सरकारी अधिकारीको रोहबरमा ओरेन्टलका सुधीरको बचन- जग्गा दिएर दशैँअघि हिसाब मिलाउँछु – Nepal Press
सहकारी प्रकरण

सरकारी अधिकारीको रोहबरमा ओरेन्टलका सुधीरको बचन- जग्गा दिएर दशैँअघि हिसाब मिलाउँछु

ओरेन्टलका ४२५९ जना बचतकर्ताले ३ अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रूपैयाँ मागदाबीसहित दिएका थिए निवेदन

काठमाडौं । ओरेन्टल सहकारीका तत्कालीन अध्यक्ष सुधीर बस्नेतले बचतकर्ताको फसेको रकम जग्गा दिएर मिलाउने आश्वासन दिएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा भेला भएका पीडितहरूलाई उनले जग्गा दिएर भए पनि हिसाब मिलाउने बताएका हुन् ।

बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा बचतकर्तासँग कार्ड संकलन गर्दै ल्याप्चे लगाउन व्यस्त बस्नेतले भने, ‘बल्ल बल्ल रोक्का रहेको जग्गा फुकुवा गरेको छु । अब जग्गा नै दिएर दशैँअघि नै बचत फिर्ता गर्छु । दशैँअघि नभ्याइएकाको पछि पनि मिलान गराइदिन्छु ।’

उनको यस अभिव्यक्तिमा बचतकर्ता त्यति विश्वस्त देखिएनन् । एक बचतकर्ताले कार्ड सुधीरको हातमा थमाउँदै भने, ‘भएको एउटा प्रमाण पनि तपाईँलाई दियौं । पहिला त बचत पाएनौ अब त प्रमाण पनि बुझायौं । यसमा झेल नहोस् ।’

भक्तपुरको गुण्डुमा सुधीरको २७६ रोपनी जग्गा छ । सोही जग्गा ६ सय ३२ बचतकर्तालाई दिने प्रस्ताव सुधिरले यसअघि नै समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमा गरेका थिए । र, कार्यालयले उनलाई जबर्जस्ती जग्गा नभिडाउने र लिन चाहनेका लागि मात्र दिने शर्तमा स्वीकृत दिएको छ ।

कार्यालयका सदस्य काशीचन्द्र बराल सुधीरले २७६ रोपनी जग्गा भएको भनेपनि आफ्नो स्थलगत अध्ययनले भने १६० रोपनी जग्गा मात्र बेच्न योग्य रहेको देखिएको बताए । उनका अनुसार बाँकी खोला र जंगलको भू-भाग छ ।

बरालले भने, ‘गुण्डुको जग्गा सुधीरका आफ्ना आफन्त र ऋणीको नाममा रहेको छ । अन्त कतै केही पनि छैन । भएका पनि बैंकले रोक्का राखेको छ । बचत फिर्ता गर्ने यो जग्गाबाहेक अरु कुनै आधार अहिलेसम्म भेट्टाएका छैनौं । ’

२ वर्षअघि पनि ओरेन्टेलले ८२ जना बचतकर्तालाई गुण्डुको जग्गा दिएर हिसाब मिलान गरेको थियो । सोही नजिरलाई टेकेर यस पटक पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले गुण्डुको जग्गा बचतसँग मिलान गर्न स्वीकृत दिएको हो ।

बरालले अहिले करिब ३ सय जना बचतकर्ताले सो जग्गा लिन इच्छुक देखिएको बताए । त्यो ठाउँको जग्गाको भाउ प्रतिआना १० देखि १५ लाख रूपैयाँसम्म छ ।

ओरेन्टल कोअपरेटिभका ४ हजार २५९ जना बचतकर्ताले ३ अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रुपैयाँ बचत मागदाबीसहित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमा निवेदन दिएका थिए । यो सहकारी दोस्रो पटक २०७९ असोज ७ गते समस्याग्रस्त घोषणा भएको थियो ।

संसदीय छानबिन समितिमा के भनेका थिए सुधीरले ?

संसदीय छानबिन समितिसँगको बयानमा बस्नेतले ओरेन्टलको समस्या समाधानका लागि समस्याग्रस्त व्यवस्थापन समितिलाई कार्ययोजना पटक-पटक बुझाएको बताएका छन् ।

यस्तो छ उनको बयान-

कार्ययोजना अन्तर्गत लिन मन्जुरी भएका बचतकर्ताहरूलाई वचत बराबरको सम्पति बाँडेर बचत फिर्ता गर्न सकिन्छ । हामीले सोही अनुरुपको कार्य समेत सुरु गरिसकेका थियौं । जसमध्ये भक्तपुर गुन्डुको १३ रोपनी जग्गा समितिबाट फुकुवा भएपछि करीब २३ करोड रकम बराबर भएका बचतकर्ताहरूलाई बाँडियो । सो पश्चात थप जग्गा लिन मन्जुर भएका १ अर्ब ७२ करोड रकम बराबरको बचत भएका बचतकर्ताहरूको नामावली समस्याग्रस्त व्यवस्थापन समिति समक्ष पेस गरेका छौं । जसमध्ये १८ करोड बराबर रकम बचत भएका बचतकर्ताहरूलाई सनाखत समेत गराइसकिएको छ। हाल आएर समस्याग्रस्त व्यवस्थापन समितिका पदाधिकारी परिवर्तन भएको हुँदा उहाँरूले बुझ्न समय लाग्ने र मन्त्रालयमा स्वीकृतिको लागि पत्र पठाउनु भएको भनि जानकारी गराउनु भएको छ। हाल बचतकर्ताहरूसँग सनाखत गर्ने कार्य समेत रोक्नु भएको छ। यदि हामीले हाम्रो कार्ययोजना अनुरुप सहज रूपमा सम्बन्धित बचतकर्ताहरूलाई जग्गा वितरण गर्न पाएमा नौ महिना देखि एक वर्ष भित्रमा सम्पूर्ण वचतकर्ताहरूलाई बचत फिर्ता गर्न सक्ने अवस्थामा छौं। साथै साना वचतकर्ताहरूको हकमा विभिन्न जिल्लामा भएका सम्पत्ति र भक्तपुर गुन्डुका केही जग्गाहरू विक्री गरी वचत रकम फिर्ता गर्न सकिने छ। हाम्रो कार्ययोजनाको एक प्रति प्रतिलिपि यस समितिमा पनि पेश गरिसकेका छौं। नेपाल सरकार के रोहबरमा वचतकर्ताहरूलाई वचत रकम बराबरको जग्गा बाँड्न पाएमा समस्या समयमै समाधान हुने थियो ।

हामीसँग भएको सम्पत्तिहरू बचतकर्ताहरूको मन्जुरीमा उनीहरूलाई उपलब्ध गराउन नेपाल सरकारले बचतकर्ताहरूको मन्जुरी लिएर सनाखत गराई नेपाल सरकार के रोहबरमा बचतकर्ता वा बचतकर्ताहरले मन्जुरी दिएको व्यक्ति के नाममा पास हुने गरि फुकुवा भएमा सहकारीको समस्या समाधान गर्न सहज हुने थियो ।

अरु सहकारीको पनि १ लाखभन्दा कम अशक्तहरूको रकम फिर्ता प्राथमिकतामा

समस्याग्रस्त सहकरी व्यवस्थापन कार्यालयले अरु सहकारीको पनि १ लाखभन्दा कम बचत भएका अशक्त र बिरामीको रकम फिर्ता गर्ने तयारी गरेको छ । यस कार्यालयसँग हाल २२ वटा सहकारी व्यवस्थापनको जिम्मेवारी छ ।

समस्याग्रस्त घोषणा भएका यी सहकारीका करिब ७० हजार बचतकर्ताले हालसम्म बचत फिर्ताको मागदाबी सहित कार्यालयमा निवेदन दिएका छन् । तीमध्ये करिब ४० हजार बचतकर्ताको १ लाख रूपैयाँभन्दा कम रकम फसेको छ । ती साना बचतकर्ताबाट पनि बिरामी अपाङ्ग, अशक्त र असहायको भने रकम फिर्ता दशैँअघि नै गरिने कार्यालयका अधिकारीले बताएका छन् । यसबाट करिब २ हजारको बचत दशैँअघि फर्काउने तयारी छ ।

सहकारी छानबिन विशेष संसदीय समितिको प्रतिवेदनअनुसार यस्तो छ ओरेन्टलको वित्तीय विश्लेषण र देखिएका समस्या


प्रतिक्रिया

One thought on “सरकारी अधिकारीको रोहबरमा ओरेन्टलका सुधीरको बचन- जग्गा दिएर दशैँअघि हिसाब मिलाउँछु

  1. अहिले सहकारी ठगहरूलाई कारवाहीको सिजन चलेकाले यस्तो भनाइ आएको हुनसक्छ । जग्गा दिएर मिलाउने भए यत्रो वर्ष के हेरेर बसेको ? अब भिर पाखा बिक्दैन भनेर जग्गाको लोभ देखाएको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *