१५९ जनाले पाए वरिष्ठ अधिवक्ताको उपाधि, ४ जना महिला – Nepal Press

१५९ जनाले पाए वरिष्ठ अधिवक्ताको उपाधि, ४ जना महिला

काठमाडौं । १५९ जना अधिवक्ताले वरिष्ठ अधिवक्ताको उपाधि पाउँदा ४ जना महिलाले पनि पाएका छन् ।

सर्वोच्च अदालतको बिहीबारको पूर्ण बैठकबाट नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि पाउँदा ४ जना महिलाले पनि पाएका हुन् ।

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा ९८ प्रतिशत पुरुष रहेका छन् भने महिला २ प्रतिशत मात्रै रहेका छन् ।

वरिष्ठ अधिवक्ताको उपाधि पाउने महिलामा काठमाडौं स्थायी ठेगाना रहेका २०४९ अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेकी पूर्णिमा रिमाल रहेकी छन् भने दोस्रोमा २०५२ मा प्रमाणपत्र जारी भएकी पर्वत स्थायी घर भएकी सरिता शर्मा रहेकी छन् ।

यस्तै २०५२ सालमा नै प्रमाणपत्र जारी भएकी मोरङ स्थायी घर भएकी कविता बस्नेत रहेकी छन् भने २०५५ सालमा प्रमाणपत्र जारी भएकी कपिलवस्तु स्थायी घर भएकी विष्णुमाया भुसाल रहेकी छन् ।

नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ मा कुनै अधिवक्ताले कम्तीमा १५ वर्ष सर्वोच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानून व्यवसाय गरी पेशाको उच्च मर्यादा राखी अदालत र समाजलाई सहयोग गरेको छ भन्ने सर्वोच्च अदालतलाई लागेमा त्यस्तो अधिवक्तालाई सर्वोच्च अदालतले सम्मान स्वरूप वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने व्यवस्था छ र त्यस्तो वरिष्ठ अधिवक्ताले तोकिए बमोजिमको आचरण पालना गर्नुपर्नेछ ।

यस्तै सर्वोच्च अदालतले कुनै अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा सम्बन्धित अधिवक्ताको सहमति लिने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *