उपप्रधानमन्त्री पौडैल र चिनियाँ समकक्षी लिफेङबीच भेटवार्ता, पूर्वाधार निर्माण र परियोजना कार्यान्वयनबारे छलफल – Nepal Press

उपप्रधानमन्त्री पौडैल र चिनियाँ समकक्षी लिफेङबीच भेटवार्ता, पूर्वाधार निर्माण र परियोजना कार्यान्वयनबारे छलफल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । सो भेटमा दुई देशका आपसी हित र सहयोगबारे छलफल भएको छ ।

भेटमा चीनका उपप्रधानमन्त्री लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमतिबमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताए । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उपप्रधान एवं अर्थमन्त्री पौडेलले केरुङ-काठमाडौं रेल निर्माण, टोखा-छहरे सुरुङ मार्ग, किमाथाङ्का-हिले, हिल्सा-सुर्खेत-भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्कलगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरे ।

त्यसैगरी चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए ।

भेटवार्तामा नेपालका तर्फबाट उपप्रधान एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरु सहभागी थिए ।

चीन सरकारको तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायातमन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उड्डयन प्रमुख सोङ च्योङलगायतका अधिकारी सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर