उपचुनाव-कांग्रेस र एमाले एक्ला एक्लै भिड्दा माओवादी र एसको बन्छ गठबन्धन ? – Nepal Press

उपचुनाव-कांग्रेस र एमाले एक्ला एक्लै भिड्दा माओवादी र एसको बन्छ गठबन्धन ?

उपचुनावमा सहभागी हुनेबारे रास्वपा अनिर्णित

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेपछि राजनीति दलहरुले आन्तरिक तयारी थालेका छन् । दुई ठूला दल कांग्रेस-एमाले मिलेर सरकार बनाएपनि उनीहरू चुनावमा एक्लाएक्लै लड्ने तयारी गरेका छन् ।

राजनीति स्थायित्वको लागि आफूहरू मिलेको दाबी गर्ने कांग्रेस एमालेले आगामी दिनमा चुनावी गठबन्धन नगर्ने समझदारीकै आधारमा मिलेर सरकार चलाएको बताउँदै आइरहेका छन् । उपनिर्वाचनका लागि २ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

स्थानीय तहका ४१ पदमा हुने उपनिर्वाचन मध्ये सबैभन्दा धेरै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएको ठाउँमा रिक्त छ । कांग्रेसबाट निर्वाचित २ जिल्ला समन्वय समिति प्रमुख र ३ पालिका प्रमुख तथा अध्यक्षसहित २४ स्थान रिक्त भएका स्थानमा उपनिर्वाचन हुँदैछ । जसमा नगर प्रमुख एक र दुई गाउँपालिका अध्यक्ष छन् ।

माओवादीबाट निर्वाचित ८ रिक्त पदमा उपनिर्वाचन हुँदैछ । माओवादीले यसअघिको निर्वाचनमा जित हासिल गरेको हुम्लाको सर्केगाड गाउँपालिका र रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पद रिक्त भएपछि उपनिर्वाचन हुँदैछ ।

नेकपा एमालेबाट निर्वाचित ७ वडा अध्यक्ष पद रिक्त भएपछि उपनिर्वाचन हुँदैछ । जनता समाजवादी पार्टी (जसपा) को एक र स्वतन्त्र एक गरेर दुई अध्यक्ष जितेको वडामा रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।

त्यसो त गएको निर्वाचनमा स्थानीय तह तथा प्रनिनिधिसभाको निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एस, जनमोर्चा मिलेका थिए । एमाले पनि राप्रपा, जसपा नेपालसँग केही क्षेत्रमा गठबन्धन गरेको थियो । तर, अहिले परिस्थिति फेरिएको छ ।

दुई ठूला दल नै सरकारमा भएपनि उनीहरुले चुनावी गठबन्धन नगर्ने पार्टीको औपचारिक निर्णय गरिसकेका छन् । एक्लाएक्लै चुनावमा गए पार्टीको शक्ति परिक्षण उपनिर्वाचनबाट हुने उनीहरुको बुझाइ छ । सत्तामा रहेका ठूलादेखि नयाँ दल सबै मिसन ०८४ को अभियानमा छन् । यो निर्वाचनले त्यसको आधार पनि तय गर्नेछ ।

स्थानीय तहमा जहाँ जहाँ उपनिर्वाचन हुँदैछ त्यहाँ विगतमा नेकपा एमाले एक्लै लडेको थियो भने धेरैजसो ठाउँमा कांग्रेस,माओवादी र नेकपा एस गठबन्धनबाट लडेका थिए । रिक्त अधिकांश स्थान बिगतमा कांग्रेसले जितेको भएर उसका लागि आफ्नो सीट जोगाउनुपर्ने चुनौति छ ।

एमालेका लागि यो उप चुनावबाट थप लाभ लिनुछ भने माओवादीका लागि जितिरहेको ठाउँ जोगाउनुपर्ने अवस्था छ । नेकपा एस प्रायः कुनै पनि ठाउँमा निर्णायक अवस्थामा छैन । तर माओवादी र नेकपा एस मिलेर लड्ने सम्भावना भने कायमै छ ।

कांग्रेस-एमालेले गठबन्धन नगर्ने

पार्टीको निर्णय अनुसार पार्टीले चुनावी गठबन्धन नगर्ने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘अहिले हाम्रो १०० दिने पार्टीको अभियान चलिरहेको छ । उपनिर्वाचन हुने क्षेत्रमा खटिएका प्रतिनिधिलाई हामीले यो विषयको पनि तयारी गर्न भनेका छौं । निर्वाचन हुने क्षेत्रहरुमा काम भइरहेको छ ।’

उनले अधिकाशं रिक्त रहेको स्थान कांग्रेसले नै जितेको ठाउँ भएकाले त्यसमा परिणाम ल्याउनेगरी लागेको बताए ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि एमाले आफ्नै शक्तिको बलमा एक्लै चुनाव लड्ने बताउँछन् ।

उनी भन्छन्, ‘सम्बन्धित जिल्ला र पालिका कमिटीहरूलाई पार्टीको तर्फबाट निर्देशन भइसकेको छ । जनआधार भएका राम्रो अगुवाइ र भूमिका दिनसक्ने मत परिणाम राम्रो भएकालाई उम्मेदवार बनाउनेगरी पार्टीको आवश्यक संगठनात्मक कामको संयोजन भइरहेको छ ।’

उनले पार्टी संगठनात्मक शक्तिको बलमा नीति र कार्यक्रम अघि सारेर नै एमालेले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने बताए ।

अन्योलमा माओवादी र नेकपा एस

कहिले कांग्रेस कहिले एमालेसँग मिलेर लाभ लिइरहेको नेकपा माओवादी केन्द्र अहिले प्रतिपक्षमा छ । सत्ताबाट बाहिरिएपछि कांग्रेस एमालेले झैं एक्लै लड्ने निर्णय पार्टीबाट गराएपनि स्थानीय तहको उपनिर्वाचनमा कार्यान्वयन गर्ने सम्भावना कमजोर छ ।

माओवादीका महासचिव देव गुरूङले उपनिर्वाचनबारे आन्तरिक छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको बताए ।

उनले भने, ‘आन्तरिक तयारी भइरहेको छ । चुनाव रणनीतिक विषय हो, अस्थायी विषय हो । चुनावको बेलामा जे परिस्थिति बन्छ त्यही अनुसार फेस गर्छौँ ।’

उनले उपनिर्वाचनमा समाजवादीमा मोर्चा मिलेर जानसक्ने भएपनि त्यही एजेण्डामा मोर्चामा छलफल नभएको बताए ।

मोर्चामा माओवादीसहित नेकपा एस, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छ । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा र प्रभु साह नेतृत्वको आजपालाई पनि ल्याउने प्रयास भइरहेको बताइन्छ ।

नेकपा एसका सचिव सोमप्रसाद पाण्डेले उपनिर्वाचनमा विषयमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डको संयोजकत्वमा कमिटी बनाएर पार्टीले काम गरिरहेको बताए ।

उनले भने, ‘सबै जिल्लामा आफ्नो तयारी गर्दैछौं। कसरी जाने भन्ने तय भएको छैन । अरु पार्टीसँग मिलेर जाने भन्नेबारे छलफल भएको छैन। आफ्नो ढंगले उम्मेदवारहरू पनि तयार गर्दै अगाडि बढेका छौं।’
उनले चुनावी गठबन्धनको विषयमा अहिलेसम्म कुनै पार्टीबाट प्रस्ताव नआएको बताए ।’

उनले थपे, ‘सबैको आ-आफ्नो तयारी जस्तो लाग्छ। त्यसैले हामीले पनि गरिरहेका छौं । निर्वाचनसँग केन्द्रित भएर समाजवादी मोर्चामा छलफल भइसकेको छैन । छलफल भए नयाँ ढंगले जानपनि सक्छ । तर, अहिले हामीले सबै ठाउँमा उम्मेदवारी दिने ढंगले गरिरहेका छौं ।’

त्यसो त भदौ दोस्रो साता महासचिव घनश्याम भुसालले उपनिर्वाचनको बिषयमा सर्कुलर पठाउँदै निर्वाचन हुने स्थानीय तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे रिपोट मागेका थिए ।

सर्कुलरमा भनिएको थियो, ‘निर्वाचनमा खडा गरिने उम्मेदवारको खोजी र घोषणा साथै निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने अवस्था छ छैन ? त्यसको तथ्य परक विश्लेषण गरी पठाउने ।’

के गर्ला रास्वपा ?

स्थानीय तहको निर्वाचनमा सहभागी हुनेबारे रवि लामिछाने नेतृत्वको रास्वपा भने अझै अनिर्णित छ । भदौ ५ गते बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको भएपनि अहिले अन्योलको अवस्थामा छ ।

उपनिर्वाचनबारे के गर्ने भन्नेबिषयमा पार्टी कुनै निर्णयमा नपुगेको कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

उनले भने, ‘यो निर्वाचन सहभागी हुने नहुने भन्ने हामी निष्कर्षमा पुगेका छैनौं । पार्टीभित्र छलफल हुँदैछ । यो विषयमा छलफल गर्नको लागि केन्द्रीय समितिको बैठक बस्दैछ बैठकले निर्णय गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *