री फर्म सञ्चालन गरेका हुन् । सञ्चालनको अन्तिम तयारीमा रहेको उक्त पोल्ट्री फर्मबाट एक पटकमा ५० हजार कुखुरा उत्पादन हुनेछ ।

६० हजार कुखुरा पालनको लागि आधुनिक खोर (क्लोज हाउस) निर्माणको अन्तिम चरणमा रहेको र दशैँपछि नै उक्त खोरमा ब्रोइलर जातको कुखुरा राख्ने सञ्चालक भण्डारीले जानकारी दिए ।

नेपालको भौगोलिक र हावापानी सुहाउँदो अनुसारको कुखुरापालन व्यवसाय नहुँदा कुखुरापालन व्यवसाय फस्टाउन नसकेकाले आफूहरुले जर्मनी प्रविधिको आधुनिक खोर( क्लोज हाउस) बनाएर कुखुरापालन व्यावसाय सुरु गरेको भण्डारीले बताए ।

 

नेपालमा भारतलगायत अन्य देशका कम्पनीहरुबाट सामग्री ल्याएर कुखुराको खोर  (क्लोज हाउस) निर्माण भएपनि जर्मनी प्रविधि र त्यहाँको कम्पनीबाट ल्याएर क्लोज हाउस भने नेपालमा नै पहिलो पटक यही ल्याएको भण्डारीले जानकारी दिए ।

सिन्धुपाल्चोकमा उत्पादन,धादिङमा प्रोसेसिङ

सुनकोशी–६ पाटीडाँडामा सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको सिन्धु पोल्टी फर्ममा उत्पादन भएको सबै कुखुरा धादिङको धुनिबेसिमा रहेको अत्याधुनिक तथा नेपालकै सबैभन्दा ठुलो पोल्ट्री प्रोसेसिङ उद्योग के.बी एग्रो एण्ड रिसर्च सेन्टरले खरिद गर्ने छ ।

के.बी एग्रो एण्ड रिर्सचका केशबराज थापाका अनुसार सिन्धु पोल्ट्री फर्ममा उत्पादन भएको सबै कुखुरा आफूहरुले लिने र उद्योगका लागि आवश्यक पर्ने दानालगायत अन्य आवश्यक सामग्री पनि आफूहरुले नै दिने गरी उक्त पोल्ट्री फर्म सञ्चालनमा आएको हो ।

उक्त पोल्ट्री प्रोसेसिङ उद्योगमा प्रति घण्टा दुइ हजार कुखुराको खान योग्य हुने गरी तयार हुने गर्दछ । स्थानीय बजारमा आवश्यकता भए स्थानीय स्तरमा पनि बिक्री वितरण गरिने र यता आवश्यकता नहुँदा मात्रै आफूहरुले उत्पादन भएको सबै कुखुरा लैजाने थापाको भनाई थियो ।

वातानुकुलित खोर,सबै काम मेशिनबाटै

जर्मन प्रविधिबाट निर्माण गरिएको खोर (क्लोज हाउस) वातनुकुलित प्रविधिबाट निर्माण गरिएको छ । कुखुराको उमेर समुह अनुसारको तापक्रम स्वचालित रुपमा प्राप्त हुने गरी खोर निर्माण गरिएको सिन्धु पोल्ट्री फर्मका अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए ।

खोर भित्र बाहिरको हावा,घामपानी केही पनि जादैन,भित्र जति तापक्रम आवश्यक पर्छ स्वचालित रुपमा मेशिनबाट नै जाने गर्दछ अध्यक्ष भण्डारीले भने ।

सञ्चालन प्रणाली पनि सबै मेशिनबाट नै हुने भएकाले जनशक्ति समेत कम लाग्ने अध्यक्ष भण्डारीले बताए । ‘दाना,पानी लगायत अन्य सबै सामग्री मेशिनबाटै नै जाने प्रविधि जडान गरेका छौ,यसले गर्दा जनशक्ति पनि कम लाग्छ,’ भण्डारीले भने ।

कुखुराले दाना खाएको अनुपातमा उत्पादन पनि सोही अनुसार हुने छ । वातानुकुलित क्लोज हाउस भएकाले अन्य परम्परागत शैलिको खोरमा भन्दा यस्ता खोरमा कुखुरा पनि काम मर्ने कुखरा विज्ञ समेत रहेका के.बी एग्रोका प्रमुख केशब थापाले जानकारी दिए ।

खोरमा हालेको ४५ दिन भित्र कुखुरा व्यवसायिक रुपमा विक्रीका लागि योग्य हुने छ । कुखुरा मात्रै होइन कुखराको मल पनि बिक्री हुने हुँदा केही वर्षभित्रै लगानी उठेर फाइदामा जाने सञ्चालकहरुको दाबी छ ।

नेपालीहरुले परम्परागत रुपमा थोरै संख्यामा कुखुरापालन व्यवसाय सञ्चालन गरिरहे पनि आधुनिक र व्यावसायिक कुखुरापालन गर्नेहरुको संख्या भने नेपालमा निकै कम रहेकाले आफ्नै जन्मठाउँमा केही गर्ने उदेश्यले कुखुरापालन सुरु गरिएको ह्याम्स अस्पतालका अध्यक्ष समेत रहेका सिन्धु पोल्ट्रीका सञ्चालक आर.एस भण्डारीले बताए ।

नेपालको आर्थिक समृद्धिको मुख्य आधार नै कृषि र पशुपंक्षी पालनबाटै हुने भएकाले अहिलेका नयाँ पुस्ताहरुलाई गाउँमा नै केही गरेर देखाउनका लागि पनि आफूहरुले परिवारको सल्लाहमा यो व्यावसाय सुरु गरेको भण्डारीले बताए ।

आफ्नो जन्मथलो र सिन्धुपाल्चोकबाट आफूले देशभरका युवाहरुलाई स्वदेशमा नै केही गर्न सकिन्छ भनेर उद्घोषका लागि पनि यो व्यावसाय सुरु गरिएको भण्डारीको भनाई छ ।

आफुहरुको गाउँपालिका भित्र यति ठुलो मात्रामा पोल्ट्री व्यावसाय सञ्चालन भएकोमा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले खुसी व्यक्त गरे । गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न सँधै तयार रहेको समेत अध्यक्ष तिमिल्सिनाले प्रतिबद्धता जनाए ।     


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *