‘रविभन्दा पहिले जीबीका पार्टनर थिए रामेश्वर थापा, सहकारीको पैसा अन्नपूर्ण मिडिया र एपीवानमा’ – Nepal Press

‘रविभन्दा पहिले जीबीका पार्टनर थिए रामेश्वर थापा, सहकारीको पैसा अन्नपूर्ण मिडिया र एपीवानमा’

काठमाडौंं । गोर्खा मिडिया ग्रुपका अध्यक्ष जीबी राईले सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको भनेर रवि लामिछानेमाथि समेत छानबिन भइरहेको बेला एपीवान टेलिभिजनमा समेत उनको व्यवसायिक संलग्नता भेटिएको छ । जीबीले ग्यालेक्सीभन्दा अगाडि एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी गरेको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमै उल्लेख छ ।

प्रतिवेदनअनुसार जीबी राई रविभन्दा पहिले अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाका व्यापारिक साझेदार थिए ।

संसदीय समितिको प्रतिवेदनमा भनिएको छः

‘न्युज २४ मा रवि लामिछानेको कार्यक्रम सीधा कुरा जबरजस्त स्थापित र लोकप्रिय थियो । २०७३ साल चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यवसायिक साझेदारीमा गीतेन्द्रबाबु राई देखिएका थिए । राई एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडिओ अहिले पनि सार्वजनिक रुपमा उपलब्ध छ । त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ । एपीवानमा कुरा नमिली सम्बन्धमा दरार आएपछि जीबी राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित न्युज २४ सीधा कुरा जनतासँग कार्यक्रममार्फत अलग छबि बनाइसकेका रवि लामिछानेसँग सम्पर्कमा पुगेको देखिन्छ । राईले एपीवानबाट जाने बेलामा त्यहाँका मार्केटिङ प्रमुखलाई समेत ग्यालेक्सी फोरकेमा साथै लिएर गएको बताइन्छ ।’

राईले एपीवान टेलिभिजन प्रालिका उपाध्यक्षका रुपमा काम गरेका थिए । स्रोतका अनुसार एपीवान प्रालिमा रामेश्वर थापाको ६० प्रतिशत र जीबी राईको ४० प्रतिशत सेयर थियो । राईले दुई करोड रुपैयाँ एपीवान टीभीमा लगानी गरेका थिए, जुन सहकारीकै पैसा भएको स्रोतको दाबी छ ।

राईले एपीवान टेलिभिजनको चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को पहिलो संस्करणको कतारमा आयोजित फिनालेमा कम्पनीका उपाध्यक्षको हैसियतले भाग लिएका थिए । उनले विजेताहरुलाई पुरस्कार दिएको र बधाई ज्ञापन गरेको त्यसबेलाको लाइभ भिडिओ अहिले पनि युट्युबमा सुरक्षित छ ।

स्रोतले भन्यो, ‘पछि रामेश्वरले टेलिभिजनको लाइसेन्स कब्जा गरेर अन्नपूर्ण नेटवर्कमा लगे र एपीवान प्रालि भन्ने कम्पनीको सेयर त्यागिदिए । त्यही झोक चलेपछि जीबी राई रविसित नजिकिन पुगेका हुन् ।’

रामेश्वरले एपीवान प्रालिको आफ्नो सबै सेयर एकजना व्यक्तिको नाममा नामसारी गरेका थिए । थापाले अन्नपूर्ण मिडियाबाट एपीवान टीभी अहिले पनि सञ्चालन गर्दै आएका छन् । एपीवान प्रालि भन्ने कम्पनी भने ती व्यक्तिको झोलामा छ, जसमा अहिले पनि जीबी राईको ४० प्रतिशत हिस्सा छ । राईले पछि पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनसित मिलेर नागरिक अनलाइन पनि सञ्चालन गरेका थिए ।

जीबी राईले हालेको २ करोड रुपैयाँ टेलिभिजनमै डुबेको दाबी स्रोतको छ । रामेश्वरले एपीवानमा जीबीको नेचर नेस्ट कम्पनीका विज्ञापनहरु बजाएको भनेर उल्टै ४-५ करोडको बिल थमाएको राईले आफू निकटस्थहरुसँग बताएका थिए ।

यस विषयमा थापासँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् । बारम्बार फोन र म्यासेज गर्दा पनि उनले रेस्पोन्स गरेनन् ।


प्रतिक्रिया

2 thoughts on “‘रविभन्दा पहिले जीबीका पार्टनर थिए रामेश्वर थापा, सहकारीको पैसा अन्नपूर्ण मिडिया र एपीवानमा’

  1. को को फस्ने हुन् अब !! सहकारीको पैसा चलाएबापत रामेश्वर थापा पनि जेल जान्छन् त ?

  2. हिस्स बुढि, खिस्स दाँत भने झै के हो, के हो ! सचेत र सजग रहाैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *