आगामी चार दिन ५७ जिल्लामा भारी एवं अति भारी वर्षा हुने प्रक्षेपण
हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहीबारदेखि १३ गते आइतबारसम्म चार दिन सात वटै प्रदेशका विभिन्न जिल्लामा भारी एवं अति भारी मनसुनी वर्षा हुने भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ तथा मधेश प्रदेशका सिरहा, सप्तरी र पर्सा जिल्लामा भारी एवम अति भारी वर्षा हुने अनुमान गरिएको छ ।
यस्तै बागमती प्रदेशको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप, गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ्ग, गोरखा र मनाङमा भारी बर्ष हुने विभागले अनुमान गरेको छ ।
लुम्बिनी प्रदेशको रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, कर्णालीको जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाममा भारी बर्षा हुने विभागले जनाएको छ ।
यि जिल्लामा विपद्का घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार सर्तकता बढाउन र तयारी अवस्थामा बस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लामा असोज ११ र १२ गते रात्रीकालीन बस नचलाउन आग्रह गरिएको प्राधिकरणका प्रवक्ता समेत रहेका उपसचिव डा।डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार प्राधिकरणले यसै अवधिमा धान नकाट्न, काटिसकेको भए तत्काल थन्काउन, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न आग्रह गरिएको छ ।
यस्तै पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान, खोज तथा उद्धारका लागि तीन वटै सुरक्षा निकाय एवं स्वयंसेवक तयारी अवस्थामा रहन, यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न आग्रह गरिएको छ ।
साथै बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबीन, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही ‘अलर्ट’ मा रहन तथा विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्ने व्यवस्था गर्न भनिएको छ ।