गोर्खाज फाइनान्स जोगाउन लाहुरेहरू आन्दोलनको तयारीमा- अध्यक्ष बुढाथोकीले मनोमानी गरेको आरोप – Nepal Press

गोर्खाज फाइनान्स जोगाउन लाहुरेहरू आन्दोलनको तयारीमा- अध्यक्ष बुढाथोकीले मनोमानी गरेको आरोप

काठमाडौं । गोर्खा सैनिकहरूको लगानीमा रहेको गोर्खाज फाइनान्स अध्यक्ष गौरव बुढाथोकीको हालीमुहालीले संकटउन्मुख बनेको भन्दै लाहुरेहरूले आन्दोलनको तयारी थालेका छन् ।

कुनै बेला नेपाली कांग्रेसका बागमी प्रदेश सभापति इन्द्र बानियाँको व्यवसायमा लेखापालको जिम्मेवारीमा रहेका उनी बानियाँको नाम बेचेर असुली र अनियमितता मच्चाएको आरोपमा निकालिएका थिए । १० हजार लगानी गरेर गौरव पब्लिक मार्फत गोर्खाज फाइनान्सको अध्यक्ष बनेका छन् ।

९३ प्रतिशत लाहुरेहरूको लगानी रहेको गोर्खाज फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रूपैयाँ छ । जगेडा कोषमा भने १ अब २ करोड ७८ लाख छ ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले पनि सहकारीमा अपचलन भएको अधिकांश पैसा गोर्खा सैनिकहरूको भएको ठहर गरेको छ । कुनै बेला गोर्खा विकास बैंक लाहुरेहरुको लोभलाग्दो संस्थाको रुपमा सञ्चालनमा थियो । यो बैंकमा बेलायती सेनामा कार्यरत र अवकाश प्राप्त गोर्खाहरू, सिङ्गापुर प्रहरीमा कार्यरत र अवकाश प्राप्त हजारौं लाहुरेले लगानी गरेका थिए ।

तर, राकेश अडुकियाको समूह हाबी भएसँगै बैंक धराशायी बन्न थालेको बताइन्छ । बैंकका तत्कालीन अध्यक्ष डिबी बम्जन, निर्मल गुरुङ राकेश अडुकियाको इसारामा चलेका थिए । त्यही बैंक यसअघि समस्याग्रस्त रहेको गोर्खा विकास बैंक काठमाडौं फाइनान्ससँग मर्जर भएर ‘ग’ वर्गको वित्तीय संस्था गोर्खाज फाइनान्स लिमिटेडमा रुपान्तरण भएको थियो ।

अध्यक्ष बुढाथोकीले फाइनान्सभित्र गुटबन्दी गर्ने, कर्मचारीहरूभित्र गुटबन्दी गर्ने, लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरिरहेको एक लगानीकर्ता बताउँछन् । सिङ्गापुरबाट अवकाश प्राप्त एक अधिकृतले भने, ‘मैले करोडभन्दा बढी लगानी गरेको छु, मेरो पेन्सन पनि उही आउँछ । तर, अध्यक्षले फाइनान्समा पार्टीमा जस्तो राजनीति सुरू गर्नुभयो ।’

अध्यक्ष बुढाथोकीले सुरुमा सीईओ सन्तोषकुमार घिमिरेलाई प्रभावित पार्न खोज्दा साथ नदिएपछि घिमिरेविरुद्ध उत्रिएका थिए । बुढाथोकीकै दबाबमा सीईओ घिमिरेले राजीनामा दिइसकेका छन् । अहिले आफू अनुकूलको सीईओ ल्याउने तयारी गरिरहेको स्रोतको दाबी छ ।

लाहुरेहरू आक्रोशित

फाइनान्सका ९३ प्रतिशत लगानीकर्ता लाहुरेहरू नेतृत्वमा आमूल सुधार र परिवर्तन गर्नुपर्ने नत्र लगानी झिक्ने अडानमा पुगेका छन् । स्रोतका अनुसार काठमाडौं, धरान, पोखरा, हङकङमा र सिङ्गापुरमा बेग्ला बेग्लै समूह बनेको छ । अध्यक्ष बुढाथोकीविरुद्ध राष्ट्र बैंकलगायत सरकारी निकायमा कारबाहीको लागि जाने उनीहरूको तयारी छ ।

एक लगानीकर्ताले भने, ‘यदि सरकारी निकायले पनि कारबाही प्रक्रिया अघि नबढाए हामी आफ्नो लगानी अरु नै बैंकमा सुरक्षित गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर