अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दाको अनुसन्धानको प्रगति विवरण झिकाउन सर्वोच्चको आदेश – Nepal Press

अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दाको अनुसन्धानको प्रगति विवरण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको जाहेरीमा हालसम्म भएको अनुसन्धानको विवरण झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ ।

संवैधानिक इजलासले बुधबार जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारवाहीसम्बन्धी सक्कलै फाइल पेश गर्न आदेश गरेको छ ।

प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्षताको इजलासमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत,सपना मल्ल,प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी छन् ।

सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।

सापकोटालाई सभामुख र मन्त्री बनाउने निर्णयविरुद्ध परेका रिटको लामो समयसम्म फैसला आएको छैन । पटक पटक पेशीमा चढे पनि यसको निर्णय सुनुवाइ भने अन्तिममा टर्ने गरेको छ ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।

त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिला विज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर