लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई मुख्यमन्त्रीको निम्तो – Nepal Press

लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई मुख्यमन्त्रीको निम्तो

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन् ।

दाङको घोराहीमा आयोजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी घुमौं अभियानलाई व्यापक बनाउने उद्घोष गरे । ‘म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशको एक पटक अवश्य भ्रमण गरौं, लुम्बिनी प्रदेश पर्यटनको केन्द्र हो । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालको रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु’ उनले भने ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने उनले बताए। ‘लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाको भ्रमण गराउनेगरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ’, उनले भने, ‘विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ । प्राकृति रुपमा लुम्बिनी समृद्ध रहेको र यसबाट विकासको आधार निर्माण गरिने छ, लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनको प्रचुर सम्भावना छ, विभिन्न जातजाति, समुदायको कला संस्कृतिले लुम्बिनीको पहिचान विश्व समुदायमा पुगेको छ’, उनले भने ।

लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएको छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा ४५ औं पर्यटन दिवस घोराहीमा मनाइएको हो । पर्यटन, न्याय र शान्ति मुल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सकिने प्रशस्त आधारहरु रहेको बताइन् । पर्यटन दिवसले रोजगारीको अवसर सृजना गर्छ ।

स्थानीय उत्पादनको बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ, पर्यटन समृद्धिको आधार हो । यहाँका नागरिकको जीविकोपार्जन गर्न अवसरहरु सृजना गर्दछ’, उनले भनिन् ।

थरिथरि झाँकी र रैथाने परिकारको उत्सव

पर्यटन दिवसलाइ विभिन्न समुदायको झाँकँ, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भव्य बनाइएको थियो ।

गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गी धुन, अवधी संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवारी समुदायको लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए ।

पाल्पा मिस्दी गाउँपालिकाको कोरा नाच, घोराही १० को थारु समुदायको वडका नाच, लुकमेली खाम समाजको भुम्या नाच, घोराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटोका भाँडा, फलामका सामग्री प्रदर्शनीमा राखिएको थियो ।

स्थानीय उत्पादनलाई मुख्यमन्त्रीको सम्मान

घोराही उपमहानगरपालिका(१४ निवासी प्रेमकुमारी पुनले अल्लोको धागोबाट हातले बुनेर कोट, टोपी, झोला, जुत्ता लगायतका सामाग्री तयार पार्दै आएकी छन् । आफूले तयार पारेका सामाग्री विक्री गर्न मेला, मोत्सव, दिवसहरुमा समेत पुग्ने गर्छिन् । अल्लो र उलनबाट बनाएका सामाग्री मान्छेहरुले मन पराएर किनेपछि प्रेमकुमारीमा बेग्लै खुसी छाउँछ ।

यसैक्रममा विश्व पर्यटन दिवसको अवसरमा प्रेमकुमारीले अल्लो र उलनबाट हातले बुनेर तयार पारिएको झोला, टोपी, कोट, जुत्तालगायत सामग्री विक्रीका लागि स्टल राखिन् । जुन स्टलबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई वटा टोपी किने ।

‘अहिलेसम्म नेता, मन्त्रीलाई टोपी बिक्री गरेको थिएन । कित उपहार दिइन्थ्यो । तर, मुख्यमन्त्रीले टोपी किनेर लगाउनु भयो । उहाँको यो कामले हामी उद्यमीहरुमा हौसला थपियो’ उनले भनिन् ‘शिरको टोपी फेरेर हामीले बनाएको टोपी लगाउनु भयो । पाँच सय रुपैयाँ एउटा टोपीको मूल्य थियो । उहाँले दुई वटा किनेर लैजानु भयो ।’ २०६५ सालबाट अल्लोबाट कपडा बनाउन थालेकी प्रेमकुमारीले चिनारी महिला साझेदारी समूह निर्माण गरेर उद्यम चलाउदै आएकी छन् । ‘धेरै हौसला मिल्छ । किनेर लगाइदिदा, मुख्यमन्त्रीको यो सद्भावले हामी उद्यमलाई राम्रो लायो’, उनले भनिन् ।

पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशका उद्यमीले तयार पारेका स्थानीय उत्पादनका सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । थाकलबाट बनेका हस्तकलाको सामग्रीदेखि माटोबाट बनेका भाँडाहरु समेत प्रदर्शनीमा राखिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *