‘पञ्चायतकी आमा’ को जन्मदिनले उधिनेका केही रोचक किस्साहरू – Nepal Press

‘पञ्चायतकी आमा’ को जन्मदिनले उधिनेका केही रोचक किस्साहरू

शताब्दी उमेर पुग्न लागेका वरिष्ठ राजनीतिक विश्वबन्धु थापा भन्छन्- डा. तुलसी गिरी धेरै माथिल्लो हाइटको नेता थिए, जसलाई नेपालले धान्नै सकेन ।

काठमाडौं । डा. तुलसी गिरी बाँचिरहेका भए आज अर्थात सेप्टेम्बर २६ का दिन ९९ वर्ष पुग्ने थिए । लगभग उनकै उमेरका गिरीका साथी विश्वबन्धु थापा अहिले पनि विहान नक्साल नारायण चौरतिर यदाकदा मर्निङ वाकमा भेटिन्छन् । विश्वबन्धुले केही वर्षअघि एक अन्तर्वार्ताका क्रममा गिरीसँगका धेरै अन्तरंग सुनाएका थिए मलाई ।

बिहानै फेसबुकतिर कुनै एकजनाले डा. गिरीलाई पञ्चायतकी आमाको स्मरण भन्दै पोष्ट गरेपछि उनीसँग गाँसिएका केही किस्साहरू ताजा भए । ती किस्सा सुनाउनेमध्येका एक गोविन्ददास श्रेष्ठ बितिसकेका छन् । जोसँग मैले धेरै वर्ष पदयात्रा गरेँ र उनी तुलसी गिरीका युवाकालका विन्दास साथी थिए ।

केही दिनअघि कांग्रेस नेता तथा अर्थशास्त्री डा. विश्व पौडेलले फेसबुकबाटै डा. तुलसी गिरीलाई खलनायकका विम्बका रूपमा प्रस्तुत गर्दै लामो स्टाटस लेखेका छन् । कांग्रेस र रास्वपाबीच चलेको सहकारी युद्धका बेला उनले हानेको झटारो डा. स्वर्णिम वाग्लेतिर हो भन्ने बुझ्न सकिन्छ । कांग्रेस पंक्तिमा अहिले पनि तुलसी गिरी खराब बिम्ब हुन्, जसरी कम्युनिस्ट पंक्तिमा केशरजंग रायमाझी मानिन्छन् ।

राजाको सरकारले जनआन्दोलनमा दमन गरेको भनेर पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा छानविन आयोग बनेको थियो ०६३ मा । रायमाझी आयोगमा बयान दिएर फर्किने क्रममा गिरीलाई पत्रकारले २७ जना मारिएको जिम्मेवारी कसले लिन्छ भनेर सोधेका थिए । जवाफमा गिरीले भनेका थिए- जसले लिनुपर्ने हो, उसैले लिन्छ ।

डा. गिरीको निधन भएको दिन २०७५ पुस ४ गते आफू कार्यरत अनलाइनखबरमा गिरीसँग जोडिएका केही किस्साहरू जोडेर ‘अबिच्युरी’ लेखेको थिएँ । डा. गिरीसँग मेरो त्यतिसारो घनष्ठिता भएन, जति मेरा समकालीन पत्रकार र अहिलेका एमाले नेता विष्णु रिजालले दस्तावेजीकरणकै लागि गिरीसँग सम्बन्ध प्रगाढ बनाएका थिए ।

डा. तुलसी गिरीसँग मलाई २ पटक भेट गराएका थिए होटल र्‍याडिसनका संस्थापक अध्यक्ष गोविन्ददास श्रेष्ठले । गोविन्ददास र मेरो सम्बन्ध पारिवारिकजस्तै रह्यो । फोटो पत्रकार विष्णु कल्पित हाम्रो पदयात्रादेखि धार्मिक यात्राका साक्षी छन् । गोविन्ददास श्रेष्ठ, राधेश्याम शर्राफ र श्याम पाण्डेहरूसँगै मैले डा. गिरीसँग केही रमाइला साँझ भने बिताएको छु । एकपटक सत्यमोहन जोशी पनि भेटिएका थिए ।

थोमस हार्डीको कविताका पात्रहरूजस्तै

डा. तुलसी गिरीको ९९ औं जन्मदिनको सन्दर्भमा आज उनीसँग जोडिएका केही किस्सा सम्झना आए । जो कतिपय मैले यसअघि नै उल्लेख गरिसकेका सन्दर्भमा छन् । गिरीलाई आउडी गाडी दिने गोविन्ददास श्रेष्ठदेखि शहरका सुन्दरी युवतीहरूसँग डेट गराउने समकालीन साथीहरू पनि यो संसारबाट क्रमशः बिदा भइसकेका छन् ।

१९ औं शताब्दीका प्रख्यात बेलायती कबी थोमस हार्डीको ‘दि फाइभ स्टुटेन्ट’ का पात्रहरू डार्क ही,फेयर ही, डार्क शी, फेयर शी र कवि पात्रजस्तै डा. गिरीसँगका किस्सा सुनाउनेमध्येका धेरै पात्र अब यो संसारमा छैनन् । विश्वबन्धु थापा र एकाध अरु केहीबाहेक । यद्यपि नेपाली राजनीतिमा डा. तुलसी गिरी कन्ट्रोभर्सीका रूपमा सधैँ सम्झिनलायक पात्र हुन् ।

‘राजतन्त्र र बहुदलीय व्यवस्था सँगै जान सक्दैनन्’ ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि मन्त्रिपरिषदको उपाध्यक्ष बनेका डा. तुलसी गिरीले सूचना विभागको हलबाट यसो भनेपछि ठूलो विवाद भयो ।

लामो राजनीतिक ग्यापपछि स्वदेश फर्केर गिरीले आयोजना गरेको पत्रकार सम्मेलनमा म पनि उपस्थित थिएँ । ज्ञानेन्द्रले अब ३० वर्ष शासन गर्छन् भन्ने लख काटिरहनेहरूका लागि गिरीका भनाइ अर्थपूर्ण थियो । उनी दलहरूमाथि प्रतिबन्ध लगाइनुपर्छ नत्र राजाको कदमको अर्थ छैन भन्नेमा थिए । ज्ञानेन्द्र अध्यक्ष रहेको मन्त्रिपरिषदकै अरु सदस्यले समेत गिरीको भनाइ व्यक्तिगत हो भने ।

राजा ज्ञानेन्द्रले राजनीतिक दलका नेताहरूलाई जेल र घरभित्रै नजरबन्दमा राखेर दलीय गतिविधि गर्न रोक लगाए पनि बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रप्रति आफ्नो विश्वास कायमै रहेको बताइरहेका थिए । अन्तर्राष्ट्रिय समुदायलाई उनले बहुदलीय प्रजातन्त्रभन्दा आफू बाहिर नजाने बताइरहेका थिए राजाले ।

तर, सोही बेला राजाको मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीले पत्रकार सम्मेलन गरेरै राजतन्त्र र बहुदलीय प्रजातन्त्र सँगै जान नसक्ने आफ्नो अडान दोहोर्‍याएका थिए । वास्तवमा डा. तुलसी गिरी राजा महेन्द्रका सच्चा अनुयायीमात्र थिएनन्, निर्दलीय पञ्चायती शासन व्यवस्थाका आर्किटेक्ट पनि थिए । जुन राजा महेन्द्रलाई पछिल्लो समयमा प्रचण्डले समेत भिजनरी भनेका छन् ।

कांग्रेसका कमाण्डर, राजाका भित्रिया

९९ वर्षअघि सिराहा जिल्लाको बस्तीपुरमा जमिन्दार परिवारमा जन्मिएका गिरीले ऊ बेलामै डाक्टरी पढ्ने अवसर पाएका थिए । उनी पेशाले चिकित्सक थिए । उनको परिवारका भतिजा प्रदीप गिरी कांग्रेसका नेताकै रूपमा यो संसारबाट बिदा भइसकेका छन् भने बुहारी सरिता गिरीको राजनीति उथलपुथलमै बितिरहेको छ ।

डा. गिरी नेपाली कांग्रेसको पहिलो पुस्ताका नेता थिए । वीपी कोइराला सभापति हुँदा उनी पार्टीका महामन्त्री थिए । ०१५ सालको आम निर्वाचनमा सिराहाबाट सांसद निर्वाचित भएपछि वीपी कोइरालाको क्याबिनेटमा उनी परराष्ट्रमन्त्री बने । विश्वबन्धु थापा त्योबेला कांग्रेस संसदीय दलको मुख्य सचेतक थिए । गिरी र थापा दोस्तीमात्र भएनन्,महेन्द्रले वीपीलाई अपदस्थ गरेपछि राजाका सारथी पनि रहे ।

गिरी निकै चलाख भएकाले वीपी कोइराला उनीसँग सशंकित हुने गर्थे । थापाका अनुसार गिरीले के गर्छन् भनेर वीपीले गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई गुप्तचर नै खटाएका थिए । राजा महेन्द्रले आफूविरुद्ध गिरीलाई प्रयोग गरेको सुइँको वीपीले गुप्तचरबाटै पाएका थिए । यो कुरा केही वर्षअघि सन्त गाहा मगर (हाल हिमाल खबरपत्रिकाका सम्पादक) र मसँगको कुराकानीमा थापाले सुनाएका थिए ।

गिरी रसरंगका मामिलामा मनमौजी थिए र कहिले कहिँ दरवारकै राजकुमारी शाहजादीहरूलाई पनि आँखा झिम्क्याउँथे । उनी एउटै महिला साथीसँग सन्तुष्ट नहुने खालका रसिक थिए । गाडी र सुन्दरी उनका मुख्य कमजोरी थिए भन्थे गोविन्ददास श्रेष्ठ ।

कांग्रेसमा वीपीका उत्तराधिकारी हुन सक्ने क्षमताका गिरीले अन्ततः राजाका लागि कांग्रेस त्यागे । व्यवस्था त्यागे । श्रीमती त्यागे । देश त्यागे । धर्म पनि त्यागे । तर, साराह योञ्जनलाई भने देह त्याग्ने बेलासम्म साथ दिए । धेरैलाई थाहा नहुन पनि सक्छ,गिरी मन्त्री हुँदा उनका पिए थिए सुशील कोइराला,जो पछि गएर देशको प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापति बने ।

डा. तुलसी गिरीको ९९ औं जन्मदिनको सन्दर्भमा आज उनीसँग जोडिएका केही किस्सा सम्झना आए । जो कतिपय मैले यसअघि नै उल्लेख गरिसकेका सन्दर्भमा छन् । गिरीलाई आउडी गाडी दिने गोविन्ददास श्रेष्ठदेखि शहरका सुन्दरी युवतीहरूसँग डेट गराउने समकालीन साथीहरू पनि यो संसारबाट क्रमशः बिदा भइसकेका छन् ।

त्यहीबीचमा ०१७ साल भदौ ३० गते डा. गिरीले परराष्ट्रमन्त्रीबाट राजीनामा दिए । दुई तिहाइ बहुमतको सरकारले जति काम गर्नुपर्थ्यो, त्यो गर्न नसकेको भन्दै उनले राजीनामा दिएपछि खैलाबैला मच्चिएको विश्वबन्धु थापा सम्झिन्छन् । त्यसको तीन महिनापछि त राजाले वीपी कोइरालालाई बर्खास्त गरिहाले । सायद गिरीले राजाको संकेत अनुसार राजीनामा दिएका थिए कि ?

राजाले पञ्चायत व्यवस्था लागू गरेपछि गिरी र विश्वबन्धु दुबैले राजालाई साथ दिए । त्यो बेला पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार राजा महेन्द्रले शासन सत्ता हातमा लिएपछि तुलसी गिरी र विश्वबन्धुको ‘चकचकी’ थियो । किनकी उनीहरू दुवैजना कांग्रेसको माथिल्लो तहका चर्चित नेता थिए, जो पार्टी छाडेर महेन्द्रतिर लागेका थिए ।

राजा महेन्द्रको सरकारमा गिरी पहिलो नम्बरको वरीयतामा रक्षा र परराष्ट्रमन्त्री बने । त्यसको २ वर्षपछि ०१९ सालमा उनी मन्त्रिपरिषदको अध्यक्ष बने । २ वर्ष मन्त्रिपरिषद अध्यक्ष बनेका गिरी त्यसपछि एकैचोटि ०३२ सालमा प्रधानमन्त्री बनेर ०३४ सालसम्म कायम रहे । यद्यपि उनी विवादमा भने परिरहे ।

नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने मौका डा. गिरीले नै पाए । उनी मन्त्रिपरिषदको अध्यक्ष हुँदा जम्मा ३५ वर्षका थिए । नेपालको तेइसौं प्रधानमन्त्री डा. गिरीलाई उनीसँग सहकार्य गरेकाहरू राजा महेन्द्रका अनुयायी भन्छन् । उनी वीपी कोइरालाका आलोचक थिए । गिरीले कम्युनिष्टलाई भने कहिल्यै महत्व दिएनन् ।

गाडी र सुन्दरीका शौखिन

मान्छेका आ-आफ्ना कमजोरी हुन्छन् । वीपी कोइरालाले कतिपय आफ्नो कमजोरी भनेर आत्मकथामै स्वीकार गरेका छन् । गिरीमा पनि वीपीकै जस्तै कमजोरी थियो भन्छन् उनका सहकर्मीहरू । त्यसैले उनको विवाह पनि तीनजना महिलासँग भयो ।

डा. गिरीसँग लामो संगत गरेका होटल र्‍याडिसनका अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी स्वर्गीय गोविन्ददास श्रेष्ठका अनुसार गिरी गाडीमा पनि औधी शौखिन थिए । व्यवसायी श्रेष्ठले मसँग बताएको कुरा मैले त्यसबेला पनि लगेको थिएँ,कसैले नयाँ र राम्रो गाडी चढेको देखे भने गिरी त्यो गाडी मगाएर किन्ने र बेच्न तयार नभए दुईचार दिन भने पनि चलाउँथे ।

श्रेष्ठले मसँग भनेको कुरा उनी जीवित हुँदै यसरी प्रकाशित समेत भएको थियो- २० को दशकमा काठमाडौंमा आउडी एलएस १०० गाडी चढ्ने म एकमात्र थिएँ । मैले त्यो गाडी जर्मनीबाट मगाएको थिएँ । काठमाडौंको सडकमा त्यो बेला गाडी नै कम हुन्थे । त्यसमा पनि संसारको सबैभन्दा महँगो र राम्रो आउडी कार त मेरोमात्रै थियो । गिरीजीले त्यो गाडी मेरो भन्ने थाहा पाएपछि बेच्न धेरै आग्रह गरे । तर, मैले नबेच्ने भनेपछि केही समय चलाएर फिर्ता गरे ।

राप्रपा नेपालका नेता कमल थापाका अनुसार काठमाडौं उपत्यकाका भीमफेदीबाट बोकाएर ल्याइएका सीमित गाडी चढ्नेमध्येका तुलसी गिरी पनि एक हुन् ।

गिरीको पहिलो बिहे जनकपुरमा भएको थियो । पछि कालिम्पोङबाट काठमाडौं आइपुगेकी सुन्दरी साराह योन्जनसँग उनी आशक्त भए । साराहले काठमाडौंमा धेरै धनाढ्य मित्रहरू बनाएकी थिइन् । डा.गिरीसँग उनको सम्बन्ध धेरै वर्ष चलेपछि बिहे भयो । त्योबेलाका धेरै घरानियाँ सुन्दरीहरू गिरीका साथी थिए ।

गिरीका सहयात्री श्रेष्ठका अनुसार साराह योन्जन त्यो जमानाकी अत्यन्तै सुन्दरी युवती थिइन् । उनीसँग मित्रता गाँस्न तत्कालीन अधिराजकुमारहरू पनि आशक्त थिए । उनका अनुसार गिरीले लामो समय उनलाई ‘मिस्ट्रेस’ (विवाहेत्तर सम्बन्ध) मा राखे । उनकै लागि आफ्नो हिन्दू धर्म त्यागेर बाप्टिजम (क्रिश्चियन धर्मकै एक हाँगो) अँगाले ।

साराह योञ्जन अहिलेजस्तो हो भने चर्चित मोडल थिइन् । उनी कुशल नृत्यंगना पनि हुन् । पछिल्लो समय उनी डाउन सिण्ड्रोम भएका बालबालिकाहरूका लागि स्वयंसेवी रूपमा काम गरिरहेकी छन् ।

मृत्युको केही दिनअघिसम्म धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा नियमित चेकअप गर्न जाँदा पनि उनी साराहसँगै थिए । डा. अर्जुन कार्कीको टिमले उनको स्वास्थ्य परीक्षण गरिसकेपछि बाहिरने क्रममा गिरी निकै कमजोर देखिएको ह्याम्सका अध्यक्ष आरएस भण्डारीको सम्झनामा छ ।

पञ्चायतकी आमा

नेपाली कांग्रेसका महामन्त्री एवं वीपी कोइरालाका मन्त्रिपरिषदबाट राजीनामा दिएर राजा महेन्द्रको भित्रिया बनेका गिरीलाई ‘पञ्चायतकी आमा’ भनियो । वास्तवमा दुई तिहाइ बहुमत प्राप्त वीपी कोइरालाको सरकारलाई बर्खास्त गरेर पञ्चायत व्यवस्था लागू गर्ने राजा महेन्द्र भए पनि यसको जन्मदाता गिरी नै थिए भनिन्छ ।

नेपाली कांग्रेसले ०१५ सालको निर्वाचनमा दुई तिहाई बहुमत पाएको थियो । वीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, डा. तुलसी गिरी, परशुनारायण चौधरी, विश्वबन्धु थापाहरू शक्तिशाली कांग्रेस पार्टीका प्रमुख नेता थिए । गिरी कांग्रेसका महामन्त्री थिए ।

गिरी निकै चलाख र बौद्धिक भएकै कारण वीपी कोइरालाले महत्वपूर्ण जिम्मेवारी दिएका थिए । यद्यपि गिरीले कुनै पनि बेला ओभरटेक गर्ने त्रास वीपीमा देखेका थिए विश्वबन्धु थापाले ।

कुनै बेला गिरीका घनिष्ठ मित्र रहेका विश्वबन्धु थापासँग गिरीको निधनलगत्तै मसँग कुरा गर्दै उनले भनेका थिए- अहिले म केही बोल्न सकिरहेको छैन । गिरीजीसँग मेरा हजारौं किस्साहरू मानसपटलमा घुमिरहेका छन् । गिरीजी धेरै माथिल्लो हाइटको नेता हो, जुन नेपालले धान्नै सकेन ।

यद्यपि गिरीले ०१७ सालमा तत्कालीन राजा महेन्द्रलाई साथ दिएर कांग्रेसलाई घात गरेपछि कहिल्यै बहुदलीय व्यवस्थाप्रति विश्वास गरेनन् । ०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि पुराना पन्चहरू नयाँ पार्टी खोलेर बहुदलीय राजनीतिमा आए । कतिपय पञ्चहरू कांग्रेस र कम्युनिस्ट पार्टीमा गए । तर, डा. गिरी राजनीतिमा फर्किएनन् । उनीमाथि पनि राजनीतिक पार्टी खोल्न वा कांग्रेसमा फर्किन दबाब थियो ।

अरु फर्के, जो फर्किएनन्

उनीसँगै कांग्रेसबाट बाहिरिएका विश्वबन्धु थापा, परशुनारायण चौधरीहरू पुनः पार्टी राजनीतिमा लागे । विभिन्न कालखण्डमा कांग्रेस छाडेर गिरीकै मिसनमा पन्च बनेका पद्मशंकर अधिकारी, अर्जुननरसिंह केसी, विपीन कोइराला, शिवबहादुर खड्काहरू पुनः कांग्रेसमा फर्किएर सांसद मन्त्री भए । डा.तुलसी गिरी भने आफ्नो सिद्धान्तबाट विचलित भएनन् ।

गिरीको सिद्धान्त यो थियो कि राजतन्त्र र बहुदलीय प्रजातन्त्र सँगै जान सक्दैनन् । राजा न त निरंकुश हुन्छन्, न त संवैधानिक नै । उनी त आफ्ना जनताप्रति जिम्मेवार एउटा सामान्य राजा हुन्छन् ।

पञ्चायतकालमा मूलतः दुईवटा ‘स्कूल अफ थट’ थिए- डा. तुलसी गिरी र सूर्यबहादुर थापा । डा. गिरी राजा महेन्द्रका अनुयायी थिए । महेन्द्रले तुलसी गिरीप्रति भरोसा गर्थे । गिरीले राजतन्त्रमै सार्वभौमसत्ता निहीत हुन्छ भन्थे । जनतामा सार्वभौमसत्ता हुने कुराको गिरी विपक्षमा थिए । दलीय प्रणालीमा सहभागी हुनु उनको विचारमा पाखण्ड थियो ।

गिरीले राजा एक्लै नै नेपाली जनताको विकासका लागि जिम्मेवार छन् भन्ने पैरवी गरे । अर्कातिर सूर्यबहादुर बहादुर थापा पञ्चायतभित्रै पनि प्रजातन्त्र र सुधारको कुरा गर्थे । शासन प्रशासनमा राजपरिवारको बढ्ता संलग्नतालाई थापाले भूमिगत गिरोहको संज्ञा दिएका थिए ।

राजाको मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीले पत्रकार सम्मेलन गरेरै राजतन्त्र र बहुदलीय प्रजातन्त्र सँगै जान नसक्ने आफ्नो अडान दोहोर्‍याएका थिए । वास्तवमा डा. तुलसी गिरी राजा महेन्द्रका सच्चा अनुयायीमात्र थिएनन्, निर्दलीय पञ्चायती शासन व्यवस्थाका आर्किटेक्ट पनि थिए । जुन राजा महेन्द्रलाई पछिल्लो समयमा प्रचण्डले समेत भिजनरी भनेका छन् ।

सूर्यबहादुर थापा राजा वीरेन्द्रको शासनकालमा हाबी भएपछि तुसली गिरीले पञ्चायतको पतन हुँदैछ भनेर देश छाडेका थिए । ०३६ सालमा निर्दलीय पञ्चायती व्यवस्था कि बहुदलीय प्रजातन्त्र भनेर जनमत संग्रह गरिने भयो । प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । राजाले जनमत संग्रह घोषणा गरेकोमा सैद्धान्तिक असहमति जनाउँदै गिरीले देश छाडे । उनी लामो समय श्रीलंका हुँदै भारतको बैंगलोरमा बसे ।

गिरी पञ्चायतभित्रका ‘हार्डलाइनर’ थिए । तर, महेन्द्रको अवसानपछि उनको लाइन कमजोर हुँदै गएको मानिन्छ । उनको विचार ज्ञानेन्द्रसँग मिल्यो । राजनीतिबाट अलग भएको करिब २७ वर्षपछि तत्कालीन राजा ज्ञानेन्द्रको आग्रहमा उनी शासन सत्तामा फर्किएका थिए ।

तर, तुलसी गिरीको राजनीतिक चकचकीका बेलामा र ०६१ को नेपाली चेतनामा धेरै परिवर्तन आइसकेको थियो । गिरीले नेपालको नयाँ पुस्ता र अन्तरराष्ट्रिय परिवेश बुझेनन् त नभनौं, तर उनी परिवर्तन हुन चाहेनन् । राजालाई उनले कि दलमाथि प्रतिबन्ध लगाएर अघि बढ्न, कि त छाड्न सुझाव दिएको उनीसँगै काम गरेकाहरू सुनाउने गर्छन् ।

ठ्याक्कै मिलेको गिरीको अन्तिम घोषणा

राजामा आँट नदेखेपछि पछिल्लो समयमा गिरी निराश देखिएका थिए । त्यही बीचमा जनआन्दोलन सफल भएर माओवादी समेत मूलधारमा आएपछि गिरीको अध्याय समाप्त भयो । गिरीले आफ्नो अनुदारवादी लाइनमा राजालाई ल्याउन सकेनन् । त्यसपछि अब नेपालमा राजतन्त्र र बहुदलमध्ये एउटामात्र रहने घोषणा उनले गरिसकेका थिए । भयो पनि त्यही ।

राजाको सरकारले जनआन्दोलनमा दमन गरेको भनेर पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा छानविन आयोग बनेको थियो ०६३ मा । रायमाझी आयोगमा बयान दिएर फर्किने क्रममा गिरीलाई पत्रकारले २७ जना मारिएको जिम्मेवारी कसले लिन्छ भनेर सोधेका थिए । जवाफमा गिरीले भनेका थिए- जसले लिनुपर्ने हो, उसैले लिन्छ ।

त्यसपछि के भयो ? सबै वर्तमानमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *