कोशीमा ‘पर्यटन वर्ष-२०८२’ को घोषणा : प्रदेशको समृद्धिमा टेवा पुग्ने मुख्यमन्त्रीको विश्वास – Nepal Press

कोशीमा ‘पर्यटन वर्ष-२०८२’ को घोषणा : प्रदेशको समृद्धिमा टेवा पुग्ने मुख्यमन्त्रीको विश्वास

विराटनगर । विश्व पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले ‘पर्यटन वर्ष-२०८२’ घोषणा गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटनको विकास र प्रवर्द्धनका लागि २०८२ साललाई प्रदेश सरकारले पर्यटन वर्ष मनाउने घोषणा गरेका हुन् । विराटनगरमा पर्यटन क्षेत्रका सरोकारवालामाझ कार्कीले यसले समृद्धिमा टेवा पुग्ने विश्वास जनाए ।

पर्यटन वर्षमा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्ने प्रदेश सरकारको योजना छ । यस्तै पर्यटनमा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सहजीकरण गर्ने र पर्यटन क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डको रूपमा स्थापित गर्ने उद्देश्य राखिएको छ ।

प्रदेश सरकारले ‘रमणीय कोशी’ भन्ने मूल नाराका साथ मनाउन लागिएको पर्यटन वर्ष अभियानका लागि ८२ गन्तव्यको सूची तय गरेको छ । प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउन चालू वर्षको बजेटमा १० करोड विनियोजन गरेको छ ।

कोशी प्रदेशका पर्यटकीय उपजको प्रचारप्रसार र प्रवर्द्धन गर्दै पर्यटक आगमन सङ्ख्यालाई बढोत्तरी गर्दै पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गरी कोशी प्रदेशलाई समृद्ध बनाउन यो कार्यक्रम गरिएको मुख्यमन्त्री कार्कीले बताए । उनले पर्यटन वर्षका कारण प्रदेशमा पर्यटकको सङ्ख्या र बसाई अवधिलाई २५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको बताए ।

कोशी प्रदेशमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमाल छन् । प्रदेशमा मकालु, ल्होत्से, कञ्चनजङ्घा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरूको ध्यान खिच्न यी क्षेत्रको प्रचारप्रसार पनि प्राथमिकतामा छ । त्यस्तै पाथीभरा, बराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ, मुन्दुम ट्रेलजस्ता ऐतिहासिक, धार्मिक र सामरिक महत्वका स्थान छन् ।

कार्कीले भने, ‘पर्यटन प्रवर्द्धन गरी हाम्रो राष्ट्रिय पुँजी विकास गर्नु, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न पर्यटन वर्ष घोषणाले टेवा पुग्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *