शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर दिने अपिको प्रस्ताव अस्वीकृत
काठमाडौं । अपि पावर कम्पनीले आफ्ना लगानीकर्तालाई दिन लागेको ९ प्रतिशत बोनस शेयर अस्वीकृत भएको छ । अपि पावरको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णयानुसार कम्पनीले लाभांश वितरण स्वीकृतिका लागि भदौ ९ मा विद्युत नियमन आयोगमा निवेदन दिएको थियो ।
अपिले आयोगमा निवेदनका साथ बुझाएको कागजातहरूको अध्ययन गरेर कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणबाट कागजी वृद्धि (अनरिअलाइज गेन) लाई खुद मनाफामा देखाई लाभांश वितरणको सन्दर्भमा स्पष्ट तथ्यसहित जवाफ पेश गर्न भनेको थियो । त्यसपछि अपिले भदौ २० गते आयोगलाई स्पष्टीकरण दिँदै २०८०/८१ को वित्तीय विवरण नेपाल लेखा प्रतिवेदन मान अनुरुप तयार पारिएको र सो लेखा प्रतिवेदन मानमा कम्पनीको स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको र सो बजार मूल्यको थपघटलाई नाफा-नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखांकन गर्न पाउने व्यवस्था बमोजिम गरेको बताएको थियो ।
अपिको उक्त जवाफमा असहमति जनाउँदै उसको सञ्चालक समितिले निर्णय गरेको लाभांश वित्तरणको प्रस्ताव आयोगले अस्वीकृत गरेको हो । कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) ले वर्जित गरेको हुँदा स्वीकृति दिन नमिल्ने आयोगको निष्कर्ष छ ।
अपिले अधिकृत पूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९ सय १२ र कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९ सय १२ रहेकोमा त्यस कम्पनीको भदौ ७ मा बसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको २०८०/०८१ को खुद मुनाफाबाट हाल कायम रहेको कम्पनीको चुक्ता पूँजीको शेयर धनीहरुलाई ९० प्रतिशतका दरले बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।