गठबन्धन कुहिएर झर्ने प्रचण्डको जिकिरपछि कांग्रेस-एमालेको जवाफः तपाईंले चाहेजस्तो हुँदैन, आक्रोश छाड्नुस् – Nepal Press

गठबन्धन कुहिएर झर्ने प्रचण्डको जिकिरपछि कांग्रेस-एमालेको जवाफः तपाईंले चाहेजस्तो हुँदैन, आक्रोश छाड्नुस्

काठमाडौं । कांग्रेस एमाले मिलेपछि सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय पार्टी निर्माणको अभियानमा लाग्ने बताउँदै आइरहेका छन् । सबै प्रदेशको परामर्श समितिको बैठक टुंग्याएर केन्द्रीय समितिको बैठक राख्ने तयारी गरिरहेका छन् ।

पार्टी नेतृत्व छाड्ने सुझावसहित उपमहासचिव जनार्दन शर्माले अघि सारेको प्रस्तावलाई केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने दस्तावेजमा समावेश गराउने आश्वासनपछि तत्काललाई टारेका छन् ।

भ्रष्टाचारविरुद्ध आफूले चालेको कदमको कारणले सरकार ढलेको दाबी गर्दै आइरहेका प्रचण्डले माओवादीप्रति फेरि जनताको विश्वास बढेको दाबी गर्दै आइरहेका छन् । अब धेरै विषय केन्द्रीय समिति बैठकले टुंग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित बढे नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने उनको भनाइ छ ।

उनले अब आफूहरु पार्टी निर्माणको अभियानमा भएकाले सरकारमा जान आफूहरुलाई कुनै हतारो नभएको जिकिर गर्दै आइरहेका छन् । तर, पछिल्ला दिनमा प्रचण्डले कांग्रेस एमाले गठबन्धन टुट्ने दाबी गर्न थालेका छन् ।

कांग्रेस एमाले अप्राकृतिक रहेको भन्दै चाँडै कुहिएर आफैं झर्ने उनको तर्क छ। पार्टी निकटको अखिल क्रान्तिकारीको २३ औं सम्मेलन उद्घाटन गर्दै हिजो पनि यही कुरा दोहोर्याए ।

‘अहिले हामी सरकार बनाउने हतारोमा छैनौं। हामीलाई सरकार चाहिएको छैन । हामीलाई जनतातिर फर्काइदिएकोमा कांग्रेस एमालेलाई धन्यवाद नै भनेका छौं हामीले। हामी जनतातिर जान्छौं’, उनले भने, ‘तिमीहरु मिलेर बस भनेका छौं। तर, कांग्रेस एमाले मिल्दै छैनन्, मलाई लाग्छ, केही समयभित्र त्यो अपवित्र गठबन्धन कुहिएर झर्छ। त्यो बेला के गर्ने भन्नेबारे हामीले सोच्नुपर्छ ।’

तर, कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे प्रचण्डको यो अभिव्यक्तिलाई सत्ता छाड्नुपर्दाको छुद्र टिप्पणी भएको तर्क गर्छन् ।

उनी भन्छन्, ‘यो उहाँको सत्ताबाट बिमुख भएको छुद्र जवाफ हो । गठबन्धनमा कुनै समस्या छैन। उहाँले भनेको जस्तो गठबन्धनमा कुनै समस्या छैन । यो गठबन्धन राजनीतिक स्थायित्वको लागि बनेको हो । संविधान संशोधनलगायतका महत्वपूर्ण मुद्दा अघि सारेर बनेको छ ।’

उनले यो गठबन्धन आगामी निर्वाचनसम्म जाने दाबी गरे ।

उनले थपे, ‘यो कुनै पनि हालतमा टुट्दैन। यो संसदको अवधिभर जान्छ । हामी भएको सात बुँदे सहमति कार्यान्वयन गरेर आगामी निर्वाचनसम्म यो गठबन्धनलाई लैजान्छौं ।’

यस्तै, एमालेका सांसद रघु पन्त पनि प्रचण्डको त्यो अभिव्यक्तिलाई कांग्रेस एमालेले गम्भीर रुपमा लिनुपर्ने कुनै कारण नभएको दाबी गरे ।

उनले भने, ‘उहाँ सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभएको हो । त्यसलाई गम्भिरतापूर्वक लिनुपर्ने आवश्यकता पनि छैन । हामीले अहिलेसम्म गठबन्धनमा कुनै समस्या देखेका छैनौं । उहाँले टिप्पणी गर्नुभएकाले कहाँ के समस्या देख्नुभयो उहाँलाई नै थाहा होला ।’

उनले प्रचण्डले सत्ता गठबन्धनमा अविश्वास पैदा गराउन सकिन्छ कि भन्ने उद्देश्यले यस्ता अभिव्यक्ति दिँदै हिँडेपछि कुनै हालतमा सफल नहुने बताए ।

 


प्रतिक्रिया

One thought on “गठबन्धन कुहिएर झर्ने प्रचण्डको जिकिरपछि कांग्रेस-एमालेको जवाफः तपाईंले चाहेजस्तो हुँदैन, आक्रोश छाड्नुस्

  1. सरकारमा गएर कमाएको पैसाले पालेकाहरूले सरकारमा नभएपछि छोडदै जान्छन् । तिनलाई फेरि सरकारमा जाउँला र खुवाउँला भनेर आस देखाउन यस्तो भनेको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *