लुम्बिनीका पूर्वसामाजिक मन्त्रीमाथि पत्नी हिंसाको उजुरी – Nepal Press

लुम्बिनीका पूर्वसामाजिक मन्त्रीमाथि पत्नी हिंसाको उजुरी

जनमतका अध्यक्ष सिके राउतसँगै लुम्बिनी संसदीय दलका नेता सिके गुप्ताविरुद्ध पत्नी हिंसा

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवम् जनमत पार्टी लुम्बिनी संसदीय दलका नेता चन्द्रकेश (सीके) गुप्ताविरुद्ध उनकी श्रीमतिले महिला हिंसाको उजुरी दर्ता गरेकी छन् ।

सिकेकी पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएपछि यसअघि बसेर समाधान गरेको विषय बाहिर आएको हो । सो पार्टीका केन्द्रीय अध्यक्ष सिके राउत पनि यही मुद्दामा आरोपित छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी सिके गुप्ता र नवलपरासीको प्रतापपुर गाउँपालिका–९ निवासी कान्ति कुमारी यादवको ६ वर्ष अगाडि हिन्दु धर्म अनुसार विवाह भएको थियो ।

राष्ट्रिय महिला आयोग र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गुप्ता र उनको परिवारका अन्य सदस्यविरुद्ध मानसिक र शारीरिक हिंसाको आरोप लगाउँदै कारबाहीको मागसहित उजुरी परेको हो ।

सीकेले पछिल्लो समय मानसिक यातना दिने र सासु–ससुराले शारीरिक यातना दिने गरेको भन्दै पीडित कान्तिले उजुरी दिएपछि घटना मिलाउन रुपन्देही जिल्ला प्रशासन कार्यालयमा छलफल भएपनि विवाद टुंगो लागेको छैन ।

गतवर्ष यस्तै उजुरी राष्ट्रिय महिला आयोगमा दिइएकोमा ‘अबदेखि यस्तो गल्ती नगर्ने’ भन्दै सीकेले लिखित प्रतिबद्धता जनाएपछि रोकिएको थियो । सिके रुपन्देहीको क्षेत्र नम्बर ५ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

सीके र कान्तिका दुई छोराछोरी छन् । छोरी ४ वर्षको र छोरा १९ महिनाका छन् । कान्तिले आफूमाथि हिंसा गर्ने श्रीमान्, सासु ससुरा र नन्दलाई महिला हिंसा अन्तर्गत कारबाहीको माग गरेकी छन् ।

घटनालाई मिलाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ३ घण्टासम्म प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रुपन्देहीका डीएसपी मनोहर भट्टलगायतको उपस्थितिमा छलफल भएको थियो ।

कान्तिका बुवा प्रेमचन्द्र गुप्ताले सांसदले प्रहरी प्रशासनलाई प्रभावमा पारेर आफ्नी छोरीलाई प्रशासन कार्यालयमा बोलाएको जिकिर गरे । प्रशासन कार्यालयमा कान्तिले हिंसाको उजुरी दिएको भन्दै उनले सोही अनुसार पहिला कारबाही अघि बढाउनु पर्ने, त्यसपछि मात्र डिभोर्सको प्रक्रियामा जानुपर्ने प्रस्ट पारे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निवेदन आएपछि सकभर मिलाउने प्रयास गरेको तर मिल्ने कि नमिल्ने वा अन्य कानुनी बाटो रोज्ने अधिकार दुवैसँग सुरक्षित रहेको बताए ।

२०८० कार्तिकमा सीके गुप्ताको परिवारले कान्तिलाई कुटपिट गर्दै घर निकालाको प्रयास गरेको थियो । सीके गुप्ताले भने विगतमा महिला आयोगमा निवेदन दिँदा मिले पनि अहिले मिल्न सक्ने अवस्था नरहेकोले आफू सम्बन्ध विच्छेदको प्रक्रियामा जान लागेको बताए ।

अमाबुवा, बहिनीलाई गाली गर्ने, मेरो कुरा नमान्ने र मिलेर बस्न नसक्ने भएपछि डिभोर्सको प्रक्रियामा जान थालेको उनका्े दावी छ । जतिसक्दो छिटो कानुनी प्रकृयाबाट छुटकारा पाउन खोजेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *