लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा टेष्ट सेन्टर सञ्चालन – Nepal Press

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा टेष्ट सेन्टर सञ्चालन

रुपन्देही । लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना भएको छ । यो सिकाइ केन्द्र नेपालमा चौथो र काठमाडाैं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परीक्षाहरु चल्नेछन् । चीनमा अध्ययनका लागि जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ ।

सिकाई केन्द्रको औपचारिक उद्घाटन शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एचएसके सेन्टरको वोर्ड अनावरण गरेर गरेका छन् । सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चीनको हनान विश्व विद्यालयको बीचमा चिनियाँ भाषा सिकाई केन्द्र सञ्चालन सम्वन्धमा सहकार्य सम्झौता गरिएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीन दुई देशबीचको मित्रता अझ सुमधुर बनाउन सिकाई केन्द्रले योग्दान गर्ने बताए ।

‘दुई देश बीचको भाषा, संस्कृतिको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको छु, चीनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने छ’, उनले भने ।

लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा. डा.. सुर्वणलाल ब्रजाचार्यले विश्वविद्यालयमा चिनियाँँ भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताए । एचएसके परिक्षाको लागि काठमाण्डौं जानुपर्ने बाध्यता अन्यत्य गर्न सफल भएकोमा उनले खुसी व्यक्त गरे ।

‘चिनियाँ भाषा परीक्षाको लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ’उनले भने,‘लुम्बिनीमा देश बाहिरका विद्यार्थीलाई ल्याउने अभियान अन्तरगत एउटा महत्वपूर्ण उपलब्धी हासिल भएको छ ।’

बौद्ध विश्व विद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले एक वर्ष अगाडि चीनको हनान विश्व विद्यालयसंग भएको सहकार्य सम्झौता अनुसार चिनियाँ भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिए ।

यो उपलब्धिले बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। यसैबीच विश्व विद्यालयमा शुक्रबार नै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चिनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ ।

चीनको हनान विश्व विद्यालयका अध्यक्ष छ्वाङ क्वाङ लिनले नेपाल र चीन दुई देशबीच सुमधुर सम्वन्ध विस्तार गर्न प्रशिक्षण सेन्टर महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेपाल र चीनका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *