गैरआवासीय नेपाली व्यवसायी पन्तले नेदरल्यान्ड्समा जिते स्टार्टअप उद्यमी पुरस्कार – Nepal Press

गैरआवासीय नेपाली व्यवसायी पन्तले नेदरल्यान्ड्समा जिते स्टार्टअप उद्यमी पुरस्कार

काठमाडौं । नेपाली व्यवसायी फणिन्द्र पन्तले नेदरल्यान्ड्समा स्टार्टअप पुरस्कार जितेका छन् । नेपालका एक विशेषज्ञको रुपमा चिनिएका पन्तले नेदरल्यान्ड्सको गोइस मिरेन नगरपालिकाद्वारा आयोजित स्टार्टअप उद्यमी प्रतियोगितामा विजय हासिल गरी उक्त पुरस्कार जितेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीपछि नेदरल्यान्ड्सको गोइस मिरेन क्षेत्रमा पसल र व्यवसायमा निकै रिक्तता देखिएको र उक्त अवस्थाबाट छुटकारा पाउने अभिप्रायले स्थानीय सरकारद्वारा आयोजित प्रतियोगितामा नेदरल्यान्ड्समा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका पन्तले पनि सहभागिता जनाएका थिए ।

राष्ट्रिय आर्थिक मेरुदण्डको रुपमा रहेको व्यवसाय क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक मन्दीबाट बच्ने दूरगामी योजनाअन्तर्गत स्थानीय सरकारले कार्यान्वयनमा ल्याएको उक्त प्रतियोगितामा सहभागिता जनाएका नयाँ व्यवसायिक योजनाहरुलाई मूल्यांकन गर्ने र विजेता छनोट गर्ने नीतिअन्तर्गत पन्तको नेपालमा उत्पादित चिया, कफी, हिमालयन मसला, ऊनबाट निर्मित कपडा र हस्तकलाका सामानहरुको नेदरल्यान्ड्समा बिक्री वितरण र विस्तार गर्दै आएको माउन्टेन मार्ट नेपाल ट्रेड हाउस नामक स्टार्टअप उद्यमशीलता योजना विजयी बनेको हो ।

कुल २५ व्यवसायीले भाग लिएको उक्त प्रतियोगितामा छनोट भएका विजेताले पुरस्कार, व्यवस्थापन प्याकेजलगायतका लागि करिब ४० लाख नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका छन् ।

नमस्ते को-अपरेटिभ यूए नामक सहकारी कम्पनीमार्फत नेपाली उत्पादनहरुको विदेशी भूमिमा बिक्री वितरण गर्दै आएका पन्तले आफ्नो जीतप्रति खुशी व्यक्त गर्दै पुरस्कार नेपाल र नेपालीको लागि समर्पण गरेको बताए ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का प्रवक्ता रहेका उनले नेपालको प्रवर्द्धन र नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार विस्तार गरी नेपालको आर्थिक उन्नतिमा टेवा दिने आफ्नो उद्देश्य रहेको र यसका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए ।

उनले नेपाली उत्पादनहरुलाई नेदरल्यान्ड्सलगायत युरोपका अन्य मुलुकहरुमा विस्तार र बजारीकरण गर्न इच्छुक नेपाली तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरुलाई माउन्टेन मार्ट नेपाल ट्रेड हाउसमार्फत खुला आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर