१२ घण्टादेखि देशैभर निरन्तर झरी, कहिलेदेखि खुल्छ मौसम ? – Nepal Press

१२ घण्टादेखि देशैभर निरन्तर झरी, कहिलेदेखि खुल्छ मौसम ?

देशभरका ३० स्थानमा चेतावनीको तह पार

काठमाडौं । पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ ।

मौसमविद् विनु महर्जनका अनुसार काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उनले बताइन् ।

महाशाखाका अनुसार विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ । झापाको अनारमणीमा दुई सय तीन मिलिमिटर र चन्द्रगढी विमानस्थलमा दुईसय ६० मिलिमिटर र इलाममा दुई सय ४३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

पछिल्लो एक घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा भएको छ । काठमाडौंका थोरै स्थानमा भारी वर्षा भएको छ । कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौंका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

ललितपुरको लेलेमा एक सय १५ दशमलब पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको भन्दै भोलि पनि दिनभर वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले बताइन् ।

आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ । निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ । काठमाडौंको बागमती, विष्णुमती, धोबीखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ । वर्षाले काठमाडौँसहित मुलुकभरको जनजीवन सामान्य प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकास्थित बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा रहेको महाशाखाले जनाएको छ ।

देशभरका ३० स्थानमा चेतावनीको तह पार

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशमा मोरङको हरैचा, बाहुनी, बिराटनगर बिमानस्थल, झापाको अनारमनी बिर्ता, शनिश्चरे, केचना, गौरादह, चन्द्रगढी बिमानस्थल, सिस्ने अर्जुनधारा, र बाहुनडाँगी, इलामको कन्याम चिया बगान क्षेत्र, ब्रफल्यान, र कन्काई मैनाचुली, तथा उदयपुरको सुन्दरपुरमा चेतावनीको तह पार गरेको हो ।

यस्तै मधेश प्रदेशमा सप्तरीको ब्रमझिजिया, रुपनी बजार, पर्साको मुदली पर्सा, बाराको कलैया र बागमती प्रदेशमा ललितपुरको लेले तथा मकवानपुरको दामनमा चेतावनीको तह पार गरेको छ भने लुम्बिनी प्रदेशमा पाल्पाको कुमालगाउँ, गण्डाकोट, बल्ड्याङगडी, जाल्पा र अर्चाले, नवलपरासी पूर्वको डाडा र सेमारी, अर्घाखाचीको अर्घाखाचीकोट, रुपन्देहीको लुम्बिनी, नवलपरासी पश्चिमको देउरावली नवलमा चेतावनीको तह पारे गरेको हो ।

विभागले यस अघि नै असोज ११, १२ र १३ गते नारायणी नदी देवघाट, कन्काई नदी मैनाचुली, कमला नदी वेलसोत, बाग्मती पधेरादोभान, पूर्वी राप्ती रजैया, पश्‍चिम राप्ती कुसुम, बबई चेपाङ नदी र यसका सहायक नदीहरुमा जलसतह खतरा तह आसपास रहने तथा केहीमा खतरा तह पार गर्ने पूर्वानुमान गर्दै नदी तटिय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर