भारतमा ५९ टुक्रा भइन् नेपाली चेलीः यस्तो छ पाशविक हत्याको नालिबेली
हत्यारा मुक्तिरञ्जनले सजायबाट मुक्ति पाउन रुखमा झुण्डिएको भारतीय प्रहरीको निष्कर्ष
काठमाडौं । भारतको बैंगलुरुस्थित वियालीकवल क्षेत्रमा रहेको एउटा घर परिसरमा गत २१ सेप्टेम्बरका दिन खैलाबैला भयो । घरको कुनै स्थानबाट अचाक्ली कडा दुर्गन्ध आएपछि त्यसको स्रोत खोज्न थालियो । सबैभन्दा माथिल्लो तल्लाबाट दुर्गन्ध आएको पत्ता लाग्यो ।
सबैजना माथिल्लो तल्लाको कोठामा उक्लिएर हेर्दा ढोकाको ताल्चा बाहिरबाट लागेको थियो । उक्त कोठामा बस्दै आएकी २९ वर्षीया महालक्ष्मी धेरै दिनदेखि देखिएकी थिइनन् । अरु बेला पनि उनी बिहानै काममा निस्किएर रातिमात्रै फर्किने गर्थिन् । बहालमा बस्ने अन्य व्यक्तिहरूसँग त्यति देखभेट हुँदैनथ्यो ।
महालक्ष्मीको कोठाबाटै सिनोको जस्तो दुर्गन्ध निस्किएको पाइएपछि घरधनीलाई फोन गरियो । घरधनी तुरुन्तै आए । उनीसँग बैंगलुरुमै बस्ने महालक्ष्मीकी आमाको नम्बर थियो । प्रहरीले फोन गरेर आमालाई बोलायो । आमाले बैंगलोरमै बस्ने अर्की छोरी लक्ष्मीलाई साथ लिएर आइन् । प्रहरीलाई पनि बोलाइयो र ढोका फोडियो ।
भित्र पस्दा सहनै नसकिने दुर्गन्ध थियो । तर, कोठामा कतै पनि रगतको निशाना थिएन । प्रहरीले कोठाभित्र राखिएको फ्रिज खोल्यो । फ्रिजभित्र हेर्नासाथ सबैजना अत्तालिए । त्यहाँ शरीरका टुक्राहरू थिए । माथिल्लो खण्डमा खुट्टा, बीचमा शरीर र तल्लो खण्डमा टाउको । यो शरीर महालक्ष्मीकै हो भन्नेमा कुनै शंका भएन ।
प्रहरीले कोठाभित्रै भेटिएको महालक्ष्मीको मोबाइल बरामद गर्यो र उनको शरीरका टुक्राहरू कपडामा पोको पारेर राखेर हिँड्यो ।
०००
३५ वर्षअगाडि नेपालको डडेल्धुरा जिल्लाबाट चरणसिंह राना पत्नी मिरासहित कामको खोजीमा भारत लाग्छन् । कर्णाटक प्रदेशको राजधानी बैंगलोरमा काम पाएपछि त्यहीँ बस्न थाल्छन् । उनीहरूका जुम्ल्याहा छोरी जन्मिए, लक्ष्मी र महालक्ष्मी । पछि दुई छोरा पनि भए ।
जुम्ल्याहामध्ये ठूली छोरी लक्ष्मीले एक मुस्लिम युवकसँग विवाह गरिन् । बिहेपछि उनले नाम परिवर्तन गरेर साहिद अबुसा राखेकी छिन् । उनकी जुम्ल्याहा बहिनी महालक्ष्मीको सन् २०१९ मा बैंगलोरमै मोबाइल रिपेयर सेन्टर चलाएर बसिरहेका हेमन्त दाससित बिहे भयो । तर, उनीहरूको वैवाहिक सम्बन्धमा बिस्तारै दरार आउन थाल्यो ।
एक आपसमा शंका भएपछि करिब ९ महिनादेखि उनीहरू अलग-अलग बस्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूबीच औपचारिक सम्बन्ध विच्छेद वा सम्पत्तिको बाँडफाँड भए नभएकोबारे तथ्यपरक विवरण आइसकेको छैन । केही समाचारहरूमा उनीहरूबाट एक सन्तान पनि भएको र उनी बुवासँग रहेको दाबी गरिएको छ ।
श्रीमानसँग छुट्टिएकी महालक्ष्मी केही समय आफ्नो माइतीमा बसिन् । तर, फेरि अलग्गै बस्ने निधो गरेर कामको खोजीमा लाग्छिन् । रिलायन्सको एउटा फ्याक्ट्रीमा मलभित्र सेल्स लिडरको जागीर मिल्छ । उनी सन् २०२३ को अक्टोबरमा महालक्ष्मी बैंगलोरको बयालिकवलस्थित तीन तल्ले घरको तेस्रो तल्लामा रहेको कोठा भाडामा लिएर बस्न थालिन् । यही कोठामा उनी ५९ टुक्रा हुनुपर्यो ।
०००
शव भेटिएपश्चात प्रहरीले सबैभन्दा पहिलो शंका महालक्ष्मीका पति हेमन्त दासमाथि नै गर्यो । दासलाई नियन्त्रणमा लिएर सोधपुछ गरियो । तर, उनले आफूहरू अलग भइसकेकाले कही थाहा नभएको बताए । महालक्ष्मी असरफ नामका एक युवकसँग अफेयरमा रहेकोसमेत दासले दावी गरे । यही अफेयरले गर्दा आफूहरूको सम्बन्ध बिग्रेको बयान उनले दिए ।
त्यसपछि प्रहरीले सैलुनमा काम गर्ने असरफलाई पक्राउ गर्यो । केही भारतीय सञ्चारमाध्यममा असरफले नै हत्या गरेको भनेर समाचार पनि आए । तर, प्रहरी अनुसन्धानमा पनि असरफ र महालक्ष्मीबीच पछिल्लो समय कुनै निकटता देखिएन । बरु महालक्ष्मीको मोबाइलबाट कल डिटेल्स हेर्दा अर्का एक युवकसँग उनको बारम्बार कुराकानी हुने गरेको पाइयो । ती युवक थिए मुक्तिरञ्जन राय ।
१ सेप्टेम्बरसम्म मुक्तिरञ्जन र महालक्ष्मीबीच फोनमा कुरा भएको तथा ३ सेप्टेम्बरबाट महालक्ष्मीको मोबाइल स्वीच अफ भएको देखियो । मुक्तिरञ्जनको मोबाइल ट्रेस गर्दा २ र ३ सेप्टेम्बरमा उनको मोबाइल महालक्ष्मी बस्ने घरकै आसपासमा रहेको महत्वपूर्ण क्लु भेटियो । त्यसपछि प्रहरीले सुरू गर्यो मुक्तिरञ्जनको खोजी ।
महालक्ष्मी काम गर्ने मलमै काम गर्थे मुक्तिरञ्जन । उनी टीम म्यानेजर थिए । प्रहरीले उक्त मलमा पुगेर मालिक र कामदारहरूसँग सोधपुछ गर्यो । सबैले महालक्ष्मी र मुक्तिरञ्जन १ सेप्टेम्बरदेखि कार्यालयमा अनुपस्थित रहेको बताए । तर, यतिका दिनसम्म पनि बिनाजानकारी दुवै कर्मचारी कार्यालय नआउँदा कसैले पनि सोधखोज गर्ने वा प्रहरीलाई सूचना दिने काम गरेका थिएनन् ।
प्रहरी मुक्तिरञ्जन भाडामा बस्दै आएको घरमा पुग्यो । त्यहाँ उनका भाइ मात्र थिए । सोधपुछका क्रममा भाइले बताएको विवरणले महालक्ष्मीको हत्या मुक्तिरञ्जनले नै गरेको निष्कर्षमा प्रहरी पुग्यो ।
०००
गत २५ सेप्टेम्बरका दिन बिहान ७ बजेतिर भारतको उडिसा राज्यस्थित भद्रक भन्ने गाउँनजिक एउटा रुखमा मानिसको शरीर तुन्द्रुंग झुण्डिएको स्थानीयले देखे । उनीहरूले प्रहरीलाई खबर गरे ।
एक घन्टापछि प्रहरी आए । शव नजिक एउटा स्कुटर, ल्यापटप, मोबाइल र एउटा डायरी भेटियो । सो डायरीमा मुक्तिरञ्जनले महालक्ष्मीको हत्या आफूले गरेको स्वीकारोक्ति व्यक्त गरेका थिए । महालक्ष्मीको व्यवहारबाट आजित भएर क्षणिक क्रोधमा हत्या गरेको उनको सुसाइड नोटमा उल्लेख छ ।
२ सेप्टेम्बर राति उनी महालक्ष्मीको घरमा गएका थिए । आफूहरूबीच ठूलो झगडा भएको र क्षणिक क्रोधमा आफूले महालक्ष्मीलाई ठाउकोमा प्रहार गरेर ढालेको उनले बताएका छन् । महालक्ष्मी ढलेपछि उनको शरीरलाई काटेर टुक्राटुक्रा बनाएको र फ्रिजभित्र खाँदेको डायरीमा उल्लेख छ ।
प्रहरीका अनुसार महालक्ष्मीको घरबाट बिहान निस्किएपछि उनले बाहिरैबाट भाइलाई फोन गरे । आफू बैंगलुरुमा नबस्ने भन्दै उनले भाइलाई पनि त्यो घर तत्काल छोडिहाल्न सुझाव दिए । राति घरआएपश्चात दाइले महालक्ष्मीको हत्या गरेको बताएको भाइले बयान दिएका छन् ।
भोलिपल्ट नै मुक्तिरञ्जन बैंगलुरु छोडेर उडिसास्थित आफ्नो घरमा पुगे, जहाँ उनका बुवाआमा बस्थे । बुवाआमाले छोरा जघन्य अपराध गरेर आएको कुनै मेसो पाएनन् । तर, प्रहरीले आफूलाई खोज्दै आउन सक्ने ठानेर उनी घरबाट पनि भागे । केही दिन कलकत्तातिर बरालिए । प्रहरीले उनको मोबाइट ट्रेस गरिरहेको थियो ।
२४ सेप्टेम्बरको राति मुक्तिरञ्जन फेरि घर फर्किए । परिवारसँग सामान्यरूपमा कुराकानी गरे । छोरा प्रहरीको वान्टेड हुन् भन्ने बुवाआमालाई थाहा थिएन । खानासाना खाएर सबैजना सुते । भोलिपल्ट बिहान ४ बजे सबै निदाएका बेला मुक्तिरञ्जन सट्याकसुटुक उठे । आफ्नो ब्याग बोके, जसमा एउटा ल्यापटप र डायरी थियो । सरक्कसित बाबुको स्कुटर चढेर घरबाट बाटो लागे ।
करिब तीन किलोमिटर यात्रापछि एउटा सुनसान ठाउँमा पुगे । त्यहाँ एउटा रुखमा भुण्डिएर उनले आत्महत्या गरे ।
मुक्तिरञ्जनको डायरीका आधारमा उनलाई नै हत्यारा मानेर प्रहरीले अनुसन्धान बन्द गर्ने तयारी गरेको छ । यद्यपि, परिवारजन भने थप अनुसन्धान हुनुपर्ने पक्षमा छन् । सामान्य झगडामै यति क्रुर हत्या हुन नसक्ने उनीहरूको भनाइ छ ।
महालक्ष्मीलाई आफ्नै कोठाभित्र हत्या गरिएको हो वा बाहिरै हत्या गरेर टुक्राटुक्रा पारी कोठामा ल्याइएको हो भन्ने प्रश्न छ । कोठाभित्र रगतका कुनै पनि निशाना नदेखिनु र कुनै हतियार बरामद नहुनुले यो प्रश्न उब्जेको हो । यद्यपि, अर्को दिन बिहान मुक्तिरञ्जन नजिकैको भाँडा पसलमा गएर चक्कु किनेको सीसीटीभी फुटेजबाट देखिएको छ ।
प्रहरीले कोठाबाट एउटा सुटकेश पनि बरामद गरेको थियो । लाशको टुक्रालाई सुटकेशमा हालेर बाहिर लैजाने योजना बनाए पनि सडकको भिडभाड देखेर त्यसमा असफल भएपछि फ्रिजमा राखिएको हुन सक्ने आँकलन पनि छ ।
महालक्ष्मी र मुक्तिरञ्जनबीच के विषयमा झगडा भएको थियो भन्ने खुलेको छैन । केही सञ्चारमाध्यमले महालक्ष्मीले मुक्तिरञ्जनलाई विवाह गर्न दवाव दिइरहेको र यही विषयले झगडाको रूप लिएको दाबी गरेका छन् ।
कसैको ज्यान लिने र अझ यस्तो विभत्स तरीकाले हत्या गरिनु भर्त्सनीय छ । यस्तो अमानवीय वारदात अचेलका दिनमा अझै बढ्दै जानु दुःखद हो ।
यस घटनाको सतहबाट भित्र पस्दा नेपाली चेली भनिएकाकाो यो प्रकारको यौनिक चर्या अर्को दुःखद पाटो हो । आफ्नो धर्म मर्यादामा नरहेर दुनियाका केटा बिगार्दै घर बिगार्दै हिँड्नेयस्ताको अन्त्य यसरी हुनु त्यति विधि आठौँ आश्चर्य हैन । यो खालको मृत्य अपेक्षित आवश्यक या स्वागतयोग्य भन्न सकिन्न । यो अनपेक्षित र निन्दनीय त हो तर यी महिला पनि कुनै दूधले नुहाएकी देखिइनन् । यिनले आफूलाई या आफ्नो जीवनलाई अन्धकरामा हेलेर जोखिम र कालसँग सतत सिँगौरीमात्र खेल्ने काम गर्नु हुने थिएन ।
यसबाट अन्यले पनि पाठ पढेर दुई कुरा गर्नु आवश्यक छ :
आफू र आफ्नाहरूलाई यस्ता अनुशासनहीन र भ्रष्ट जीवनशैलिबाट बचाउने । आफू र आफ्नाहरूलाई यस्तो बेगारिस र छाडा छोड्नु हुँदैन ।
अर्को, सम्भावित सनकी हत्याराबाट आफू र आफ्नालाई बचाउन सम्भव उपाय गरिरहनु आवश्यक छ । सम्बन्ध बनाउनुपूर्व कारणीका तीन पुस्ते अध्ययन गर्ने, चरित्र र व्यवहार का सूत्र सुराक भनकलाई थाहा पाउने प्रयाश गरेर होशयार निर्णय लिने या कदम चाल्ने।
“नेपाली चेली” का नाममा यस्ता पतित कार्यलाई प्रोत्साहित गरेर यस्ता कृत्यलाई संरक्षण र हौसला दिने काम प्रत्यक्ष या परोक्ष कतैबाट पनि नगर्दा भविष्यमा यसरी अरु पनि बिग्रिँदै जाने सम्भावनालाई कम गर्न मदत मिल्ने देख्छु । जस्तै बहानामा पनि यस्तो जघन्य हत्यालाई स्वीकार गर्न नसकिने र हत्यारालाई कारवाही हुनुपर्नेमा दुई मत छैन तैपनि हत्यारालाई पनि आफ्नो ज्यान र परिवारको ख्याल पनि नगर हत्यामा अभिप्रेरित गर्ने खालको व्यवहार, दबाव र परिबन्दमा पार्ने यस्ता “चेली”, “चेला” जन्माउने या परवरिस गर्ने कारक कतै म पनि बन्छु कि भनी हामी अभिभाव या साथी का रूपमा आफूलाई बचाउनु र जिम्मेवार नागरिक बन्नु हरेकको कर्तव्य हो ।