सांस्कृतिक सम्पन्नता र समृद्धि – Nepal Press

सांस्कृतिक सम्पन्नता र समृद्धि

यतिबेला समृद्धिको बहस प्रारम्भ भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बलियो बन्दैछ । हुन त यो राष्ट्रिय आकाङ्क्षाको सूत्रीकरण नेकपा एमालेले गरेको हो, तर यहाँ उल्लेख गरिएको समृद्धि र सुख नेकपा एमाले पङ्क्तिका लागिमात्र होइन । यसको अन्तरवस्तु सम्पूर्ण नेपाली जनताले समृद्धिसहितको सुख प्राप्त गर्न सकौं भन्ने हो ।

समृद्धिको आफ्नै दर्शन छ । कसैकसैले भौतिक विकास र मनग्गे पैसा हुनुलाई समृद्धिका रूपमा बुझेको पनि देखिन्छ । समृद्धि भौतिक प्राप्ति वा सम्पत्तिको छेलोखेलो होइन । भौतिक विकासमा मात्र आधारित समृद्धि निरस, शोषणयुक्त र निराशाकारक हुन्छ । यसमा मानिसहरूका भावना, करुणा, सन्तोषका आध्यात्मिक पक्ष महत्वपूर्ण हुन्छ । यसो भनिरहँदा इतिहासमा टाक्सिएर रहेको संस्कृति विगतमुखी, अनुभववादी र अन्धविश्वासको खोक्रो परम्परामात्र हुन्छ भन्ने पनि बिर्सनुहुँदैन । गतिशील, जीवनोपयोगी, अद्यावधिक (समय सापेक्ष) सामाजिक संस्कारको परिणति समुन्नत संस्कृति हो र यससँग प्राप्त हुने बहुजन हिताय, मानव जीवनोपयोगी, संरक्षित प्रकृतिसहितको समृद्धि सरस, सबल र सुखी जीवनको आधार हुनसक्छ ।

समृद्धि होस् वा संस्कृति, सबैलाई हेर्ने, बुझ्ने दृष्टिकोण फरकफरक हुन्छ । हेर्न सिकाउने विषयलाई दर्शन भनिएको छ । दर्शन शब्द संस्कृत भाषाको दृश् धातुबाट बन्छ, जसको अर्थ हेर्नु वा देख्नु भन्ने हुन्छ । अन्य दर्शनका विषयलाई तत्तत् ठाउँमा छोडेर मार्क्सवादी दर्शनको मात्र कुरा गर्ने हो भने यसले दर्शनलाई हेर्ने वा देख्ने विषयमा मात्र सीमित गर्दैन । अपितु यसले हेर्ने, देख्ने, बुझ्ने, व्यवहारमा जाँच्ने र आवश्यकताअनुसार फेर्ने कुरामा विश्वास राख्छ । यस दर्शन/दृष्टिकोणले समृद्धिको विषय होस् वा संस्कृति गतिशील, विकासशील र परिवर्तनशील मान्छ । मार्क्सवाद दृष्टिकोण र मान्यताअनुसार संसारलाई सिर्जित र निर्मित गरी दुई भागमा राखेर हेर्नु र बुझ्नुपर्छ । सिर्जित (स्वयं सिर्जित) प्रकृति हो भने निर्मित (मानव समाज निर्मित) संस्कृति हो । यसरी हेर्दा प्रकृतिबाहेक सबै संस्कृति हो । जगतसँग जीवनको अन्तरक्रियाबाट संस्कृति निर्माण हुन्छ र समृद्धिको आधार पनि त्यही नै हुन्छ ।

संस्कृति र समृद्धि यी दुवैको ठ्याक्कै शब्दार्थ फरक होला, तर आसय फरक छैन । ‘सम्’ भनेको राम्रो, ‘कृति’ भनेको परिणति हो । अर्थात् कुनै पनि कामको परिस्कृत, सुन्दर परिणाम नै संस्कृति हो । सबैलाई ज्ञात भएकै विषय हो, सुन्दर र परिस्कृत पार्ने कर्ता नै संस्कार हो । यो कर्ता व्यक्ति, प्रवृत्ति, कर्म, कार्य आदि हुने गर्छ । कार ‘सम्’ नभई कृति ‘सम्’ हुँदैन । ‘सम्’ कारबाट नै ‘सम्’ कृति बन्ने हो । जेसुकै कर्म गरेर राम्रो परिणाम प्राप्त हुँदैन र संस्कृति निर्माण वा विकास पनि सम्भव हुँदैन । उदाहरणका लागि हामीले जहाँतहीँ फोहर फाल्ने कर्म गर्‍यौं भने फोहरी संस्कृति बन्छ । फोहरको उचित व्यवस्थापन गर्ने कर्म गर्‍यौं भने सफासुग्घर संस्कृति बन्छ । गाली, प्रशंसा, निन्दाका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । संस्कृति शब्दले व्यापक अर्थ बहन गरेको छ । असल संस्कृति निर्माण आजका हरेक क्षेत्रका अगुवाहरूको हो ।

संस्कृति र समृद्धि यी दुवैको ठ्याक्कै शब्दार्थ फरक होला, तर आसय फरक छैन । ‘सम्’ भनेको राम्रो, ‘कृति’ भनेको परिणति हो । अर्थात् कुनै पनि कामको परिस्कृत, सुन्दर परिणाम नै संस्कृति हो । सबैलाई ज्ञात भएकै विषय हो, सुन्दर र परिस्कृत पार्ने कर्ता नै संस्कार हो ।

यस सन्दर्भमा श्रीमद्भगवद् गीतामा लेखिएको यो श्लोकले त्यस्तै भाव बहन गरेको देखिन्छ: ‘यद्यदाचरति श्रेष्ठः तत्तद्देवेतरो जनाः । स यत्प्रमाणं कुरुते लोकास्तदनुवर्तते । अर्थात् अगुवाहरूले जे जे गर्छन्, अरुले पनि त्यसै गर्छन् । तिनले जे प्रमाणित गर्छन्, अरुले त्यसैको अनुसरण गर्छन् ।’ यो भनाइले असल संस्कार गरेर असल संस्कृति निर्माण गर्ने जिम्मेवारी हरेक क्षेत्रका अगुवाहरूको हो भन्ने पुष्टि गर्छ ।

समृद्धि शब्द निकै लोकप्रिय बनेको छ । समृद्धि भनेको कुनै एउटा विषयको थुप्रो लाग्नु होइन । धनपैसा धेरै हुनु, चिल्ला सडक र यातायातका महँगा साधन हुइँकिनु, ठूल्ठूला भवन ठड्याइनु, फरर विदेशी भाषा बोल्न जान्नु आदिमात्र समृद्धि होइन । समृद्ध हुन धन, मन, साधन, उत्पादन, माध्यम सबै दुरुस्त हुनुपर्छ । कुनै एउटामात्र भएर हुँदैन । धनी हुनु भनेको साधन र स्रोत सम्पन्न अर्थात् सम्पत्तिशाली हुनु हो । समृद्ध हुनु भनेको देखिने, नदेखिने (मूर्त र अमूर्त) सम्पत्तिहरूको सदुपयोगबाट प्राप्त हुने आनन्ददायी अवस्था हो । यस अर्थमा सम्पत्ति साधन हो भने समृद्धि साध्य हो । सम्पत्तिले सुख दिन्छ भने समृद्धिमा सन्तुष्टि प्राप्त हुन्छ । जुन वस्तु र वस्तुस्थितिले सन्तुष्टि दिन्छ, दिइरहन्छ, त्यो समृद्धि हो । संक्षेपमा भन्नुपर्दा सम्पत्तिले सुखी बनाउनसक्छ भने समृद्धिले खुसी दिनुपर्छ । सुख भौतिक हो भने खुसी अभौतिक पनि हुनसक्छ । सुख प्रायः साधनमा निर्भर गर्छ भने खुसी मन-मस्तिष्कले उत्पादन गर्छ । विभेदले खुसी दिन सक्दैन ।

आजको नेपाल धर्मनिरपेक्ष हो । भाषाविज्ञहरूले धर्मनिरपेक्षताको अर्थ धेरैथरी लगाएको भए पनि नेपाल बहुधार्मिक छ । हाम्रो नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विविधतायुक्त छ । राजनीतिक व्यवस्थाका हिसाबले हाम्रो राष्ट्र लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र हो । धर्मका विषयमा राज्य निरपेक्ष छ । हाम्रो राष्ट्र धर्मनिरपेक्ष हुनुको विशेष र सकारात्मक महत्व छ । विद्वानहरूले गरेका परिभाषा भाषिक रूपमा सही छन्, तर धर्मनिरपेक्षता भाषिक विषय होइन, यो राजनीतिक इतिहाससँग जोडिएको विषय हो ।

अहिले हाम्रासामु २ वटा विषय प्रबल बनेर उपस्थित छन् । एकातिर जनताको लामो सङ्घर्षको परिणामस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रसँगै अधिकारमुखी समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख राजनीतिक व्यवस्थालाई अझ सुदृढ बनाउँदै जानुछ, अर्कातिर सदिऔंदेखि हाम्रो समाजमा प्रचलनमा रहेका मानव हितकारी धर्म, संस्कृति, मूल्य-मान्यता, परम्पराहरूको संरक्षण तथा सम्बर्द्धन गरी मौलिकताबाट लाभान्वित हुनुपर्नेछ ।

सम्पत्तिले सुख दिन्छ भने समृद्धिमा सन्तुष्टि प्राप्त हुन्छ । जुन वस्तु र वस्तुस्थितिले सन्तुष्टि दिन्छ, दिइरहन्छ, त्यो समृद्धि हो । संक्षेपमा भन्नुपर्दा सम्पत्तिले सुखी बनाउनसक्छ भने समृद्धिले खुसी दिनुपर्छ । सुख भौतिक हो भने खुसी अभौतिक पनि हुनसक्छ ।

यसअघि यहाँको ‘धर्म’ राज्यको दायित्वभित्र थियो । यहाँ ‘हिन्दू धर्म’ जोगाउने जिम्मा राज्यको थियो । राज्यको सञ्चालन राजा-महाराजाहरूबाट हुन्थ्यो । राजनीतिक व्यवस्थाप्रतिको नकारात्मक धारणामा धर्म पनि मिसिएको थियो । राज्यबाट कुनै एउटामात्र धर्मको पक्ष लिइँदा यहाँ प्रचलित अन्य धर्म र धर्मावलम्बीहरूमा असन्तोष हुनु स्वाभाविक थियो । यसरी राज्यले धर्मधारण गरेको उल्टो अवस्था विद्यमान थियो । यस्तो स्थितिले सबैको जीवनमा काम लाग्ने, सबैका लागि हितकर हिन्दू सनातन संस्कृतिका उदात्त विषय साँघुरो वृत्तमा रहेर निशाना बन्नुपरेको थियो । पछिल्लो राजनीतिक परिवर्तनले ‘धर्म’ जनताको बनाइदियो । यो सुल्टो अवस्था हो । यस्तो अवस्था शास्त्रसम्मत रहेको छः

धारणाद्धर्ममित्याहुः धर्मो धारयते प्रजाः । यस्याद्धारणसंयुक्तं स धर्म इति निश्चयः ।।

अर्थात धारण गरिने भएको हुनाले धर्म भनिएको हो । धर्मलाई जनताले धारण गर्छन् । जो सबैले एकसाथ धारण गर्नयोग्य छ, त्यो नै धर्म हो । -महाभारत

आध्यात्मिक दृष्टिले भन्ने हो भने धर्म मानिसको अन्तिम विश्वासको स्थान हो । यस मनोवैज्ञानिक सत्यलाई बुझेका शक्तिशालीले आफ्नो शक्ति वृद्धिमा यसको उपयोग गरे । जतिबेला शक्तिले धर्मको प्रयोग गर्‍यो, त्यतिबेला धर्म विभेदी बनेको छ । राज्यसत्ता/शक्तिले यसलाई पक्षपाती बनाएको छ, विशेषतः जाति भेद त्यसैको परिणाम हो । हाम्रो हिन्दू धर्म, हिन्दू सभ्यता, सनातन संस्कृतिमा जाति र सामाजिक वर्णभेदलाई घालमेल गरेर सुरु गरिएको बाध्यकारी विभाजन ठूलो कलङ्क हो । यो विषय धर्मको परिभाषाभित्र किमार्थ पर्दै पर्दैन । जब धर्म शक्तिको माध्यम बन्यो, जब शक्तिले धर्मलाई दुरुपयोग गर्‍यो, जब धर्मको वास्तविक स्वरूपलाई गलाइयो, त्यतिबेला धर्ममा विकृतिका ऐंजेरु पलाए । त्यसो भएर अहिले ती ऐंजेरुले धर्मको रूप लिए । ऐंजेरु विकार हो । पिपलको रूखमा ऐंजेरु पलाउनु पिपलको दोष होइन । पिपलमा छ भन्दैमा ऐंजेरु जोगाउनुपर्ने र त्यसको पूजा गर्नुपर्ने कुनै कारण छैन, त्यसो गरेको देखिएको पनि छैन ।

बौद्ध, किराँत, बोन्पो आदि धर्म र संस्कृति निर्माणमा तिनीहरूको भूमिका नभएको होइन, तर तिनीहरू चर्चाको सतहमा नभएको-कम भएकोले यहाँ तिनीहरूको चर्चा गरिएन । यद्यपि त्यहाँ पनि अन्धविश्वासको अभ्यास छैन भन्ने होइन । हामीले संस्कृतिको बखान गरिरहँदा सनातन संस्कृतिका केही आधारहरू स्मरण गर्नुपर्ने हुन्छ । सनातन संस्कृतिको आधार वेद हो । वेद प्रकृतिको शक्ति र मानव जातिका अनुभवका विषय हुन् । वेदविहित कर्ममात्र धर्म हुन् । स्मृति व्यवस्थाको स्तम्भको रूपमा रहेको ‘मनुस्मृति’ले श्रुति प्रमाणलाई नै प्रमाण मानेको छ ।

जतिबेला शक्तिले धर्मको प्रयोग गर्‍यो, त्यतिबेला धर्म विभेदी बनेको छ । राज्यसत्ता/शक्तिले यसलाई पक्षपाती बनाएको छ, विशेषतः जाति भेद त्यसैको परिणाम हो । हाम्रो हिन्दू धर्म, हिन्दू सभ्यता, सनातन संस्कृतिमा जाति र सामाजिक वर्णभेदलाई घालमेल गरेर सुरु गरिएको बाध्यकारी विभाजन ठूलो कलङ्क हो ।

त्यहाँ भनिएको छ: वेदोद्रखिलो धर्ममूलं स्मृतिशीले च तद्विदाम् । आचारश्चैव साधूनां आत्मसन्तुष्टिरेव च ।

अर्थात् वेद नै सम्पूर्ण धर्महरूको मूल हो । वेद जान्नेहरूको अनुशासन र पाण्डित्य, सज्जनहरूको आचरण र आत्मसन्तोषलाई धर्मको प्रमाण मानिएको छ । -मनुस्मृतिः २/६

वेदविरोधी प्रावधानहरू मानिसका स्वैच्छिक धर्म हुन् । त्यसमा थप उल्लेख गरिएको छ

अर्थकामेष्वसक्तानां धर्मज्ञानं विधीयते । धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः ।

अर्थात् जुन मानिस अर्थलिप्सा र कामलिप्सामा बाँधिएका छैनन्, उनलाई नै धर्मको ज्ञान हुन्छ । धर्मको विषयमा जान्नेहरूका लागि सबैभन्दा श्रेष्ठ प्रमाण श्रुति (वेद) हो । -मनुस्मृतिः २/१३

धर्मका लक्षण के के हुन् भन्ने विषयमा मनुस्मृतिमा रहेको यो श्लोकले स्पष्ट पारेको छ:

धृति क्षमा दमस्तेयं शौचमिन्द्रियनिग्रहः । धीर्विद्या सत्यमक्रोधो दशकं धर्म लक्षणम् ।

अर्थात धारण गर्ने, धारणा बनाउने, अर्काको गल्तीमा माफ गर्नसक्ने क्षमता आफूलाई आफ्नो नियन्त्रणमा राख्ने, चोरी नगर्ने, शुचि वा शुद्ध, सफा हुने आफ्ना इन्द्रीयहरुलाई नियन्त्रणमा राख्ने, बुद्धिमानी, ज्ञान, सत्य, नरिसाउने, यी माथि उल्लेख भएका १० वटा विषय, धर्मका लक्षण हुन् ।

हातमा केही नपरिकन खुसी दिने ती माध्यमहरू धर्म, अध्यात्म, संस्कृति, इतिहास र परम्परा जस्ता अमूर्त सम्पदाहरू हुन् । यस्ता विषयलाई बिर्सेर, यिनीहरूलाई आफ्नो जीवनबाट पन्छाएर समृद्धि (खुसी) प्राप्त हुन सक्दैन । यी धर्म, अध्यात्म, संस्कृति र परम्पराको अन्धानुकरण गरेर पश्चगामी हुनु पनि हुँदैन । धर्म भनेको धारण गर्न, धारणा बनाउनु हो, न कि अन्धानुकरण गर्नु । तपाईंको धारणा तपाईंले नै बनाउने र धारण गर्ने हो । जसरी चपाएर खानुपर्छ भन्नुको अर्थ अर्काले चपाइदिएको खानुपर्छ भन्ने होइन, त्यसैगरी धारणा बनाउनु या धारण गर्नु भनेको यथास्थितिलाई बोकेर हिँड्नु भन्ने होइन ।

संस्कार र संस्कृति

समृद्ध हुन संस्कृतिको पक्ष महत्वपूर्ण हुन्छ । सांस्कृतिक सम्पन्नताविना समृद्धि प्राप्त हुन सक्दैन । धेरै एउटै धर्म अँगालिरहँदा पनि धर्म व्यक्तिको स्वेच्छाकै विषय हुन्छ, तर संस्कृति सामूहिक हुन्छ । संस्कृति भनेको ‘परिष्कार गरिएको’ हो । संस्कार भनेको ‘परिमार्जन गर्ने’ हो ।

आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् । अर्थात् आफूलाई प्रतिकूल लाग्ने व्यवहार अरुसँग नगरौं ।

धर्म भनेको धारण गर्न, धारणा बनाउनु हो, न कि अन्धानुकरण गर्नु । तपाईंको धारणा तपाईंले नै बनाउने र धारण गर्ने हो । जसरी चपाएर खानुपर्छ भन्नुको अर्थ अर्काले चपाइदिएको खानुपर्छ भन्ने होइन, त्यसैगरी धारणा बनाउनु या धारण गर्नु भनेको यथास्थितिलाई बोकेर हिँड्नु भन्ने होइन ।

अयं निज परोवेति गणना लघुचेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् । अर्थात् सानो चित्त भएकाहरूको लागि यो मेरो हो, यो अर्को हो भन्ने हुन्छ । उदार चरित्र भएकाहरूको लागि सारा संसार नै परिवार हो ।

अमन्त्रं अक्षरं नास्ति नास्तिमूलमनौषधम् । अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः । अर्थात् मन्त्र नहुने अक्षर हुँदैन, औषधि नहुने जरो हुँदैन । कुनै मानिस अयोग्य छैनन् । सबैलाई समेट्ने दुर्लभ छन् ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःख भाग्भवेत् । अर्थात् सबै सुखी होऊन्, सबै निरोगी होऊन् । सबैले राम्रै राम्रो देख्न पाऊन् । कसैलाई दुःख नपरोस् ।

यस्ता विषय पूर्वीय संस्कृतिका प्रेरक पक्ष हुन् । पूर्वीय संस्कृति अध्यात्मप्रेरित छ । यो चिन्तनप्रेरित छ । यो भावप्रेरित छ । त्यसैले कहिलेकाहीं वास्तविकता र तथ्यभन्दा केही पर पनि देखिन्छ । यो अध्यात्मको विशेषता नै हो ।

पूर्वीय सनातन संस्कृतिले पूजामा मन्त्र मिसायो । पूजामा प्रशंसा मिसायो । पूजामा स्तुति पनि मिसायो । पूजामा स्वास्थ्य मिसायो । पूजामा प्रकृति मिसायो । पूजामा समग्र दिनचर्या मिसायो । पूजामा व्यवस्थापन मिसायो । पूजामा कार्यविभाजन मिसायो । कुनै वस्तुको व्यापार बढेको बेलामा मिसावट भए जस्तै यही मेलोमा विभेद पनि मिसाइयो । मानव हितकारी सकारात्मक मिसावटहरूलाई अझ सघन बनाउँदै अन्य मिसावटलाई छानीछानी इतिहासका पाना र सङ्ग्रहालयका खापामा थन्क्याउन आवश्यक छ ।

तर हामीले बुझ्नैपर्ने कुरा के हो भने गर्नेले गर्‍यो, गरिसक्यो । हामी गन्गनाएर, अन्कनाएर बस्छौं । हामीले संस्कृति निर्माण गर्न हुँदैन र ? ‘जति नै राम्रो भए पनि संस्कृति पुरानोमा टाक्सिएर रह्यो भने अन्धविश्वास बन्छ । संस्कृति भड्कियो र बाटो बिरायो भने विकृति बन्छ । यही संस्कृति समय सापेक्ष भयो र उचित सम्बर्द्धन गर्न सकियो भने सभ्यता बन्दछ ।’

समृद्धिका लागि साधन, स्रोत र सम्पदा सबैबाट सम्पन्न हुनु छ, हामी सबै सुखी हुनु छ, हामी सबै खुसी हुनु छ । यसका लागि मानिसका आँखाले देख्ने ढुङ्गा, इँटा, काठ, फलाम, खानी खनिजले गरेको विकासले मात्र समृद्धि र खुसी दिन सक्दैन । जातीय तथा धार्मिक आधारमा विभाजित मनस्थितिले यज्ञयज्ञादि, धम्मसभा, जल्सा आदि मात्र गरेर सांस्कृतिक विरासत अग्ल्याउन सक्दैनौं । सांस्कृतिक पुनर्जागरण समृद्धिको महत्वपूर्ण आयाम हो । हामीले उत्पादन, सिर्जना-निर्माण सँगसँगै सांस्कृतिक अनुशीलन र सन्तुलनलाई अघि बढाउन सक्नुपर्छ । सांस्कृतिक सङ्गति नभई समृद्धि पूर्ण हुन सक्दैन ।

(कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)


प्रतिक्रिया

One thought on “सांस्कृतिक सम्पन्नता र समृद्धि

  1. जुन वस्तु र वस्तुस्थितिले सन्तुष्टि दिन्छ, दिइरहन्छ, त्यो समृद्धि हो ।
    संक्षेपमा भन्नुपर्दा सम्पत्तिले सुखी बनाउनसक्छ भने समृद्धिले खुसी दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *