ऋण लिएर बसपार्क बनाउँदै दिपायल सिलगढी नगरपालिका – Nepal Press

ऋण लिएर बसपार्क बनाउँदै दिपायल सिलगढी नगरपालिका

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले ऋण लिएर नयाँ बसपार्क निर्माण गर्ने भएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क बनाउने उद्देश्यले नगरपालिको वडा नं. २, सेती नदीको किनारमा नयाँ बसपार्क निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारले जानकारी दिए ।

उनले नयाँ बसपार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भईसकेको जानकारी दिए । ‘नगर विकास कोषको प्राविधिक सहयोगमा डिपिआर तयार भईसकेको छ, अव निर्माणको प्रक्रियामा अगाडि बढ्दैछौं’ सुचीकारले भने ‘दुई बर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।’

बसपार्क निर्माणका लागि नगरपालिकाले ३२ रोपनी नौ आना जमिन खरीद गरिसकेको छ । कानुन वमोजिम सवै प्रक्रिया पुरा गरी प्रति आना एक लाख रुपैयाँका दरले जमिन खरीद गरिएको उनले जानकारी दिए । यस अनुसार नगरपालिकाको बसपार्क निर्माणका लागि जग्गा खरीदमा पाँच करोड २१ लाख रुपैयाँ खर्च भएको छ ।

बसपार्क निर्माणका लागि हाललाई नगरपालिकाले नगर विकास कोषबाट ९ करोड ५० लाख रुपैयाँ ऋण लिने तयारी गरेको सूचीकार बताउँछन् । ‘डिपिआर अनुसार बसपार्क निर्माण गर्नका लागि ३१ करोड लाग्ने अनुमान छ’ उनले भने ‘तर हाललाई सञ्चालनमा ल्याउने गरी तयार गर्न ९ करोड ५० लाख जति लाग्छ ।’ उनले सो रकमको १५ प्रतिशत नगर विकास कोषले अनुदान दिने बताए ।

‘१५ प्रतिशत नगर विकास कोषले अनुदान दिन्छ, ३० प्रतिशत नगरपालिकाले लगानी गर्नुपर्छ’ उनले भने ‘हाल कोषबाट लिने ऋण ९ करोड ५० लाखको ५५ प्रतिशत मात्रै हो ।’ सुचीकारले दाबी गरे अनुसार नगरपालिकाले कोषबाट पाँच करोड २२ लाख ५० हजार रुपैयाँ ऋण लिनेछ ।

बसपार्क सञ्चालनमा आएसम्म कोषले ऋणको व्याज नलिने र सञ्चालनमा आईसकेपछि मात्रै कोषको समितिले तोके अनुसारको व्याज लिने उनी बताउँछन् । बसपार्ककै आम्दानीबाट उक्त ऋण तिर्ने योजना नगरपालिकाको रहेको बताउँदै सूचीकारले भने ‘नगर–पालिकालाई यस योजनाले छुट्टै व्ययभार थपिदैन ।’ बसपार्कको भाडा दर पनि नगर विकास कोषले नै निर्धारण गर्ने उनको भनाई छ । उनले ऋण लिनका लागि नगर कार्यपालिका र सभाले समेत स्वीकृति दिईसकेको वताए ।

बसपार्क निर्माणको योजना नगरपालिकाको गौरवको योजना रहेकाले यसलाई सफल पार्न सबै पक्षबाट सहयोग हुनु पर्ने नगरप्रमुख बाजिसिंह खड्काले बताए । उनले जसरी भएपनि नगरपालिकाले बसपार्क निर्माण सम्पन्न गर्ने दावी गरे ।

नदी किनारमा बसपार्क बनाउनु जोखिमपूर्ण

नगरपालिकाले बनाउन लागेको बसपार्क सेती नदीको किनारामा भएका कारण जोखिमपूर्ण भएको सरोकारवालाहरुको भनाई छ । २०७८ साल असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको अविरल बर्षाका कारण नदीमा आएको बाढीले उक्त क्षेत्र डुवानमा परेको स्थानीयहरु वताउँछन् ।

नदी किनारमा बसपार्क वनाउनु यातायात व्यवसायीहरुका लागि पनि जोखिमपूर्ण रहेको वताउँछन् शैलेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष गणेशवहादुर मलासी । उनी लाखौं रुपैयाँ लगानी लाएर नदी किरानमा पार्कीङ्ग गर्न नसकिने वताउँछन् । नगरपालिकाले उक्त ठाउँको बिकल्प खोज्नु पर्ने उनको सुझाव छ । उनले नगरपालिकाले भएका बसपार्कहरुलाई व्यवस्थित गर्न नसकेको गुनासो गरे ।

यस्तै, विचार व्यक्त गर्दछन् अर्का यातायात व्यवसायी रवि भण्डारी । भागेश्वर सालमुनी यातायात प्रालिका अध्यक्ष समेत रहेका भण्डारी यात्रु, चालक र यातायातका साधनहरुलाई जोखिममा पार्ने गरी बसपार्क वनाउनु उपयुक्त नहुने वताउछन् ।

ऋण लिएर जोखिमपूर्ण ठाउँमा बसपार्क बनाउन नहुने वताउँछन् जनता समाजवादी पार्टीका डोटी जिल्ला अध्यक्ष श्रीचन्द्र श्रेष्ठ । उनी जग्गाको बिकल्प खोजिनु पर्ने वताउँछन् ।

दिपायलमा बसपार्क आवश्यक रहेको तर ऋण लिएर बसपार्क वनाउन नहुने बताउँछिन् पूर्व नगर प्रमुख मन्जु मलासी । ‘मैले आफु नगर प्रमुख भएका बेला पनि सोही ठाउँमा बसपार्क वनाउनका लागि छलफल अगाडि वढाएको थिएँ, त्यतिवेला हामीलाई राजनीतिक प्रतिसोधका कारण काम गर्न दिईएन’ मलासीले भनिन् ‘दिपायलमा बसपार्क आवश्यक हो भन्ने महसुस गरेरै हामीहरुले छलफल थालेका थियौं ।’ यदि त्यतिवेला बिरोध नगरेको भए अहिलेसम्म बसपार्क बनिसक्ने उनको दावी थियो ।

‘नगरपालिकाको आफ्नो खासै आम्दानी छैन, ऋण लिएर कसरी तिर्ने ?’ मलासीले भनिन् ‘ऋण लिने भन्दा संघीय र प्रादेशिक सरकारसंग सहकार्य गरेर बसपार्क निर्माण गर्नु पर्छ ।’ उनी त्यसका लागि आफु पनि सहयोग गर्न तयार रहेको वताउँछिन् ।

दिपायल सिलगढी नगरपालिकाले निर्माण गर्न लागेको ठाउँ नदी किनारका साथसाथै यात्रुहरुलाई अपायक पर्ने स्थानीय व्यवसायीहरु बताउँछन् । ‘हाल बीच बजारमा बसपार्क हुँदा त कुनै गाडी पार्किङ्ग हुँदैनन्, सवै गाडी सडकमै पार्किङ्ग भईरहन्छन्’ एक यातायात व्यवसायीले भने ‘बसपार्क त्यहाँ बनाएर प्रयोगमा आउला भन्ने मलाई त बिश्वास छैन ।’ उनी नगरपालिकाले अहिले भईरहेको बसपार्कलाइ व्यवस्थापन गर्न नसकेको आरोप लगाउँछन् ।

नगरपालिकाले दिपायल पिपल्लामा भाडाको जमिनमा बसपार्क चलाउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *