भन्सार र सीमामा कडाई गर्न ४ व्यावसायिक संस्थाको माग – Nepal Press

भन्सार र सीमामा कडाई गर्न ४ व्यावसायिक संस्थाको माग

अबैध कारोवारले राजश्व संकलनमा असर परेको ठहर

रुपन्देही । रुपन्देहीमा क्रियाशील ४ व्यवसायिक संस्थाहरुले कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोवारले राजश्व संकलन तथा व्यवसायिक कारोवारमा असर गरेको भन्दै त्यसलाई रोक्न भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् ।

रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले विहीवार संयुक्तरुपमा भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै कडाईसाथ भन्सार नियमन नगरिँदा तथा खुल्ला सीमाबाट भइरहेको अबैध कारोवारले सरकारको राजश्व संकलनमा असर पर्नुका साथै नीजि क्षेत्रका व्यवसायीहरुको व्यवसायलाई समेत प्रभाव पारेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाई गर्न आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा विभिन्न कारणबाट देशको अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरु धाराशाही बनेको अवस्थामा सीमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले थप पलायन हुन अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।

कमजोर निर्यात क्षमता र आयातमा आधारित अर्थतन्त्रमा सीमा नाकाबाट हुने अबैध कारोवार र खुल्ला गतिविधिले धेरै नै असर गर्ने बताउँदै ज्ञापनपत्रमा सरकारी निकायले आयात राजश्वलाई आम्दानीको मुख्य स्रोतको रुपमा लिँदै आएको बर्तमान अवस्थामा भन्सार तथा खुल्ला सीमाबाट भइरहेको अबैध कारोवारले प्रभाव पार्ने भन्दै सुधारका लागि आग्रह गरिएको छ ।

सरकारले एकातिर भन्सार राजश्वलाई आम्दानीको मुख्यस्रोत मान्दै आएको छ भने अर्कोतर्फ कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोवारले राज्यको राजश्व गुम्नुका साथै नेपालको व्यवसाय क्षेत्र धाराशाही बन्दै गएको बताउँदै राजश्व बलियो बनाउन तथा व्यवसायलाई धाराशाही हुनबाट जोगाउन भन्सार तथा खुल्ला सीमा नियमन अतिआवश्यक रहेको सुझाव ती संस्थाहरुले दिएका छन् ।

सो अवसरमा रुपन्देही व्यापार संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले नेपालीहरुका प्रमुख चाडपर्वहरु नजिक आएको अवस्थामा पनि नेपाली वजार सुनसान बनेको बताउँदै सीमा क्षेत्रबाट हुने अवैध कारोवार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने जनाए । उनले अबैध कारोवार रोक्न र भन्सार नियमन गर्न व्यवसायीक संस्थाहरुले सधै साथ दिने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले दशैतिहारजस्ता प्रमुख चाडहरुमा नेपाली बजार सुनसान हुने भारतीय वजार गुल्जार हुने बातावरण सरकारी निकायको कमजोरीका कारण भएको उल्लेख गर्दै देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जान अनुरोध गरे ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अबैध कारोवारका कारण नेपाली उद्योगहरुको उत्पादन ५० प्रतिशतमा झरेरको बताउँदै सीमा नियमन कडाई गर्दै अबैध रुपमा हुने सबैप्रकारका कारोवार रोक्न, अनुगमन तथा निगरानी बढाउन भन्सार कार्यालयलाई आग्रह गरे ।

उद्योग व्यापार संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले सरकारी कार्यालयहरुको समन्वय र सक्रियामा देखिएको ढिलासुस्तीले अबैध कारोवारीले प्रश्रय पाएको अरोप लगाउँदै भन्सारमा कडाई गर्ने कुरामा गम्भीर बन्न अनुरोध गरे ।

ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले सीमाबाट हुने अबैद्य कारोवार र भन्सार नाकाहरुमा देखिएको सुस्ताप्रति आफू सचेत रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्ने कुरामा आफु गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाए । उनले भन्सार तथा सीमा नियमन कडाई नगरिए कर तथा राजश्वको असुलीमा असर पर्ने कुरामा आन्तरिक समीक्षा पनि भएको जानकारी गराउँदै त्यसका लागि राज्यका निकायहरुमा समन्वय र निजी क्षेत्रका व्यवसायिक संस्थाहरुको सहयोग जरुरी रहेको कुरामा जोड दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै सीमा क्षेत्रको सुरक्षा प्रबन्धका देखिएका कमजोरीमा सुधार गर्दै कुनै पनि प्रकारका अबैध धन्दालाई निरुत्साहित गर्ने कुरामा आफू जिम्मेवार बन्नेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *