न्यायपालिका आफ्नो गुट बनाएर जाने विश्वम्भरको जुक्ति, बार आन्दोलन बेवास्ता गर्दै न्यायाधीश नियुक्ति – Nepal Press

न्यायपालिका आफ्नो गुट बनाएर जाने विश्वम्भरको जुक्ति, बार आन्दोलन बेवास्ता गर्दै न्यायाधीश नियुक्ति

काठमाडौं । एक सातापछि अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपाल बार एशोसियसन र कर्मचारी युनियनहरूको आन्दोलनलाई बेवास्ता गर्दै केही न्यायाधीश नियुक्तिको लागि सिफारिस गराएका छन् ।

बाहिर नेपाल बारको आन्दोलन चलिरहेका बेला न्यायपरिषद बैठक राखेर श्रेष्ठले उच्च अदालतका दुईजना न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेका हुन् । सिफारिस भएका नाम सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्बोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ ।

प्रधान न्यायाधीशबाट बिदा भएर जाँदा जाँदै सर्वोच्च अदालतमा आफ्नो पकड पछिसम्म बनाइराख्न उनले विवादका बीच न्यायाधीश नियुक्त गर्न खोजेका हुन् । श्रेष्ठले नित्यानन्द पाण्डेलाई आफ्नो पालामै जसरी पनि सर्वोच्चमा ल्याउन खोजेका थिए ।

नृपध्वज निरौला यसअघि नै सर्बोच्चको न्यायाधीशमा नियुक्ति हुनुपर्ने थियो । एकमात्र मुख्य न्यायाधीश रहेका निरौलालाई त्यसबेला श्रेष्ठसहितले न्यायाधीश बन्नबाट रोकेका थिए । नित्यानन्द पाण्डेलाई जसरी पनि न्यायाधीश बनाउनुपर्ने भएपछि श्रेष्ठले यसपटक नृपध्वजलाई रोक्न सकेनन् किनकी उनी निर्विवाद थिए ।

अरुको सिफारिस गर्न भने परिषदमा सहमति नभएको बताइएको छ । मुख्य न्यायाधीशबाटै रमेश प्रसाद राजभण्डारी पनि सर्बोच्चको न्यायाधीश हुने सूचीमा रहे पनि यसपटक उनी छुटेका छन् ।

नृपध्वज सर्बोच्च अदालतको मुख्य रजिष्टार हुँदै न्यायाधीश बनेका हुन् भने नित्यानन्द सुदूरपश्चिमबाट कांग्रेस कोटामा वकिलबाट उच्चको न्यायाधीश भएका थिए ।

सर्बोच्च अदालतमा ५ न्यायाधीश रिक्त छन् । शुक्रवारको बैठकले पाँचैजनाको सिफारिस भने नगरेको बताइएको । सर्बोच्च अदालतमा अहिले पनि कल्याण श्रेष्ठको पकड रहेको छ । विश्वम्भरले पनि कल्याण श्रेष्ठजस्तै पछिसम्म आफ्नो गुटका न्यायाधीश बनाइराख्न खोजेका हुन ।


प्रतिक्रिया

One thought on “न्यायपालिका आफ्नो गुट बनाएर जाने विश्वम्भरको जुक्ति, बार आन्दोलन बेवास्ता गर्दै न्यायाधीश नियुक्ति

  1. बारको आन्दोलन चाहिँ किन ? पैसा खाएर मान्छे भर्ना गर्न नपाएर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर