पदाधिकारीमाथि गरिएको हातपातप्रति लुम्बिनी विकास कोषको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग – Nepal Press

पदाधिकारीमाथि गरिएको हातपातप्रति लुम्बिनी विकास कोषको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग

रुपन्देही । लुम्बिनी विकास कोषले निर्माण व्यवसायीसँग सम्बन्धित व्यक्तिबाट पदाधिकारीलाई गालीगलौजसहित लछारपछार गर्दै कुटपिट गरेको घटनामा खेदप्रकट गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले बुधबार प्रेस विज्ञप्ती जारी गरी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्यै निन्दनीय र खेदजनक रहेको भन्दै अभद्र गालीगलौज, हातपातमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्न नेपाल सरकारसंग माग गरेका हुन् ।

‘राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीयहरु र कोषको संयुक्त आयोजनामा लुम्बिनी विकास कोषको कार्यान्वयन प्रगति अवस्था, आयोजना सम्पन्न गर्न देखापरेका समस्या, चुनौती र सम्पदा संरक्षण, सम्बर्द्धनको अवस्थालगायत समग्र लुम्बिनी क्षेत्रको विकास विषयक सरोकार पक्षसहितको सहभागितामा अन्तरक्रियामा लुम्बिनीस्थित होटल फाइभ इलेमेन्टस्मा सम्पन्न गरी बाहिर निस्कने क्रममा होटल परिसरमै निर्माण व्यवसायीसँग सम्बन्धित केही व्यक्तिहरु आई हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गालीगलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिटसमेत गरेको घटनाले यस भगवान गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्यै निन्दनीय र खेदजनक छ । लुम्बिनी विकास कोष यस्तो अभद्र गालीगलौज, हातपातमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्न नेपाल सरकारसंग माग गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र कार्य गरिरहेका निर्माण व्यवसायीहरुको भुक्तानीको सम्बन्धमा केही दिनदेखि निर्माण व्यवसायीहरुले धर्ना गरिरहेकोमा कोषको तर्फबाट समस्या समाधानका लागि निर्माण व्यवसायीसँग पटक पटक बैठक बसेको समेत विज्ञप्तीमा भनिएको छ ।

भुक्तानीको सहजताका लागि कोषका कोषाध्यक्षको नेतृत्वमा सदस्यसचिव र योजना प्रमुखसमेत निर्माण व्यवसायीका प्रतिनिधिहरुसंग असोज ७ गते दिउँसो बैठक वसी उपाध्यक्ष डा. लयारकल लामाको उपस्थितिमा भुक्तानी प्रकृया अगाडि बढाउने भन्ने अनौपचारिक सहमतिसमेत भैसकेको अवस्थामा घटना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘जहाँसम्म भुक्तानी प्रक्रियाको सन्दर्भ हो निर्माण कार्य सम्पन्न गरेका निर्माण व्यवसायीहरुलाई भुक्तानी रोक्ने कोषका पदाधिकारी तथा कर्मचारीहरुको कुनै मनसाय नरहेको व्यहोरा अनुरोध गर्दछौ’ सदस्यसचिव शाक्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ । कोषवाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी कार्य अगाडि बढाउन कोय सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै सोको लागि कोषभित्र कार्यस्थलमा उपस्थित भै काम गर्ने उचित वातावरण तयार भएमा मात्र संभव हुने जनाइएको छ ।

‘कोष र निर्माण व्यायसायीवीच सौहाद्रपूर्ण रुपमा वार्ता भैरहेको अवस्थामा भएको यस खालको गुण्डागर्दीको भत्र्सना गर्दछौं। यस भगवान बुद्धको पवित्र जन्मस्थललाई सदा झै हरेक क्षेत्रवाट शान्तिमय वनाउन आमनागरिक, राजनीतिक दल, सामाजिक संघसंस्था तथा व्यवसायी सबैमा विनम्र अनुरोध गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *